सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा लाहानका २७ वर्षीय इम्तियाज अहमद रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आरोपित अहमद सबैभन्दा पहिले सामाजिक सञ्जालबाट अपरिचित व्यक्तिसँग जोडिन्थे । खासगरी फेसबुक र ह्वाट्सइएमा सम्पर्क गर्थे । त्यसपछि आफू विदेशी भन्दै डलर, कम्प्युटर, ल्यापटप, आईफोन र लगेज पठाइदिएको छु भन्थे । त्यसरी पठाएको सामान बापतको कर लाग्ने भन्दै रकम असुल्थे ।
त्यसबाहेक उनी आफूलाई विदेशी बैंकको मेनेजर भन्दै त्यहाँ भएका व्यक्तिको कोभिडका कारण निधन भएको बताउँथे । त्यसपछि मृतकको खातामा रहेको नेसनल बैंकको खाता पठाउन चाहे उत्तराधिकारी बनाउँछु भन्थे । र, व्यक्ति प्रलोभनमा परिसकेपछि विभिन्न बहानामा रकम माग्थे । र, ठगी गर्थे ।
यसरी उनले विभिन्न व्यक्तिबाट ५६ लाख १० हजार ६९९ रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा आरोपित अहमद अनलाइन ठगी गर्ने गिरोहका मुख्य एजेन्ट भएको देखिएको प्रहरीले जनाएको छ । उनी विभिन्न व्यक्तिको नाममा विभिन्न बैंकमा भएको खाता सञ्चालन गर्थे र उनीहरूकै एटीएमबाट रकम निकाल्थे । यसरी आरोपी व्यक्तिले अरूको खाता र एटीएम कार्ड गैरकानूनी रूपमा प्रयोय गर्ने गरेको देखिएको छ ।
अरुकै एटीएम मागेर ठगी गरेको रकम त्यही अकाउन्टमा पठाउन लगाउने र एटीएमबाट निकालेको रकम भारत लगी बाँड्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
त्यस्तै उनले प्रयोग गर्ने एटीएम कार्ड ब्लक भएको खण्डमा त्यसलाई पानीमा फाल्ने गरेको पनि बुझिएको छ । उनलाई पक्राउ गरेर ल्याउने क्रममा उनीसँग तीन ओटा सक्रिय एटीएम कार्ड भेटिएको प्रहरीले जनाएको छ ।
त्यसबाहेक अन्य व्यक्तिको नाममा खल्ती र आईएमई पे वालेट सञ्चालन गरी अवैध कारोबार गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अहमदलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ । साभारः टेकपाना