अनलाइन माध्यमबाट प्रेम प्रस्ताव राख्दा एक जना युवकले साइबर अपराधको मुद्दा सामना गर्नु परेको छ । इन्भेस्टमेन्ट बैंकमा कार्यरत एक २६ वर्षीय युवतीलाई ईमेल मार्फत ूआई लभ युू भनेकै कारण विराटनगरका सुनील सुवेदीले अदालती झमेला ब्यहोर्नु परेको हो ।
सम्झना पौडेल (नाम परिवर्तन) बैंक कर्मचारी, सुनील भने एक निजी कम्पनीमा कार्यरत थिए । सुनीलको कार्यालयले सम्झना कार्यरत बैंकमा कर्मचारीहरूको खाता खोल्न भयो ।
यस क्रममा सम्झना सुनीलको कार्यालय पुगेकी थिइन् । उता सुनीलले उनलाई मन पराए र प्रेम प्रस्ताव राखे । तर सम्झनाले भने कुनै पनि प्रतिक्रिया नदिई बेवास्ता गरिन् । कुरा यत्तिकैमा सकिएन ।
सुनील भने विभिन्न माध्यमबाट सम्झनालाई सम्पर्क गर्ने प्रयास गरिरहन्थे । हैरान भएर सुनीलका दुई ओटा मोबाइल नम्बर उनले ब्लक गरिन् । इन्स्टाग्राममा रिक्वेस्ट पठाएपछि त्यसमा पनि ब्लक गरिन् ।
त्यसपछि सुनीलले सम्झनाको ईमेल आईडी पत्ता लगाए र 'लभ यु, प्यारी कति रिसाएको ? मिस यु सो मच' भन्दै मेसेज गरे । सुनीलको व्यवहारबाट हैरान भएपछि मोबाइल प्रयोग गरी सामाजिक सञ्जाल मार्फत आफ्नो चरित्र हत्या हुने कार्य गरेको भन्दै सम्झनाले प्रहरीमा निवेदन दिइन् ।
"उनले कुनै प्रतिक्रिया नदिएपछि धेरै पटक सरी भन्ने म्यासेज समेत पठाएको हुँ," सुनीलले जिल्ला अदालत काठमाडौंमा बयानका क्रममा भनेका छन् । "तर मैले उनको चरित्र हत्या गर्ने कुनै शब्दको प्रयोग गरेको छैन । कुनै पनि प्रकारको गालीगलौज गरेको छैन ।"
२ माघ २०८० मा काठमाडौं जिल्ला अदालतले यो मुद्दामा सुनुवाइ गर्दै १५ हजार रुपैयाँ धरौटी सहित सुनीललाई तारेखमा छोड्ने आदेश दियो । सोही मुद्दामा १२ वैशाख २०८१ मा फैसला दिंदै अदालतले उनलाई सफाइ दियो । सुनीलले 'म तिमीलाई माया गर्छु' भन्दै ईमेल गरेको भए पनि उक्त मेसेज सार्वजनिक रूपमा सबैले देख्ने गरी प्रकाशन भने गरिएको थिएन ।
सो मेसेज चरित्रहत्या हुने किसिमको समेत नभएको अदालतको फैसलामा उल्लेख छ । ूप्रतिवादीले जाहेरवालालाई पठाएको मेसेजहरू चरित्र हत्या हुने लगायत अपमानजनक रहेको नदेखिएको र जाहेरवालाले बकपत्र गरी आफ्नो जाहेरी ब्यहोरा समर्थन गर्न सकेको नदेखिँदा अभियोग दाबीबाट प्रतिवादीले सफाइ पाउने देखियोू अदालतको फैसलामा भनिएको छ । गत साता मात्रै यो फैसला प्रमाणीकरण भएको थियो । साभारः टेकपाना