समय परिवर्तनशील छ । हाम्रो समाजमा हामीले गर्ने परिवर्तनको असर आउने पुस्ताहरु हिड्ने मार्गलाई सहज बनाइरहेको हुन्छ । हिजोको समाजमा पुरुष मानसिकता बोकेर अधिनायकवादको आडमा राज्य चलेको थियो भन्ने सोचाइ आउनु नै परिवर्तन हो । आजको समाज हिजोको कतिपय ‘कु–प्रथा’, कुरिती र कु–संस्कारको सोचको अत्यन्तको निमित्त समानान्तर प्रणालीमा राज्यलाई सर्वशक्तिशाली बनाउने तर्फ उन्मुख छ । अलिकति चेतनाको स्तरमा मानवमा बढ्नु स्वभाविक हो । म राम्रो, मेरो वंश राम्रो, मेरो जात उच्च, मेरो छाला राम्रो, म बुद्धिमान इत्यादि विभेदबाट आनन्द लिने प्रवृत्ति अझै हावी छ । जातमा हुने विभेद मानव सभ्यताको कलङ्क हो । यस्तो कलङ्क जरैदेखि निर्मूल गर्नु पर्छ । त्यसमा सानाठूला जुनसुकै जाती हुन् । जातमा मात्र अडिक रहने वानी कुनै पनि जातीका लागि राम्रो संकेत होइन ।
निरंकुश पञ्चायती प्रतिबन्धको समयमा महिलालाई राजनीतिक रूपमा संगठित गर्ने, व्यवस्थाविरुद्ध लड्ने मात्रै होइन । पितृसत्ताविरुद्ध महिलालाई संघर्षको मैदानमा ल्याउने काममा नेपालको महिला आन्दोलनको महत्वपूर्ण भूमिका छ । राजनीतिक व्यवस्था परिवर्तनका साथै महिला मुक्तिका लागि कफन बाँधेर प्रतिरोधी संघर्षमा होमिएका महिलाको योगदान, बलिदान र भूमिकाकै फलस्वरूप उनीहरूले एक हदसम्म संवैधानिक, कानुनी र राजनीतिक अधिकार प्राप्त गर्ने अवस्था सृजना गरेको छ । तथापि, व्यावहारिक रूपमा आम महिलामाथिको शोषण, विभेद, हिंसा र अत्याचारको शृंखला भने अहिले पनि कायमै छ । जस्को लागि अहिले पनि महिलाहरु आन्दोलित छन् ।
हिजोका महिला र आजका महिलामा कार्य जिम्मेवारीको बोध झल्किन्छ । हिजोआज कामकाजी महिलाका लागि जिम्मेवारीको भार निकै संघर्षरत बन्दै गएको छ । तसर्थ हाम्रा प्रचलनहरूमा समयानुकूल परिवर्तन जरुरी छ । समाजमा जति पनि कु–संस्कारहरू अद्यापि छन्, ती सबै आफ्नो आफ्नो हैकम कायम राख्न बनाइएका हुन् । मै हुँ भन्नेहरु, बल र दलको प्रभावमा आफूलाई अलिक बढी बुज्रुक ठान्नेहरूले आफ्नो स्वार्थ र अभिष्ट पूरा गर्न प्रयोग गरेका अस्त्र हुन् । ती अस्त्रले निमुखालाई दबाएर आफ्नो हैकम बलियो बनाउँछन् । ती अस्त्रहरू जरैदेखि नष्ट गर्न आवश्यक छ ।
सहज छैन परिवर्तन ?
