१. तपाई बुटिक संचालन गर्न आकर्षित हुनुको कारण के हो ?
समाजमा महिलालाई अन्य पेशामाभन्दा सिलाई पेशा तर्फ राम्रो मान्ने चलन पनि धेरै छ । मेरो घर परिवारमा पनि मलाई पनि सिलाई पेशा नै गर्न सुझाव भयो । सिलाई सिकें पनि । मलाई सिलाई पनि राम्रो लागेकोले यो पेशालाई नै अपनाएको हो । एकै ठाउँमा बसेर नै काम गर्न सकिने धेरै दौडधुप गर्नु नपर्ने काम भएकोले मलाई पनि यही काम नै राम्रो लागेर सिलाई सिकेर बुटिक पसल संचालन गरेको हो ।
२. तपाईलाई सुरुमा यो पेशामा काम गर्न कत्तिको सहज थियो ?
सिलाई सिकेपछि सुरुको अवस्थामा अलि गाह्रो नै लाग्थ्यो । पहिला घरको मात्र कपडा सिलाउने गरेको थिए । बिस्तारै टोलका कपडाहरु सिलाउन थाले । अन्यबाट आउने कपडा पनि सिलाउन थाले । पहिला कपडा बिग्रिन्छ कि भनेर पसल खोल्न डर लागेको थियो । बिस्तारै कपडा सिलाउँदै गएपछि बानी बस्यो । मनमा डर पनि हटेर गयो । पसल खोलेर सिलाई गर्न थाले ।
३. तपाईले कति लगानीबाट पसल सुरु गर्नु भयो ?
मैले सिलाई सिकेर पहिला एउटा मेसिनबाट काम गर्न सुरु गरेको हो । जम्मा लगानी मात्र १५ हजार थियो । सुरुदेखि नै एक्लै काम गर्न सुरु गरे । सिलाई सिक्नको लागि विद्यार्थीहरु आए । उनीहरुलाई सिलाई सिकाए । उनीहरुलाई राम्रोसंग सिकाएर मेरोमा नै काम दिए । उनीहरुले नै मेरोमा काम गरेका छन् । राम्रोसंग सिक्ने विद्यार्थीहरु आफ्नो पसल खोलेर बसेका पनि छन् । अहिले सिलाई, इन्टरलक, पिको मेसिन गरेर ६ वटा मेसिन छ । लगभग ८० हजारको पूँजी लगानी छ ।
४. तपाईको मासिक आम्दानी कस्तो छ ?
बुटिकबाट हुने आम्दानी सधैं एकैनास हुदैन । सिजनको समयमा २५ हजारसम्म मासिक हुन्छ । अफ सिजनमा पनि कम्तीमा पनि १५ हजारसम्म आम्दानी हुन्छ । विभिन्न संघ–संस्थाहरुले आयोजना गरेको तालिममा पनि प्रशिक्षक भएर काम गरेको छु । त्यसको तलब अलग नै हुन्छ । प्रमुख प्रशिक्षक भएर तालिममा जाँदा ३० हजारसम्म मासिक तलब दिन्छ । सहायक प्रशिक्षक भएर जादाँ २० हजारसम्म मासिक तलब दिन्छ । ठाउँ हेरेर तलबमा फरक पर्छ ।
५. अरु दिदीबहिनीहरुलाई पनि तालिम दिनु भएको छ ?
मैले आफ्नो पसलमा ५० जनाभन्दा बढीलाई तालिम दिएको छु । अन्य संस्थाको मार्फत १ सय भन्दा बढीलाई तालिममा सिलाइ सिकाउन सफल भएको छु । मैले व्यक्तिगत तालिम दिदाँ कोर्षको १० हजारमा सिकाउने गरेको छु । सिक्नेको अवस्था हेरेर केही छुट पनि गर्ने गरेको छु । मैले तालिम दिएका मध्ये ३ जनालाई आफैले रोजगार दिन सफल भएको छु ।
६. यो पेशामा काम गर्न कत्तिको चुनौती छ ?
सिलाई पेशामा ध्यान दिएर काम गरेन भने धेरै चुनौती छ । कहिले काही काम गर्दा गर्दै सिलाएको कपडा बिग्रिन्छ । कपडा बिग्रेमा ग्राहकलाई कपडा तिर्नु पर्छ । हामी आफ्नो तरिकाले सिलाउछौं । महिलाहरु चाडो चित्त बुझाउदैनन् । सिलाई राम्रो गरे पनि कहिलेकाही आइरन लगाउँदा कपडा जल्छ । कहिले इन्टरलकले कपडा काटिन्छ । सुरु सुरुको अवस्थामा धेरै समस्या भएको थियो । अब काम गर्दा गर्दै बानी भइसकेको छ । केही बिग्रेमा मिलाउन सक्छौं । सुरुमा कपडा बिग्रेर तिरेका पनि छौं ।
७. तपाई पेशाबाट कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
म सिलाई पेशाबाट सन्तुष्ट छु । समाजले पनि यो पेशालाई नकारात्मक रुपमा हेर्दैन । घर परिवारले पनि सहयोग गर्छन् । आफैले कमाएर आफ्नोलागि चाहिने खर्च गर्न पाएको छु । सिलाइबाट कमाएको पैसाले घर परिवारकोलागि पनि केही रकम दिन सफल भएको छु । यो पेशा गर्दा सबैको माया पाउन सफल भएकोले सन्तुष्ट नै छु ।
८. सिक्न चाहने दिदीबहिनीहरुलाई के सुझाब दिन चाहनुहुन्छ ?
सिक्न चाहने दिदीबहिनीहरुलाई मसंग आउन आग्रह गर्छु । सिक्ने क्रममा धेरै गल्ति हुन्छ । कपडा काट्दा बिग्रिन्छ । गल्ति गर्दै सिक्ने हो । कुनै पनि काम सिक्दा डराउनु हुदैन । धैर्यता राखेर काम गर्नुपर्छ । हामीले घरमा बस्नुभन्दा पनि केही काम गर्नुपर्छ । सिलाइमात्र होइन । जुन सुकै काम सिकेर आत्म निर्भर भएको राम्रो हुन्छ । घर परिवारकोलागि पनि केही सहयोग गर्न सकिन्छ । त्यसैले फूर्सदको समयको सदुपयोग गरौं । फुर्सदमा घरमा यत्तिकै कसैले पनि नबसौं ।