१.प्रदिप चौरसिया (वडा अध्यक्ष)
वीरगंज महानगरपालिका–५
वीरगंज महानगरपालिकाले चापाकल अभियान चलाएर वीरगंज महानगरका १ देखि २५ नं वडासम्मका नागरिकलाई खानेपानीको जोहो गरिरहेको छ । सो अभियान अनुसार वडा नं.५ को पनि ६ सय ७५ घरधुरी छ । त्यसको लगभग १० प्रतिशत टहरा भएकाहरुमा चापाकल छैन । मधेशमा खानेपानीको समस्या सुरु भएसंगै वडाबासीको खानेपानीको समस्या समाधान गर्न ८ वटा बोरिङ्ग जडान गरिएको छ । वीरगंज महानगरले ६ वटा र प्रदेश सरकारले दिएको २ वटा बोरिङ्ग जडान गरिएको छ । वडाले १ इञ्चको पाइपबाट हरेक घरमा पानी दिन सफल भएका छौं । टोल टोलमा समिति गठन गरेर खानेपानीको सही सदुपयोग गरिएको छ । चापाकलमा जबसम्म पानीको लेयर माथि आउदैन । त्यो समयसम्म बोरिङ्गबाट पानी वितरण गरिन्छ । पानीको लेयर माथि आएपछि बोरिङ्ग चलाउन बन्द गरिन्छ ।
२. जगत साह कानु (वडा अध्यक्ष)
वीरगंज महानगरपालिका–४
वीरगंज महानगरपालिका वडा नं ४ मा स्थानीय वडाको बजेटबाट ३ वटा बोरिङ्ग क्वोयष्ट फर्माको सहयोगमा २ वटा बोरिङ्ग जडान गरिएको छ । महानगरपालिकाले त्रिजुद्ध मावि र कन्या माविमा गरी २ वटा बोरिङ्ग विद्यालयलाई लक्षित गरेर विद्यालय हाता भित्र नै जडान गरिएको छ । विद्यालय बाहिरका टोलबासीहरुलाई पनि आवश्यक परेको खण्डमा सहयोग गरेको छ । खानेपानी संस्थानबाट पनि धेरैले धारा जडान गरेका छन् । जसले गर्दा बाटोहरु पनि बिग्रेको छ । बोरिङ्गको पानी दिनमा ३ पटक चलाएका छौं । बोरिङ्गको पानीबाट वडाको ६ सय घरधुरी लाभान्वित छन् । मर्मतकोलागि लाग्ने खर्च वडाबाट नै गरिरहेको छ । जनताहरुबाट कुनै शुल्क लिएको छैन ।
३. विजय प्रसाद कुर्मी (वडा अध्यक्ष)
वीरगंज महानगरपालिका–२४
मधेशमा खानेपानीको समस्या सुरु भएसंगै हाम्रो वडा पनि समस्याबाट अछुतो रहेन । खानेपानीको समस्या समाधान गर्न वडाको स्थानीय बजेटबाट २ बोरिङ्ग र वीरगंज महानगरले दिएको २ वटा बोरिङ्ग गरी जम्मा ४ वटा बोरिङ्ग जडान गरिएको छ । ३ सय ५० घरधुरी बोरिङ्गको खानेपानी सुविधाबाट लाभान्वित भएका छन् । पुरानो बस्तीमा बढी खानेपानीको समस्या भएकोले बोरिङ्गको जडान पुरानो बस्तीमा गरिएको छ । नयाँ बस्तीमा भने बजेटको अभावले गर्दा बोरिङ्ग जडान गर्न सकिएको छैन ।
४. जयप्रकाश साह अग्रवाल (वडा अध्यक्ष)
वीरगंज महानगरपालिका–६
