स्थायी सरकारको उच्चतम पद मुख्य सचिव पहिलो पटक महिलालाई बनाइएको छ । पहिलो पटक महिलालाई राष्ट्रपति बनाउने पार्टी एमाले नेतृत्वको सरकारले नै स्थायी सरकारको प्रमुखमा पनि महिलालाई बनाएको हो ।
अधिकारको कुरा धेरै गर्ने तर काम फिटिक्कै नगर्नेहरु भन्दा अलि हटेर एमाले नेतृत्वको सरकारले यो पटक पनि महिलालाई इतिहास रच्ने अवसर प्रदान गरेको पाइएको छ । निजामती सेवा तर्फ ७ दशकको इतिहासमा पहिलो पटक लीलादेवी गड्तौला मुख्य सचिव भएकी छन् । सरकारले उदारता नदेखाएको भए उनी मुख्य सचिव अर्थात् स्थायी सरकारको कमाण्डर नबन्न पनि सक्ने कर्मचारीहरु नै बताउँछन् । ‘लीलादेवी मुख्य सचिव बन्दै मुलुकमा नै पहिलो पटक महिला मुख्य सचिव भएको इतिहास रचेकी हुन्’ उनीहरुले भने । निजामती प्रशासनको ६९ वर्षे इतिहासमा लगातार २६ पुरुष मुख्यसचिव भएको इतिहास छ । तर यो पटक भने उद्दार सरकारको कारण सत्ताइसौं मुख्यसचिवमा लीलादेवी बन्ने मौका मिलेको निजामती कर्मचारीहरुको तर्क छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले कायम मुकायम मुख्यसचिवको जिम्मेवारीमा रहेकी लीलादेवीलाई मुख्यसचिवमा बढुवा गरेको छ । तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि सरकारले गत असार ९ मा वरिष्ठ सचिव लीलादेवीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो । मुख्यसचिव रिक्त भए वरिष्ठ सचिवले स्वतः निमित्त पाउने व्यवस्था छ । राजनीतिक समीकरण परिवर्तन भएर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि गत असार ३१ मा लीलादेवीलाई नै कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । सरकारको निर्णयले निजामती सेवामा रहेका र नयाँ पुस्ताका महिला बढी उत्साहित भएको लीलादेवीले पनि स्वयम बताइन् ।
‘मुख्यतः अवसर पाएपछि महिला र पुरुष सबैले समान ढंगले काम गर्न सक्छन् भन्ने सन्देश मिलेको छ,’ उनले भनिन्, । ‘त्यसैले अवसर दिएपछि मात्र कसैको मूल्यांकन गर्न सकिन्छ ।’ उनले थपिन् । लीलादेवी २०२३ भदौ १५ मा तेह्रथुमको पिप्लेमा जन्मिएकी थिइन् । विवाह भने सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ केउरेनीमा भएको थियो । तेह्रथुम सदरमुकाम म्याङलुङस्थित सिंहबाहिनी माविबाट २०३९ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेर लीलादेवीले नेपाल ल क्याम्पस काठमाडौंबाट उच्च शिक्षाको अध्ययन थालेकी थिइन् । उनी २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् ।
दोस्रो प्रयासमा मात्र लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेकी उनी पछि आयोगले अधिकृतमा १७ जना मागेकामा भने लीलादेवीले पहिलो नम्बरमा नाम निकाल्न सफल भएको उनको विगत छ । २०६३ कात्र्तिकमा आन्तरिक बढुवाबाट उपसचिव भएकी उनी खुला प्रतिस्पर्धाबाट २०७० कात्र्तिकमा सहसचिव बनेकी थिइन् । १७ वर्ष कानुन मन्त्रालयमा बिताएकी उनी २०७७ सालमा सचिवमा बढुवा भएकी थिइन् । २९ वर्षको जागिरे जीवनमा उनले निर्वाचन आयोगमा २० महिना र कानुन आयोगमा ३४ महिना काम गरेको विगत छ ।
मुख्य सचिव लीलादेवीले जागिरका सिलसिलामा धेरै समय कानूनको मस्यौदा बनाएकी थिइन् । अहिले पनि कानून तर्जुमामा आफूलाई धेरै रुचि लाग्ने उनको तर्क छ । २०७२ मा जारी संविधान कार्यान्वयनका लागि बनेका धेरै कानूनको मस्यौदा निर्माणमा मुख्य सचिव लीलादेवीको भूमिका धेरै थियो । उनको आगामी कार्यकाल भने लामो छैन । उनी नेपालको स्थायी सरकारको मुख्य सचिवमा जम्मा ३५ दिन मात्र बस्न पाउने छन् । त्यसपछि उनी ५८ वर्षे उमेर हदका कारण आगामी भदौ १५ मा अवकाश हुने छन् । छोटो समयमा उनले परिणाम देखिने गरी काम गर्नुपर्ने जिम्मेवारी आइपरेको छ ।
भिडियोहरु:
१) सन्तान छैन भनेर चिन्ता नलिनु – डा. मोनिका यादव सिंह (Dr. Monika Yadav Singh)
२) २०८१ साल साउन महिनाको मासिक राशिफल ।। Rashifal Sawan 2081