कडा खडेरीको सन्त्रास र सुख्खा मौसमको तापमा यो वर्ष पनि लामो समय नेपालीहरु प्रताडित हुन प¥यो । आकाशबाट कहिले वर्षा सुरु हुन्छ ? अनि कृषि प्रधान देशका किसानले समेत किसानी कर्म गर्न पाउँछन् ? भनी अध्याधिक गर्मीको तापबाट आम मानिस पानीको पर्खाईमा लामो समय कुर्न प¥यो । असार १३ गतेबाट पानी पार्ने मनसुन पूर्वी नेपाल हुँदै मध्य तर्फ आउँदा कृषि प्रधान देशका मानिस खुसी नहुने कुरा थिएन । तर मौसम अनुकुलतासँगै भित्रिएको प्रतिकुलता यति कठोर बनेर भित्रिन्छ भन्ने नेपाली मनलाई के थाहा ? बल्ल असारको दोस्रो साताबाट छिटफुट पानी पर्न थालेपछि किसान र आम सर्वसाधारण उत्पातको गर्मीबाट राहतको महसुस गर्न थाल्दै थिए । केही राहत महसुस पनि हुन थालेको थियो । तर यसै समयमा फेरि नेपाली मनले सहनै नसक्ने गरी एक पछि अर्को गर्दै बाडी, पहिलो र दूर्घटनाका विपत्तिले उत्पात मच्चाउन थालेपछि नेपालीको मन साह्रै चिमोटेको छ ।
लामो समय खडेरीले सुकाएको भू–भागमा वर्षासँगै थपिएको उत्पात वर्षा र बाडी पहिलेले विभिन्न ठाउँमा पीडा दिंदै थियो । त्यसै वेला गएको असार २८ गते बिहानको कहाली लाग्दो खबरले मध्य तराईलाई साह्रै नराम्रो गरी पीडा थपिदियो । यात्रुले भरिएका दुईवटा बस एकै पटक त्रिशुलीमा वेपत्ता हुदा ६२ यात्रुको सास न लासको खबरले केही दिन नेपाली मन छिया–छिया भयो । यो वाहेक पनि असार १५ यता असार २८ सम्ममा नै पहाडतर्फ पहिरो र तराई मधेश तर्फ बाडी र डुवानले ९८ जनाको ज्यान लिइसकेको अर्को बिहान उज्यालो हुन नपाउँदै मनै चुडाउने थप विपतीले मध्य तराईका मानिसमा असह्य पीडा दियो । यो पीडा नेपाली भूगोल भरीमात्र सीमित रहेन । सीमा पारीसम्म पुग्दै त्यहाँका मानिसको पनि मन रुहाउने कहाली लाग्दो क्षण बन्यो ।
वीरगन्जबाट काठमाण्डौ र काठमाण्डौबाट रौतहटका लागि छुटेका दुईवटा बस मौसमी वर्षासँगै पहिरोको लेदोमा एक्कासी त्रिशुलीको भूमरीमा लापत्ता छन् । करिब डेड हप्तादेखि निरन्तर आइरहेको झरी र भारी वर्षाले गन्तव्य पुग्ने आशामा बेलुका यात्राका लागि छुटेका बस र ती बस भित्र सवार यात्रु मिरमिरे उज्यालो देख्न नपाई भेल मडारिएको त्रिशुलीको दहमा अलप भए । कस्तो बिडम्वना ! नेपाली र भारतीय यात्रुको कहाली लाग्दो अवस्था सहन अझै सकिएको छैन । ‘जन्मेपछि मृत्यु शास्वत सत्य हो’ । तथापि अ–समय र विपत्को मृत्यु र पीडा सहन निकै गाह्रो हुन्छ । नेपाली मन मुटुलाई किन यस्तै मात्र उपहार मिल्छ ? कहिले पहिरो, कहिले बाडी, कहिले सवारी दूर्घटना, कहिले डुवान, कहिले कटान र कहिले व्यापक संक्रमणको उपहार । पीडाको बोझ यतिमा मात्र रोकिएको छैन । जमिनमा मात्र नभई नेपाली आकाश समेत सुरक्षित नरहेको अर्को कहाली लाग्दो पीडा फेरि साउन ९ गते नेपालीले सहन गर्न परेको छ । मुलुकको मुटु राजधानीका महल छेउमा सौर्य जहाजमा यात्रारत १८ जना ठाउँको ठाउँ अस्ताए । सो जहाजका चालक एकजना अझै पनि अस्पतालको शैयामा जीवन मरणसँग जुद्धदैछन् ।
आखिर नेपाली मन मुटुले थाम्न नसक्ने गरिका यस्ता विपति अझै कति थेग्नु पर्ने हो ? भौगोलिक बनावट र विकास संरचनाको तालमेल अनि प्रकृतिको प्रकोप हिमालय पर्वत श्रृखलाको मझेरीमा कति बजारिने हो ? भन्न अझै कठिन छ । अब त अदृष्य भगवान् यस्तो पीडाको बोझ नदेऊ ।
भिडियोहरु:
१) सन्तान छैन भनेर चिन्ता नलिनु – डा. मोनिका यादव सिंह (Dr. Monika Yadav Singh)
२) २०८१ साल साउन महिनाको मासिक राशिफल ।। Rashifal Sawan 2081