सामाजिक परिवर्तन गर्न पहिले आफूलाई नै परिवर्तन गर्नुपर्छ । समाजमा अस्तित्व भएका तर सामान्य आँखाले नदेखिने उत्पीडनका कु–संस्कारहरू अनेक छन् । केही प्रतिनिधि उदाहरणहरू माथि उल्लेख गरिए । यस्ता उदाहरणहरू पाइला पाइलाका रहनसहनमा विद्यमान छन् र अविवेकी छन् । यस्तो अविवेकी व्यवहार कुनै एक देश, एक क्षेत्र र एक संस्कृतिमा सीमित छैन । कुनै न कुनै रूपमा विश्वव्यापी छ । समाज, परिवार र राष्ट्रका लागि जतिसुकै योगदान भए पनि महिलालाई कमजोर बनाइराख्न पुरुष मानसिकता युगौँयुगदेखि तल्लिन छ । यस्तो भेदभाव र असमानता विरुद्ध संसारभर विचारविमर्श पनि कम छैन । यी विषयमा छलफल र गोष्ठी भए, कति लेख छापिए, कति अनुसन्धान भए त्यसको हिसाब किताब छैन । तर पनि परिवर्तनको तिब्रता न्यून छ ।
विभेदकारी मानसिकता :
नेपाली समाज बडो गज्जबको छ । यो सौन्दर्यको विभेदकारी मानसिकता हो । हामीले नै हाम्रा संतानमा छोराभन्दा छोरी राम्री बन्नुपर्छ, छोरी सभ्य बन्नुपर्छ, घरको सवै काम छोरीले नै सिक्नुपर्छ । खाना बनाउनु, लुगा धुनु, सरसफाइ गर्नु भाडा माज्नु लाग्छ छोरीले जन्मिदै लिएर आएको जिम्मेवारी हो । जो चु–सम्म नबोली निभाउनु पर्छ । तर अहं यी काम नगर्दा हाम्रा छोरालाई छुट छ । न्यून संख्याको परिवार बाहेक संसारभरका घर–घरको सत्य यस्तै छ । समाजले अदृश्य, अव्यक्त र परोक्षरूपमा महिला शरीरलाई उपभोगको वस्तुजस्तो बनाइदिएको छ । नगन्य बाहेक जानी वा नजानी महिलाहरू पनि यसमै रमाएका छन् ,मस्त खुशी छन् र अभ्यस्त छन् । उदाहरण नै हेरौं न बजारमा बिभिन्न समानको प्रचारमा महिलाको फोटो हुन्छ, पसलको बाहिरी बोर्डमा, सो रुमदेखि प्राय पर्यटन स्थलमा महिलाको फोटोलाई आकर्षणको रुपमा राखिएको हुन्छ । साना ठूला अफिसको रिसेप्सन लगाएत भने यो आकर्षणको नाममा एउटा विकृति हो ।
महिला सौन्दर्य कसका लागि ?
आफ्नो सौन्दर्य महिमाबारे महिलाहरूले नै भन्न सक्लान् । पुरुषले खोजेको नारी सौन्दर्य चाहि आफ्नै लागि हो । अनि पुरुषकै लागि महिलाहरूले पितृसत्तात्मक सामाजिक परम्परालाई पोषण दिइरहेका छैनन् त ? सौन्दर्य संसाधनहरू महिलाकै लागि उत्पादित छन् । मै राम्रो बनुँ, सझिएर हिड्न पाए मख्ख पर्ने जुन मानसिकता छ, त्यो हिजोकै मानसिकता कायम हो भने स्वयम् महिला नै यस्को भागीदार पनि हुन् । युगौँदेखि यो विकृत परम्परा कायम छ, जुनसुकै भूगोलमा किन नहोस् । पुरुष वासनाबाट घाइते नभएका नारीहरू विरलै होलान् । सिङ्गो विश्वको कथा एउटै हो, आफूलाई विकसित भन्ने पश्चिमाहरूमै किन नहोस् ? विकासका हरेक क्रियाकलाप होस् वा प्रशासनिक, राजनीतिक, र सामाजिकलगायत क्षेत्रमा महिला र पुरुषका भूमिका बराबरी हुनु पर्दछ । अर्थपूर्ण सहभागिताका लागि समानता, समता, सशक्तीकरण र आरक्षणका माध्यमबाट पछिल्लो समय हरेक क्षेत्रमा महिलाहरू अग्रसर हुँदै आएको पाइन्छ । राष्ट्रपति, प्रधानन्यायाधीश, डाक्टर, इन्जिनियर पाइलट, प्रशासनिक पदलगायत हरेक क्षेत्रमा महिला सक्रिय रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
