दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पहिरोमा दर्जनौँ मानिस फसेको आशङ्का गरिएको छ।
केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो।
प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ। तर ठूलो वर्षा तथा एउटा महत्त्वपूर्ण पुल भत्किएका कारण उद्धारकार्य प्रभावित भएको बताइएको छ।
केरलाका मन्त्री एके शशीन्द्रनले क्षतिको विविरण आउन अझै केही समय लाग्ने बीबीसी हिन्दीलाई बताएका छन्।
केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जले स्थानीय अस्पतालहरूमा कम्तीमा ७० जना घाइतेलाई लगिएको बताएकी छन्।
अहिलेसम्म १०० जनाजतिको उद्धार भएको छ।
स्थानीय अधिकारी डीआर मेघश्रीले सञ्चारमाध्यमलाई बताएअनुसार वायनाडमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने छिमेकी मलपुरम जिल्लामा चलियार नदीमा बगेका नौवटा शव फेला परेका थिए।
वायनाड पश्चिम घाट पर्वतशृङ्खलामा पर्ने पहाडी जिल्ला हो। उक्त भेगमा मनसुनमा पहिरो गइरहन्छ।
पहिरोबाट वायनाडका विभिन्न स्थानहरू प्रभावित भएका छन्।
उच्च सतर्कता
सामाजिक सञ्जालमा देखा परेका भिडिओहरूमा कच्ची बाटो र जङ्गल छेउछाउका स्थानमा धमिलो भल बगेको र त्यसले घरहरू बगाएको देखिन्छ।
रशिद पादिक्कल्परम्बान नाम गरेका एक स्थानीय बासिन्दाले मध्यरातितिर कम्तीमा तीनवटा पहिरो गएको र त्यसपछि पुल बगेको समाचारसंस्था रोएटर्सलाई बताएका छन्।
उद्धारकार्यमा राज्य तथा सङ्घीय सरकारका विपद् व्यवस्थापन गर्ने निकायहरू सहभागी छन्। प्रभावित स्थानमा सेनाको टोली पनि चाँडै पुग्ने बताइएको छ। उद्धारकार्यमा स्थानीय बासिन्दाहरूले पनि सघाइरहेका छन्।
वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ।
चौधमध्ये १० जिल्लामा शैक्षिक संस्थाहरू बन्द भएका छन्। साभारः बीबीसी