उद्योग तर्फ १ सय ८५ र बाणिज्य तर्फ २ सय २८ गरी गएको आर्थिक वर्ष पर्सामा ४ सय १३ उद्योगको लगत कट्टा भएको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्सा अन्तर्गत उद्योग र बाणिज्यका गरी यत्रो संख्याका उद्योगको एकै पटक लगत कट्टा गरिएको पाइएको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा उद्योग तर्फ कृषि तथा वनजन्य उद्योग ४५ वटा, सेवामूलक उद्योग तर्फ ८० वटा, उत्पादनमूलक उद्योग तर्फ २० वटा र पर्यटन मूलक तर्फ ४० वटा साना उद्योगहरु बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका सूचना अधिकारी संजय महतोले बताए । कुल लगतमा अघिल्लो वर्ष भन्दा यो वर्ष बढि उद्योगको लगत कट्टा भएको उनको भनाइ छ । उद्योग दर्तामा २२ प्रतिशत कम भएको पर्सामा बन्द हुने उद्योगको संख्यामा भने ५ प्रतिशत वृद्धि भएको उनको भनाइ छ ।
कोरोना कहरको समयदेखि नेपाल सरकारले २०७६ साल यता कर तिर्न बाँकी उद्योगहरुलाई ९० प्रतिशत छुट् दिए पनि उद्योगहरु कर चुक्ता गरी संचालन हुनेभन्दा लगत नै कट्टा गर्नेको संख्यामा बढोत्तरी भएको घरेलु तथा साना कार्यालयको भनाइ छ । सबैभन्दा बढी १ लाखदेखि ५० लाखसम्मको पूँजी भएका उद्योगहरु बन्द भएको पनि कार्यालयले जनाएको छ ।
उद्योग बन्द गराउन आउने उद्योगका संचालकहरुले उत्पादित सामाग्रीहरुको बजार मागमा कमी आएको, बैकिङ्ग व्याजदर बढी भएको, ऋण तिर्न समस्या भएको, सरकारबाट साना उद्योगीहरुलाई संरक्षण नभएको, मिटर व्याजीको डरले स्थानीय साहु, व्यापारीहरुले लगानी नगरेको जस्ता कारणहरुले पनि साना उद्योगहरु बन्दै गर्नु पर्ने अवस्था आएको संचालकको कुरा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रशासन फाँटका नासु सुरज रामले मध्य नेपाललाई बताए ।
वीरगंज महानगरपालिका–३ प्रगतिनगरमा विगत १० वर्षदेखि व्याग उद्योग संचालन गर्दै आएका रामबली साह कानुले ब्रिजेश व्याग उद्योग बन्द गरेका छन् । उनले उद्योगबाट उत्पादित सामाग्री वीरगंज लगायत वीरगंज बाहिरका विभिन्न बजारहरुमा पनि पठाउने गरेको बताए । बैकको नीतिले गर्दा बैकिङ्ग कारोबारमा असहज हुँदा उद्योग नै बन्द गर्नु परेको उनको भनाइ छ । अहिले बजारमा धेरै प्रतिष्पर्धा छ । बजारमा पहिलाको जस्तो व्यापार छैन । गाउँघरका संस्थाहरुबाट पनि थोरै कर्जा पाइन्थ्यो । तर अहिले त्यो पनि दिन छाडेकाले व्यवसाय सञ्चालन गर्न कठिन भएको उनको तर्क छ । कुनै पनि संस्थाहरुबाट सहयोग नपाएकोले गर्दा उद्योगहरुमा लगानी बढाउन नसक्दा उद्योग संचालन गाह्रो भएको उनको भनाइ छ ।
उद्योग बन्द गर्न असहज भएको बताउने उनी प्रतिनिधि पात्र मात्र हुन् । घरेलु तथा साना उद्योग कार्यालयमा भेटिएका उद्योग बन्द गराउन आउने अरुको पनि भनाई साहको जस्तै छ । यता पर्सामा महिला उद्यमीको संख्या ३ सय ९९ पुगेको पनि पाइएको छ । यो संख्या पुरुषकोभन्दा केही कमी मात्र हो । गतवर्षसम्म पुरुषको संख्या कुल ५ सय ४४ मात्र छ । यता रोजगारी तर्फ पनि महिला संख्या विस्तारै वृद्धि भई १ हजार २ सय ७८ पुगेको घरेलु तथा साना उद्योग कार्यालय पर्साको तथ्याँकमा उल्लेख गरिएको छ । यो संख्या साना तथा घरेलु उद्योग तर्फको मात्र भएको पनि कार्यालयले जनाएको छ । त्यसै गरै रोजगारी तर्फ पुरुषको संख्या भने ३ हजार ४ सय ५५ रहेको पनि कार्यालयले जनाएको छ । ०८०/०८१ को बार्षिक उद्योग दर्ता संख्या ८ सय ९७ पुगेको छ । यी उद्योगको कुल पूँजी परिचालन तर्फ भने २ अर्ब २० करोड १४ लाख ८७ हजार ३ सय १३ रुपैया रहेको पनि कार्यालयले उपलब्ध गराएको तथ्याँकमा उल्लेख गरिएको छ ।