विद्यालय वा कलेजहरुले शिक्षा दिन्छन् भन्ने कुरा जगजाहेर नै छ । शिक्षालयले शिक्षासँगै सीप पनि दिन्छन् भन्ने कुरा चाही सबैको सोचाइको उपज होइन । वीरगन्जको एउटा शिक्षालय (कलेज) ले चाही शिक्षसँगै सीप पनि दिइरहेको पाइएको छ । यो कलेज बाहिरी हल्ला जस्तो प्राविधिक शिक्षा दिने पनि भनिएको छैन । तर उसले विद्यार्थीहरुलाई सीप विकास र व्यापारका विभिन्न सीपहरु समय–समयमा दिइराखेको पाइन्छ । शुक्रबार पनि वीरगन्ज कलेजले कक्षा १२ र बीबीएस अध्ययनरत १ सय ५० विद्यार्थीलाई कलेज परिषरमा नै सीप मूलक ज्ञान पनि दिन थालेको छ । बाहिरबाट दक्ष व्यक्ति बोलाएर कलेजले शिक्षासँगै ८ दिनसम्म व्यवहारिक ज्ञान पनि दिन थालेको पाइएको हो ।
२०७६ सालमा ३० जना विद्यार्थीबाट व्यवहारिक ज्ञान दिन थालेको यो कलेजले अहिले भने ठूलो संख्यामा विद्यार्थीहरुलाई सीप सिकाउन थालेको कलेजका अध्यक्ष डा. दीपेन्द्र चौधरीले बताए । सुन्दा र हेर्दा सामान्य जस्तो लागे पनि व्यवहारमा डल, कुसन, साबुन, सर्फ र क्लिनर आवश्यक परिरहन्छ । कतिले यसै बस्तुको उत्पादन गरी जिविकोपार्जन समेत गर्ने गरेका छन् । सबै विद्यार्थी डाक्टर, इन्जिनियर मात्र नहोलान् । आफै सीप र व्यवसाय गर्न मन लाग्नेहरुको लागि अतिरिक्त ज्ञान पनि कलेजले दिनुपर्छ भन्ने सोचेर यस्तो ज्ञान दिन थालेको उनले बताए ।
‘पढाई सिकाई कार्यक्रम’ अन्तर्गत रात्री बजारको अभ्यास गरेका वीरगन्ज कलेजका विद्यार्थीहरुको लागि अर्को रचनात्मक कार्यक्रम पनि गरिनु सह्रानीय कदम भएको सो कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका मधेश प्रदेश अध्यक्ष अशोक टेवानीले बताए । विद्यालयीय शिक्षाका नेतृत्वकर्ता छोटेलाल प्रसाद, विनोद मेहता, वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उपाध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, राजधानी दैनिकका मधेश व्यूरो प्रमुख एवं प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, मानव सेवा आश्रमका दिवेश मानवलगायतका वक्ताहरुले पनि शिक्षासँगै सीप विकासका यस्ता कार्यक्रम शिक्षालयबाटै हुनु सकारात्मक कदम भएको बताएका थिए । नेपाली युवाहरु मुलुकबाहिर पलायन भइरहेको सन्दर्भ जोड्दै यस्ता सीपमूलक कार्यक्रम विद्यालय र कलेजस्तरबाट दिने हो भने स्वदेशमा पनि युवाहरुले उपलब्धिमूलक काम गर्न सक्ने उनीहरुको तर्क थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का, प्रेस सेन्टरका जगत राई, विद्यालयका प्रशासन प्रमुख सुरेश चौधरी लगायत क्याम्पसका गुरुवर्ग र विद्यार्थीहरुको सकृय उपस्थिति रहेको थियो । कलेजमा नै पढाईसँगै अतिरिक्त ज्ञान पनि पाउने भएपछि विद्यार्थीहरु पनि खुसी देखिए । कक्षा १२ मा अध्ययनरत संजय मण्डल र राकेश महतोलगायतका विद्यार्थीहरुले कलेजले गर्ने अतिरिक्त क्रियाकलाप धेरै राम्रो रहेको बताएका थिए ।