१. तपाईको विद्यालय बारे बताइदिनुस् न ?
हाम्रो विद्यालयमा पिजीदेखि यु केजीसम्म अध्यापन गराइन्छ । बिस्तारै कक्षा २ सम्म अध्ययन गराउने लक्ष्य राखेको छ । अघिल्लो वर्ष ५० जना विद्यार्थीबाट सुरु गरेको थियौ । यो वर्षमा नयाँ भर्ना भएका विद्यार्थी समेत गरी १ सय ६ जना विद्यार्थीहरु छन् । हरेक कक्षामा १५ जना विद्यार्थीको दरले कक्षा छुट्याएका छौं । हाम्रो विद्यालयमा बिहान ९ बजे देखि ५ बजेसम्म शिशु स्याहार केन्द्र पनि संचालन गरेका छौं ।
२. तपाइको विद्यालयमा शैक्षिक वातावरण कस्तो छ ?
चिल्ड्र्रेन गार्डेन विद्यालयमा बालबालिकाहरुलाई आमा जस्तो माया ममता दिएर सिकाउने काम हुन्छ । सबै शिक्षकहरु महिला नै हुनुहुन्छ । सबै शिक्षिकाहरु बच्चाको आमा नै हुनुहुन्छ । महिलाहरुले बच्चाको अवस्था, भावना राम्रोसंग बुझ्न सक्छन् । यहाँ बालबालिकाहरुलाई खेल खेलको माध्यामबाट पढाइ हुन्छ । अभिभावकहरुले ढुक्कको साथ विद्यालयमा बालबालिकाहरु दिन सक्नुहुन्छ । विद्यार्थीहरुको स्याहार गर्ने ५ जना दिदीहरु, १२ जना शिक्षिका र २ जना रिक्सा चालक गरी जम्मा १९ जना छौं ।
३. तपाइको विद्यालयमा कुन क्षेत्रका बालबालिकाहरु अध्ययन गर्न आउँछन् ?
प्राय गरेर जो स्वास्थ्य क्षेत्र, बैङकिङ्ग क्षेत्र र अन्य क्षेत्रमा पनि काम गर्ने आमाबुबा दुबै जागिर भएका अभिभावकका बालबालिकाहरु अध्ययन गर्न आएका छन् । यहाँ डे केयरको पनि सुविधा भएकाले बढी गरेर काम गर्ने महिलाहरुको बच्चा हाम्रो विद्यालयमा पढिरहेका छन् । यहाँको पढाइ देखेर पनि वरिपरीका बालबालिकाहरु पढाएका छन् ।
४. मन्टेश्वरी संचालन गर्ने सोच कसरी आयो ?
एस.एल.सी पास भएपछि विवाह गरेको हुनाले मास्टर डिग्री गर्दासम्म र काम गर्दा बच्चालाई हुर्काउन भोग्नु परेको सास्तीले गर्दा नै एउटा राम्रो मन्टेश्वरी संचालन गर्ने सोच आएको हो । केही मन्टेश्वरीहरु थिए । तर त्यहाँ बच्चाको हेरचाहका साथसाथै पढाइ, सिकाइ होस् र बच्चाहरुले आमाको जस्तो वातावरण पाओस् । जसको बच्चालाई मेरो विद्यालयमा पढाउँछु । त्यो महिलाको क्षमता वृद्धि गरी अगाडी बढ्न सकोस् । हाम्रो विद्यालयमा बच्चाहरुलाई हेरचाह गरेर राख्ने मात्र होइन । खेलको साथमा पाठ्यक्रममा ध्यान दिएर पढाउने पनि गछौं ।
५. तपाइको मन्टेश्वरीमा नै किन भर्ना गर्ने त ?
अहिले वीरगंजमा घरघरमा मन्टेश्वरी खुलेका छन् । हाम्रो मन्टेश्वरीमा उमेर अनुसार बालबालिकाहरुलाई खेल खेलाउने, लेख्ने, पढाउने गछौं । उमेर अनुसार हरेक कक्षाको पाठ्यक्रम अनुसार पढाउने गर्छौ । हाम्रो मन्टेश्वरीमा खेल, क्रियाकलाप, अन्य मन्टेश्वरी भन्दा फिस पनि कम र बच्चाको चौतर्फी विकासकोलागि चिल्ड्रेन गार्डेनमा नै भर्ना गरिरहेका छन् । यहाँ अभिभावकहरुको सुविधा अनुसार बच्चालाई सेवा दिइरहेका छौं । जो अभिभावकले घरबाट खाजा पठाउन भ्याउनुहुन्छ । उनीहरुलाई जर्बजस्ती हाम्रोमा नै खुवाउन जोड गर्दैनौं । जुन अभिभावक काम गर्ने छ उनीहरुको बच्चाकोलागि खाजाको व्यवस्था गर्छौ ।
६.वीरगंजको कुुन–कुन क्षेत्रमा यातायातको सुविधा छ ?
वीरगंजको घण्टाघर हुदैँ पावरहाउस सम्म, घण्टाघर हुदैँ रानीघाट र नगवा गरेर ३ वटा ई–रिक्साले सेवा दिइरहेको छ । पटक–पटक गरेर बच्चाहरु ल्याउने गरिरहेका छौं ।
७. कस्तो शिक्षिकाहरु मन्टेश्वरीमा राख्न चाहनु हुन्छ ?
जो महिला पढेलेखेको होस् । मध्यम वर्गीय परिवारको, आर्थिक स्थिति कमजोर भएको घरको महिलाहरुलाई प्राथमिक्ता दिएर जागरि दिन्छु । पुरुषहरुले जहाँ पनि जागिर पाउँछन् । तर महिलाहरुलाई काम पाउन कठिन पनि हुन्छ । मन्टेश्वरीमा काम गर्ने सबै जना प्लस टु, व्याचर्लर पढेको छन् । २ जना दिदी बाहेक सबै दिदीहरु पनि पढेको नै छन् ।
८. महिला दिदीबहिनीहरुलाई के भन्न चाहनुहुन्छ ?
हरेक महिलाले केही न केही काम गर्नु पर्छ । जागिर मात्र गर्नुपर्छ भन्ने छैन । गृहिणी महिलाहरुले पनि आत्म निर्भर हुन जरुरी छ । हामीले घरमा बसेर पनि आफूले जानकोे सीपहरुको सदुपयोग गरेर आयआर्जन गर्न सक्छौं । अचार, पापड बनाउने, सीपमूलक कामहरुबाट पनि आयआर्जन गर्न सकिन्छ । आफ्नो अवस्था हेरेर कुन काम गर्दा सहज हुन्छ । त्यही कामलाई आयआर्जनको पेशा बनाउनुपर्छ । आफ्नो पहिचान बनाउने काम गर्नुपर्छ ।