कामकाजी महिलालाई एकातिर कार्यालयको जिम्मेवारी र अर्कातिर घरको जिम्मेवारी पनि निर्वाह गर्नु परेको छ । सबैतिर दृष्टि दिनुपर्ने हुन्छ । बच्चा जन्माउनु हुर्काउनु, आफ्नो श्रीमान्को ख्याल राख्नु, आफन्त तथा इष्टमित्रलाई रिजाउनु, घर व्यवहार समाल्नुलगायत जिम्मेवारी हुन्छन् । कहिलेकाहीँ आफन्तहरूलाई फोन गर्न नभ्याएमा, बेला मौकामा बोलाएर नखुवाएमा, समय समयमा कोसेली बोकी भेट्न नगएमा ‘फलानीले त कसैले नभएको जागिर खाएकी, कम्ता ठूली भएकी छे’ भन्ने उपमासमेत मिल्छ । छोरा, छोरी, उमेर ढलेका सासू–ससुराको पालनपोषण गर्न ‘केयर टेकर’ बन्नु पर्ने भूमिका झनै महत्वपूर्ण हुन्छ । तर घरेलु महिलाको दाँजोमा कामकाजी महिलाको भूमिका अझ बढी कठिन र व्यस्त बन्दै गएको छ । दिनभरिको कार्यालयको व्यस्ततापछि बेलुका निस्कँदा बाटाभरि घरको कामको समय तालिका बन्छ । घरमा के–के सामान सकिएको छ ? गर्नु पर्ने काम र जिम्मेवारीले बाटो हेरिरहेको हुन्छ । तरकारी, फलफूल, भान्छादेखि शौचालयसम्मका सामानहरू, बच्चाको खाना, बाआमाको दिउँसोको खाजालगायत विभिन्न सामान किन्दै घर पुगिन्छ । कामबाट थाकेर घर आउँदा काममा सघाउने कोही हुँदैन ।
हाम्रो नेपाली समाजले यदाकदाबाहेक अझै पनि बुहारी, श्रीमतीको बाटो नै हेर्ने संस्कार हुन्छ । दिनभरको कामले थाकेको शरीरमा तनाव उत्पन्न हुन्छ । तर पनि हतार हतार ‘ड्रेस’ फेरी भान्छामा बेलुकाको कर्ममा तल्लिन हुनु पर्दछ । सँगैसँगै कार्यालयबाट घर पुगेका श्रीमान् ‘फ्रेस’ भएर हातमा रिमोट लिएर आराम गर्दै टीभी हेर्न थाल्छन् भने श्रीमती हतार हतार भान्छाको काममा व्यस्त हुन्छिन् । घरको धन्दासक्दा बेलुकाको १० बज्छ । अनि बल्ल उनी आफ्ना लागि समय निकाल्छिन्। कति रहर, चाहना रुचि हुन्छन् । सामाजिक सञ्जाल, सिर्जनात्मकता, आफन्तसँगको फोनमा कुराकानी विचरा सुत्ने समय रातको ११ बज्छ । ‘भोलिफेरि दिनाचर्या उही’ ।
कामकाजी महिलाको दोहोरो भूमिकाले उनीहरूको जीवन जटिल र चुनौतीपूर्ण बनाएको छ । घरको काम पुरुषले गर्नु हुँदैन भन्ने पितृसत्तात्मक सोच अझै पनि मन, मस्तिष्कमा गडेर बसेको छ । जतिसुकै महिला पुरुषसँगसँगै भने पनि व्यवहारमा पुरानै सोच, मान्यता र संस्कारको गन्ध मिसिएको छ । महिलाले आफ्नो रुचि, चाहना, पेसा, साहित्य, घर, परिवार इष्टमित्र सबैलाई मिलाएर लैजान चाहेर पनि सक्दिनन् । यसरी कामकाजी महिलाको एक तिहाइ जीवन चटारोमै बित्दछ ।
एक सर्वेक्षणका अनुसार २० देखि ४० वर्षसम्मका महिलालाई अत्यन्तै व्यस्त जीवनशैलीले स्वास्थ्यमा समस्या पर्ने देखाएको छ । आराम नहुँदा तनाव हुने, खुसी हराउने, मनोसामाजिक समस्या उत्पन्न हुने पनि सर्वेक्षणले देखाएको छ । यो तथ्यले पनि घर परिवारले कामकाजी महिलालाई साथ सहयोग गर्नु जरुरी देखिन्छ । महिलालाई सम्मान गरी उनीहरूभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन सबैले बेलैमा ध्यान दिन जरुरी छ । महिला, पुरुष र अन्य बराबरी भन्ने विषयलाई व्यवहारमा उतार्न समय छँदै सबैले लाग्नु अपरिहार्य छ । नत्र भोली कामकाजी महिला थला परेको त्यसको मार एकतर्फ मात्र पर्दैन । महिलाको तनावरहित जीवनका लागि सहयोग गरौँ । ‘सबै बराबरी’ भन्ने नारालाई सार्थक पार्न आजैदेखि पितृसत्तात्मक सोचको अन्त्य अपरिहार्य छ ।