वीरगंज महानगरपालिकाको वडास्तरीय बजेटबाट खानेपानीको समस्यालाई समाधान गर्न ३ वटा डिप बोरिङ्गको जडान गरिएको छ । यसबाट २ सय ५० घरधुरी खानेपानीको समस्याबाट मुक्त भएका छन् । १५ वटा सार्वजानिक चापाकलहरु मध्ये हाल ७ वटा मात्र चालु अवस्थामा छन् । वडाको बजेटमा आगामी आर्थिक वर्षमा ४ वटा डिप बोरिङ्ग जडान गरेर आम जनतालाई थप सुविधा दिने लक्ष्य छ । पानीको लेयर सतहबाट तल गएको हुनाले अब चापाकलको लागि लगानी गरेर बजेट खेर फाल्नु हुँदैन ।
५. महबुब एलाही आलम (वडा अध्यक्ष)
वीरगंज महानगरपालिका– १४
खानेपानीको समस्या बढ्दै जादाँ वडा नं. १४ मा पनि डिप बोरिङ्ग जडान गरिएको छ । ठूलो वडा भएकोले ६ वटा डिप बोरिङ्ग जडान गरिएको छ । सो डिप बोरिङ्गको खानेपानीबाट वडा नं. १४ का १५ सय घरधुरीले खानेपानीको सुविधा लिन पाएका छन् । सार्वजानिक चापाकल १७ वटा थिए । तर अहिले गर्मी मौषम लागेसंगै सबै चापाकलहरु सुकेका छन् ।
६. बैजुलाल स्वर्णकार (वडा अध्यक्ष)
वीरगंज महानगरपालिका– ३
वीरगंजको वडा नं ३ मा खानेपानीको समस्या बढी र फराकिलो क्षेत्रफलमा बसोबास छ । यहाँको खानेपानी समस्या समाधान गर्न १३ वटा डिप बोरिङ्ग जडान गरिएको छ । वडाको बजेटबाट २ वटा डिप बोरिङ्ग र महानगरपालिकाको बजेटबाट ११ वटा डिप बोरिङ्ग जडान गरिएको छ । यो वर्ष पनि ४ वटा डिप बोरिङ्ग गर्ने वडाको योजना हो । वडाको दक्षिण तर्फका टोलहरुमा दुई वर्षदेखि चापाकलबाट वर्षैभरी पानी आउदैन । प्रगतिनगर र आदर्श चौकका टोलहरुमा ५० प्रतिशत चापाकल सुकेको छ । २०७९ को घरधुरी सर्वेक्षण गर्दा ११ सय ४७ धुरी वडामा बसोबास छ । अहिले डिप बोरिङ्गको पानीले प्रशस्त पानी पुगेको छ । टोल सुधार समिति गठन गरेर डिप बोरिङ्गको पानी वितरण र संरक्षण गरेको पानीको प्रयोग गर्ने व्यवस्था मिलाएको छ । अहिले तत्कालीन समयमा समाधान गर्न डिप बोरिङ्गको प्रयोग गरेका छौं । यसले पनि केही वर्ष मात्र धान्न सक्छ । तर दिर्घकालीन रुपमा खानेपानी वितरण गर्ने माध्यम भनेको खानेपानीको पाइपलाइनबाट नै हुने हो ।
७. जवाहर प्रसाद गुप्ता (वडा अध्यक्ष)
वीरगंज महानगरपालिका–९
अन्य वडाको तुलनामा हाम्रो वडा महानगरबाट कम प्राथमिकतामा परे जस्तो लाग्छ । वडाको बजेटबाट २ वटा डिप बोरिङ्ग र महानगरको बजेटबाट १ वटा डिप बोरिङ्ग जडान गरिएको छ । वडाबाट २ वटा बोरिङ्ग संचालन भएको छ । महानगरले जडान गरेको बोरिङ्गमा विद्युत वाइरिङ्ग नगरिएकाले संचालनमा आएको छैन । २ वटा बोरिङ्गबाट २ सय घरधुरीले पानी प्रयोग गरिरहेका छन् । जनताहरुले कुनै पनि रकम तिर्नु परेको छैन । मोटर, स्वीच बिग्रदा लाग्ने सम्पूर्ण मर्मत खर्च वडाले नै गरिरहेको छ । चापाकलहरु सुकेका छन् । पानी बेसरी पर्दा अलि अलि पानी आउँछ । फेरी घाम लाग्न थालेपछि पानी सुक्दै जान्छ समस्या ९ नम्बर वडामा पनि कायम छ ।
