१. शिक्षण पेशामा आबद्ध भएर काम गर्दा कस्तो महशुस भएको छ ?
मलाई पहिलादेखि नै शिक्षण पेशामा काम गर्ने इच्छा थियो । मैले हासिल गरेको शिक्षालाई धेरैभन्दा धेरै विद्यार्थीहरुको माझ पु¥याउन पाएकोमा निकै खुशी लागेको छ । घर परिवारको सहयोगले आजसम्म पनि शिक्षण पेशामा टिक्न सकेको छु ।
२. वर्तमान परिवेशमा शिक्षामा छात्राहरुको आकर्षण बढेको हो ?
पहिला आमाबाबुको सोच छोरीलाई घरमा नै राख्ने थियो । अहिले आएर आमाबुबाको त्यो सोच परिवर्तन भएको छ । अहिले कलेजका हरेक कक्षामा छात्रभन्दा छात्राहरुको नै संख्या बढी छ । अभिभावकले नै छोराभन्दा छोरीहरुलाई नियमित रुपमा स्कूल, कलेज पठाएका छन् । पहिलाको तुलनामा अध्ययन गर्ने छोरीहरुको उपस्थिति धेरै छ । पहिलाको तुलनामा कलेज पढ्दाँ पढ्दै छोरीहरुको विवाह गरिदिने र पढाइ नै छाड्नु पर्ने वाध्यता धेरै कम हुँदै गएको छ । यस्ता समस्या आउँदा अभिभावकहरुलाई सम्झाएर केही समस्या समाधान भएको छ । हामीले सम्झाउँदा पनि नमानी विवाह गरिदिने अभिभावकहरु पछि पछुताएर फेरि छोरीहरुलाई कलेज भर्ना गरेर पढाएका पनि छन् । विवाह गरेपछि कुनै सीप नभएको र कम पढाइ भएकाले होला अहिलेका आमाबुबाको मानसिकता बदलिएको छ । उनीहरुले बुझिसकेका छन् की छोरीहरुको पढाई बिना जीवन चल्दैन । छोरीहरुलागि पढाइ एकदमै महत्वपूर्ण छ ।
३. पारिवारि परिवेश र शिक्षण पेशालाई साथमा अगाडी बढाउन सहज कसरी भयो ?
मेरो पेशालाई अगाडी बढाउनमा मेरो परिवारका सबै सदस्यहरुले राम्रो सहयोग गर्नु भएको छ । श्रीमान मात्र परिवार होइन । सासुआमा, ससुराबुबाले पनि मलाई राम्रो सहयोग गर्नु भएको छ । उहाँहरुको सहयोग नभएको भए शिक्षण पेशामा टिक्न गाह्रो हुन्थ्यो । बच्चा जन्मेको ४ महिनादेखि पढाउन थाले । घरको काम, बच्चा हेर्ने काममा सासु आमाले नै गरिदिने भएकोले मलाई काम गर्न सहज नै भयो । परिवारको सहयोग र मायाको कारण आज शिक्षण पेशामा टिक्न सकेको छु ।
४.सक्षम महिलालाई पनि काम गर्ने सिलसिलामा धेरै चुनौति आउने चर्चा छ नि ?
समाजमा क्षमतावान महिलाहरु धेरै छन् । क्षमता भएर पनि महिलाहरु समाजमा पछि परिरहेका छन् । कतिपय मेरो नै साथीहरु छन् । विवाह गरेपछि घर परिवारलाई व्यवस्थापन गर्न नसकेर गरेको काम नै छाड्नु परेको छ । महिलाले घर पनि हेर्नुपर्ने र पेशालाई पनि हेर्नु पर्ने भएकोले हामीले धैर्यता कायम राख्न सक्नुपर्छ । आफुसंग भएको क्षमतालाई प्रस्तुत गर्न सक्नुपर्छ । हामीले जुन काम भ्याउन सकेका छैनौं । त्यसलाई अरुको माध्यमबाट पूरा गर्ने कोशिस गर्नुपर्छ ।
५. तपाईको भविष्यको लक्ष्य के छ ?
आज लेक्चर भएर धेरै विद्यार्थी भाइबहिनीहरुलाई शिक्षा दिन पाएको छु । भविष्यमा प्रोफेसर भएर काम गर्ने ईच्छा छ । त्यो बाहेक पनि आफ्नो नीजि व्यवसाय गर्ने ईच्छा छ । यो व्यवसाय गर्छु भनेर निश्चित गरी सकेको छैन । सकेसम्म शिक्षा सम्बन्धी नै व्यवसाय गर्छु होला ।
६. अभिभावकहरुलाई केही सुझाव छन् ?
बच्चाहरुको पहिलो शिक्षा पाउने थलो भनेको आमाबुबा र घर हो । दोस्रो भनेको विद्यालय र शिक्षक हुन् । अहिलेका बच्चाहरुमा नैतिक शिक्षा भन्ने पाइदैन । उनीहरुले आफूभन्दा ठूलालाई आदर गर्ने र सानालाई माया गर्ने संस्कार नै सिक्न सकेका छैनन् । विद्यालयमा बढी पाठ्यक्रममा नै केन्द्रित भएका हुन्छन् । ९० प्रतिशत विद्यालयमा पढेका कुरा दैनिक जीवनमा प्रयोगमा नै ल्याउदैनौं । बच्चाहरुलाई आमाबुबाले नै नैतिक शिक्षा दिनुपर्छ । बच्चामा लागेको बानी पछिसम्म लाग्ने गर्दछ । त्यसैले बच्चामा राम्रो कुराहरु, बानीहरु सिकाएमा पछिसम्म पनि बच्चाको बानी राम्रो नै हुन्छ । हरेक आमाबुबाले घरबाट नै संस्कार, संस्कृतिहरु सिकाएमा विद्यालयले नैतिक शिक्षा दिन आवश्यक पर्दैन ।