१.मृगौला पत्थर भनेको के हो ?
मृगौला पत्थर भनेको मृगौलामा खनिज तथा अम्लीय लवणहरुको जमावटले बनेको कडा पदार्थ हो । पत्थरहरु साना दानाहरुदेखि ठूला आकारसम्मका हुन सक्छन् । सानो साइजका ती पत्थरहरु पिसाबमार्ग हुँदै बाहिर निस्कन पनि सक्छन् । मृगौला पत्थर बन्ने प्रक्रिया सामान्यतः पिसाबमा क्याल्सियम, अक्सालेट, युरिक एसिडजस्ता खनिजहरुको उच्च मात्राले आरम्भ हुन्छ । यी खनिजहरु पिसाबमा धेरै घुलनशील हुँदैनन् र जम्न थाल्छन् । समयक्रममा, यसको जमावट ठूला पत्थरका रूपमा परिणत हुन्छ । पानीको कम सेवन, प्रोटीन तथा सोडियमयुक्त आहार र केही औषधीहरुको प्रयोगले मृगौलाको पत्थर बन्ने जोखिम बढाउँछ ।
२. मृगौलामा पत्थरी भएमा कस्ता समस्या हुन्छन् ?
मृगौलामा पत्थर हुँदा पेट तथा ढाडको तल्लो भागमा तीव्र दुखाइ, पिसाबमा रगत देखिनु, वान्ता हुनु र पिसाब कम हुनुजस्ता लक्षण देखिन सक्छन् । उचित उपचारको लागि चिकित्सकको सल्लाह आवश्यक पर्छ । मृगौलाको पत्थरी, जसलाई वृक्क पत्थरी पनि भनिन्छ, धेरै मानिसहरूलाई पिरोल्ने एउटा गम्भीर स्वास्थ्य समस्या हो यो । मृगौलामा पत्थरी हुँदा अत्याधिक पीडा हुने र त्यसको प्रभावले दैनिक जीवनमा समेत असर गर्ने गर्दछ । पत्थरीको कारण, लक्षण, र उपचार विधिहरूको ज्ञान हुनु महत्वपूर्ण छ । पत्थरीको समस्याबाट बच्न सकिन्छ । यदि समस्या उत्पन्न भएमा समयमा नै सही व्यवस्थापन गर्न सकिन्छ ।
३. मृगौलामा पत्थरी के कारणबाट हुन्छ ?
मृगौलामा पत्थरी तब उत्पन्न हुन्छ जब शरीरमा रहेका विभिन्न खनिज र तत्वहरू मृगौलामा जम्मा भएर क्रिस्टल वा पत्थरीको रूपमा परिवर्तन हुन्छन् । यो प्रायः क्याल्सियम, युरिक एसिड, स्टुभाइट, र सिस्टाइनको मात्रा बढ्दा हुने गर्दछ । यी खनिजहरू पिसाबमा घुल्न नसक्दा मृगौलामा जम्मा भएर पत्थरी बनाउँछन् । पत्थरीको मुख्य कारणहरूमा पर्याप्त मात्रामा पानी नपिउँदा पिसाब गाढा हुन्छ र खनिजहरू घुल्न सक्दैनन् । खानपिनमा उच्च मात्रामा सोडियम, प्रोटीन र क्याल्सियमयुक्त खानेकुरा सेवन गर्दा पत्थरी बन्ने सम्भावना बढ्छ । वंशाणुगत कारणले पनि प्रभाव पार्दछ । परिवारमा कसैलाई पत्थरी भएको छ भने, अर्को सदस्यलाई पनि हुने सम्भावना रहन्छ । स्वास्थ्य समस्या गाउट, हाइपर प्याराथाइरोइडिज्म जस्ता समस्याहरूले पत्थरी बन्ने जोखिम बढाउँछन् ।
४. मृगौलामा पत्थरी हुदाँ कस्तो लक्षण देखा पर्छ ?
मृगौलामा पत्थरी हुँदा पिठ्यु, कम्मर वा पेटको तल्लो भागमा तिब्र पीडा महसुस हुन्छ । पिसाबमा रगत आउन सक्छ । पिसाब गर्दा पोल्ने, बारम्बार पिसाब लाग्ने, र पिसाब रोकिए जस्ता समस्याहरू देखिन्छन् । बान्ता आउने र बिझाउने जस्तो पनि समस्या हुन्छ । संक्रमण हुँदा ज्वरो र चिसो लाग्न सक्छ । मूत्रमार्गमा पत्थरी बन्नु भनेको गुर्दा, मूत्रनली, मूत्राशय, वा मूत्रमार्गमा खनिज र नुनका ठोस टुक्राहरू जम्मा हुनु हो । यी पत्थरीहरूले विभिन्न किसिमका लक्षण र संकेतहरू देखाउन सक्छन् । मुख्य लक्षणमध्ये एक भनेको पेटको तल्लो भाग, ढाड, वा कम्मरमा अत्यन्तै धेरै दुखाई हुन्छ । यो दुखाई अचानक सुरु हुन्छ र असहनीय हुन सक्छ । मूत्रमार्गमा पत्थरी हुँदा पिसाब गर्दा पोल्ने वा पीडा महशुस हुन्छ । पिसाबमा रगत देखिनु पनि सामान्य लक्षण हो । पिसाब गुलाबी, रातो, वा खैरो रंगको हुन सक्छ ।
मूत्रमार्गको पत्थरी हुँदा पिसाब थोरै थोरै आउने, पूर्ण रूपमा नआउने, वा मूत्र बन्द हुने समस्या हुन सक्छ । कतिपय अवस्थामा, बिरामीलाई बारम्बार पिसाब फेर्ने इच्छा हुन्छ । पिसाब फेर्न मुश्किल हुन्छ । संक्रमणका कारण ज्वरो, जाडो, र पातलो महशुस हुन सक्छ ।
मूत्रमार्गमा पत्थरीको जोखिम कारकहरूमा पर्याप्त पानी नपिउनु, उच्च प्रोटिनयुक्त खाना, र केही औषधी सेवनबाट हुन्छ । पत्थरीको उपचारमा साना पत्थरीहरू प्राकृतिक रूपमा बाहिर आउन सक्छन् । ठूला पत्थरीहरूलाई शल्यक्रिया वा अन्य प्रक्रियाद्वारा हटाउनु पर्छ । पत्थरीको पुनरावृत्ति रोक्नको लागि पर्याप्त पानी पिउनु, स्वस्थ आहार अपनाउनु र चिकित्सकको सल्लाह लिनु अत्यन्तै महत्वपूर्ण छ । मूत्रमार्गका पत्थरीका लक्षण र संकेतहरूलाई चिन्नु, समयमै उपचार गर्नु, र स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ ।
५. मृगौलामा पत्थरीको उपचार विधिहरु के हुन् ?
