मध्यतराईको प्रचण्ड गर्मी, यसैमा छिन–छिनमा लाइन कटिरहँदा हैरान नागरिक । होइन विद्युत प्राधिकरणले गर्न खोजेको के ? वीरगंजको माईस्थान निवासी गौतम सर्राफले प्रश्न गरे । भन्छन् ‘एक त मध्ये बर्षाको उखरमाउलो गर्मी, यो समयमा पनि नियमित पानी नपर्दा गर्मी खपिनसक्नु छ । झनै त्यस माथि पटक–पटक विद्युत कटौती हुँदा नागरिकलाई सास्ती कति दिन जानेको ? उनले तर्क गरे ।
वीरगंज महानगरका माईस्थान चौकमा घर भएका सर्राफले अहिले दिनमा धेरै पटक लाइन काटिँदा निकै दुःख भएको बताए । उनी भन्छन्, यस्तो गर्मीमा पानी नपर्दा एसी र पंखा मात्र साहारा हो । तर दिनहुँ विद्युत् कटौती हुँदा निकै सास्ती खेपिरहेको उनको भनाइ छ । कुनबेला लाइन कट्छ ठेगाान हुन्न, यस्तो कटौतीले घरमा जडान गरिएका सामान विग्रिने खतरा त्यतिकै हुन्छ । एकदिनको कुरा हो लाइन आउजाउले मरो घरको तिन वटा बत्ती एकचोटी पड्क्यो उनले तर्क गरे । यदि विद्युत प्राधिकरणले नियमित कटौतीको तालिका दियो भने पूर्व सतर्कता अपनाउन सकिने उनको भनाइ छ । लाइन काट्ने तालिका पनि नदिने भएपछि एक्कासी लाइन कट्दा घरको सबै विद्युतीय समाग्रीहरु क्षति पनि बढि भइरहेको छ उनले दावी गरे ।
यस्तो गर्मीयामको बेला बिजुली नियमित नहुदाँ यो क्षेत्रका नै मानिस समस्यामा परेको स्थानीयको गुनासो छ । विना पंखा, एसी नचलाई बस्ने स्थिति नभएको समयमा पनि अनियमिति लाइन कट्दा आम सर्वसाधारण समस्यामा परेको उनीहरुको भनाइ छ । अहिले नियमित पानी समेत नपर्दा गर्मी झनै बल्झिएको सर्वसाधारणको तर्क छ । बाहिर सडकमा हिड्दा आगो मै हिडिँरहेको जस्तै महसुस हुन्छ । घरमा बसेर एसीको आनन्द लिउ लाइन हुदैन, आर्थिक नगरीका धनाढ्यहरुको पनि बेग्लै गुनासो छ ।
वीरगंजको मिनाबजार–गहवामाइमन्दिर रेशमकोठी बिर्ता एरियामा नियमित लाइन हुदैन । पानी पर्दा वीरगंजमा पानी परुन्जेल मात्र अलि ठण्डाको महसुस हुने बजार क्षेत्रका नागरिकको भनाइ छ । घनाबस्ती हावाको आवामन कम त्यसमा पनि विजुली नभएपछि आगो तापेको झै महसुस हुने उनीहरुले तर्क गरे । गएको बुधबार र बिहिबार एकछिनको पानीले हल्का राहत महसुस भए पनि त्यसपछिको उखरमाउलो गर्मीले निकै सताएको बजार क्षेत्रका मानिसको भनाइ छ ।
विद्युत् कटौतीको समस्यालाई मध्यनजर गर्दै नेपाल तरुण दल पर्साले मङ्गलबार नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा पुगेर ज्ञापन पत्र नै बुझाई ध्यानाकर्षण गराएको छ । तरुण दल पर्साका सभापति विकास तिवारी नेतृत्वमा गएको टोलीले विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेलाई नै ज्ञापनपत्र बुझाएको थियो । वीरगंज तथा पर्सोलीले विद्युत कटौतीका कारणले खेप्नु परेको समस्यालाई बुझिदिन विद्यार्थीहरुको टोलीको त्यहाँ आग्रह गरिएको थियो ।
भोल्टेज डाउन भएता पनि करेन्ट बढेकोले समस्या भईरहेको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अबधेश कुमार दुबेले सो क्रममा बताएका थिए । अहिले विभिन्न ठाँउमा बिजुलीको तार, ट्रान्सफर्मरमा आगलागी हुदाँ मर्मत गर्नु पर्दा विद्युत कटौती गर्नुपरेको उनको अलगै तर्क छ । पुराना संरचनामा विद्युतको करेन्ट सप्लाई गर्नु पर्दा गर्मीले तातेको तराईमा विद्युत कटौती बाध्यता बनेको उनको भनाइ छ ।
वीरगंजमा अत्याधिक गर्मी बढेसगैँ विद्युतको लोड ह्वातै उकालो लागेका हुनाले कतिपय ठाउँमा पोलमा नै आगलागी पनि भइरहेको छ । सो ठाउँमा मर्मत गर्दा लाइन काट्नै पर्ने वाध्यता हुन्छ । विद्युत् प्राधिकरणलाई विद्युत काट्ने रहर हुन्न । विद्युतको माग बढ्दा सो अनुसारको पूर्वाधार नहुदाँ पनि आपूर्तिमा केही असहजता थपिएको प्राधिकरणले जनाएको छ । यसको साथै वीरगंजमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरु अव्यवस्थित हुदाँ पनि धेरै ठाँउमा आगलागी भईरहेको प्राधिकरणको भनाइ छ ।