८. रमेश प्रसाद यादव (वडा अध्यक्ष)
वीरगंज महानगरपालिका–१५
वडा न १५ फराकिलो क्षेत्रफलमा छ । यहाँ केही नयाँ पुराना बस्तीहरु छन् । सबैमा गरेर वडामा १५ वटा डिप बोरिङ्ग जडान गरिएको छ । प्रदेश सरकारबाट एउटा, महानगरबाट ६ वटा र वडाको बजेटबाट ८ वटा बोरिङ्ग जडान गरेर संचालन गरिएको छ । एउटा बोरिङ्गबाट ३५ घरधुरीले खानेपानी उपयोग गरिरहेका छन् । चैत महिनादेखि सुकेका चापाकलहरुमा वर्षाको पानी परेपछि केही पानी आउँछ । बोरिङ्गको पानी वैकल्पिक उपायमात्र हो । बोरिङ्गको भविष्य छैन । खानेपानी संस्थानको पानी नै दिगो हुन्छ । खानेपानीको पानीलाई प्राथमिकतामा राखेर पाइपलाइन बिस्तार गर्नुपर्ने हुन्छ ।
९. रितेश कुमार गुप्ता (वडा अध्यक्ष)
वीरगंज महानगरपालिका– ८
वीरगंज–८ गहवाको चापाकल ४ वर्ष अघिदेखि नै सुकेको हो । त्यहाँ चापाकलबाट पानी नआएको कारण डिप बोरिङ्ग जडान गरिएको छ । अहिले वडामा ६ वटा डिप बोरिङ्ग उपयोगमा आइरहेको छन् । दिगो खानेपानी समस्या समाधान गर्न महानगरले एडीभीसंग मिलेर वीरगंज महानगरका वडाहरुलाई खानेपानीको समस्याबाट मुक्त गराउन योजना अगाडी बढाइसकेको छ । खानेपानी पर्याप्त मात्रमा लगानी गरेर खानेपानीको सुविधा हरेक घरसम्म पु¥याउन सकेको भए । डिप बोरिङ्गको लागि लगानी गर्नु पर्ने थिएन । पहिला चापाकलको पानीबाट नै आफ्नो जीविका चलाउने गर्थे । अब चापाकलबाट पानी आउन सक्ने सम्भावना कम भएकोले पानीको वैकल्पिक उपाय खानेपानी पाइपलाइन हो । खानेपानी संस्थान नाफामूलक संस्थान हो । यसले जनताको समस्या समाधान गर्न नसकोले महानगरले यो विषयमा योजना ल्याएर काम गरीरहेको छ ।
१०. अजय चौरसिया (वडा अध्यक्ष)
वीरगंज महानगरपालिका–११
मधेशमा खानेपानीको समस्या देखिएपछि वडा नं. ११ पनि समस्याबाट अछुतो रहेन । समस्या समाधान गर्न ट्याङ्करको समेत प्रयोग गरिएको हो । अहिले वडामा २ वटा डिप बोरिङ्ग जडान गरेर आम उपभोक्ताहरुलाई खानेपानी समस्या समाधान गर्ने प्रयास गरिएका थियो । प्रदेश सरकारले १ वटा र महानगरबाट १ वटा बोरिङ्ग संचालन भइरहेको छ । सोबाट २ सयय २० घरधुरीले खानेपानी उपयोग गरिरहेका छन् । ३ वटा बोरिङ्ग थप यो वर्षमा आउने योजना छ । पानी सुकेका चापाकलमा पानी आउने सम्भावना कम नै छैन ।