मृगौलामा पत्थरीको उपचार पत्थरीको आकार, स्थान, र लक्षणहरूमा निर्भर गर्दछ । केही सामान्य उपचार विधिहरूमा पर्याप्त मात्रामा पानी पिउँदा पिसाबबाट पत्थरी बाहिर जान सक्छ । औषधी सेवनले पीडालाई कम गर्नका लागि र पत्थरीलाई पगाल्नका लागि औषधीहरू प्रयोग गरिन्छ । एक्सट्राकर्पोरल शोक वेभ लिथोट्राप्स विधिबाट पत्थरीलाई साना टुक्राहरूमा फोडेर पिसाबमार्फत बाहिर निकालिन्छ । यूरेटरोस्कोपी विधिमा यूरेटरस्कोप नामक उपकरणको प्रयोग गरेर पत्थरीलाई सिधै निकालिन्छ । प्रसवर्गीय सर्जरीः यदि पत्थरी धेरै ठूलो छ वा अन्य विधिहरूबाट बाहिर आउन सक्दैन भने सर्जरी अनिवार्य गर्नुपर्छ ।
६. मृगौलाको पत्थरी व्यवस्थापनमा लेजर प्रविधि कत्तिको उपयोगी हुन्छ ?
मृगौलामा पत्थरी हुने समस्याले धेरैलाई दुःख दिने गर्दछ । यस समस्याको समाधानमा लेजर प्रविधि अत्यन्त प्रभावकारी देखिएको छ । यो प्रविधिमा, उच्च–ऊर्जा प्रकाशको प्रयोग गरी पत्थरीलाई स–साना टुक्रामा विभाजन गरिन्छ । जसलाई मूत्रमार्गबाट सजिलै निकाल्न सकिन्छ । लेजर प्रविधि सुरक्षित र न्यूनतम इनभेसिभ विधि हो । यसको प्रयोगले रगतको कमी, न्यूनतम दुखाई, र चाँडो निको हुने समय प्रदान गर्दछ । सामान्यतया, यस प्रक्रियामा कुनै ठूला कटौतीहरू आवश्यक पर्दैन, जसले गर्दा रोगीलाई सजिलो र सहज अनुभव प्राप्त हुन्छ । यो विधि विशेषगरी ठूलो आकारका पत्थरीहरूको लागि प्रभावकारी छ, जहाँ परम्परागत उपचार विधिहरू प्रभावकारी हुँदैनन् । लेजर प्रविधिको प्रगतिसंगै, मृगौलाको पत्थरी समस्याबाट पिडित व्यक्तिहरूको जीवनमा सुधार ल्याउन सम्भव भएको छ । यो प्रविधि विश्वभर नै धेरै चिकित्सकहरूद्वारा प्रशंसनीय भएको छ ।
७. मृगौला पत्थरीबाट बच्न कस्ता उपाय अपनाउन सकिन्छ ?
दैनिक २–३ लिटर पानी पिउनाले पत्थरी बन्न दिदैन । कम सोडियम, कम प्रोटिन, र सन्तुलित क्याल्सियमयुक्त आहार खानुपर्छ । नियमित व्यायामले शरीरमा खनिजहरूको सन्तुलन कायम राख्न मद्दत गर्दछ । समय–समयमा पिसाब परीक्षण गराएर कुनै पनि असामान्य स्थिति पत्ता लगाउन सकिन्छ । मृगौलामा पत्थरीको समस्या जटिल भए पनि सही जानकारी र समयमै उपचारले यसलाई नियन्त्रण गर्न सकिन्छ । पर्याप्त पानी पिउने, सन्तुलित आहार खाने, र नियमित स्वास्थ्य परीक्षण गराउने बानीले पत्थरीको जोखिमलाई कम गर्न सकिन्छ । पत्थरीको लक्षण देखिनासाथ स्वास्थ्य जाँच गराई सही उपचार गर्न ढिलाइ गर्नु हुँदैन ।