महोत्तरी । घुम्टोमा बस्दा झेल्नुपरेको अप्ठ्यारो र परिवारमा खेप्नुपरेको पीडाबाट मुक्ति चाहेकी जनकपुरकी मधुमाला मण्डल अहिले स्वतन्त्र जीवन बिताइरहेकी छन् । सानैदेखि भित्तामा चित्र कोर्ने अभ्यासले खारिएकी उनीसँग सुन्दर चित्र बनाउने कला छ ।
मधुमालालाई अहिले उनको हातको कलाले स्वतन्त्र जीवन जीउन मद्दत गरेको छ । १३ वर्षकै उमेरमा विवाह गरेकी उनी ५/७ वर्ष घुम्टोमा बसिन् । परिवारमा सबैलाई रिझाउने प्रयास गर्दागर्दै पनि पारिवारिक यातनाले स्वतन्त्र हुने बाटो खोज्ने क्रममा चित्र कोर्न पुगेको उनी सुनाउँछिन् । ‘घुम्टोबाट निस्किएपछि देखेको बाहिरी संसार स्वर्ग जस्तै लाग्छ,’ मधुमालाले भनिन्,‘कुनैबेला घुम्टोभित्रबाट देखिने एक चोक्टो धर्तीनै मेरो संसार थियो । ३२ वर्षदेखि मिथिला चित्रकला कोरिरहेकी मधुमाला प्राकृतिक रंग बनाएर कसरी चित्र रंग्याउन सकिन्छ भन्ने सिकिरहेकी छन् ।
जनकपुरमा ५ दिनको तालिम आयोजना गरी शिवातालभ फाउन्डेसनले मिथिला चित्रकलाकर्मीलाई प्राकृतिक रंग बनाउने र प्रयोग गर्ने तरिका सिकाएको छ । तालिमको दौरानमा १५ जना चित्रकारले नारी स्वतन्त्रतालाई मुख्य विषय बनाएर मिथिला चित्र बनाएका शिवातालभ फाउण्डेसनकी अध्यक्ष रागिनी उपाध्यायले बताइन् । चित्रकारले प्रायः आफ्नो जीवनमा गरेको संघर्षबाट मिलेको स्वतन्त्रतालाई चित्रमा उतारेका छन् । मधुमालाले चित्रमा महिला शक्तिशाली छन् भन्ने देखाउन डोजर चलाउँदै गरेको चित्र कोरेको बताइन् ।
मधेशमा घुम्टोमा बस्ने धेरै महिला स्वतन्त्रताको संघर्षपछि अब विभिन्न स्थानमा पुगेर उदाहरण बनिसकेको उनले सुनाइन् । चित्रका माध्यमबाट महिलालाई स्वतन्त्र हुन र बाहिरी संसारमा आफ्नो लक्ष्य लिएर अघि बढ्न प्रेरित गर्ने उद्देश्यसहितका चित्र आफुले बढी बनाउने गरेको मधुमाला बताउँछिन् । मिथिला चित्र बनाएरै देशका धेरै भूभाग र बैदेशिक यात्रमा अमेरिकासम्म पुगिसकेको मधुमालाले सुनाइन् । ‘घुम्टो नउठाएको भए चित्र कोर्ने र देशविदेश घुम्ने अवसर मिल्ने थिएन,’ उनी भन्छिन्, ‘मेरो चित्रको तारिफ अमेरिकाका राजदूतले पनि गरे, अमेरिकामा लगेको चित्र तीन सय डलरमा बेचे ।’
मिथिला चित्र बनाउने क्रममै जनकपुरकी अर्की चित्रकार रुबी पाठकले मिथिलाका राजा जनककी छोरी सीतालाई आफ्नो पात्र बनाएकी छिन् । महिला कसरी स्वतन्त्र हुन सक्छन् भन्ने विषयमा मिथिलाकी छोरीलाई धेरैले भगवान् मान्छन् भने मिथिलाका हरेक नारी सीता बन्ने लक्ष्य लिएर स्वतन्त्र हुँदै अघि बढ्नुपर्ने आफ्नो चित्रको सन्देश भएको पाठकले बताइन् । मिथिला चित्रकलामा मिहिनेत गरे भविष्य निकै राम्रो रहेको पाठकको अनुभव छ । ८ वर्षदेखि चित्रकलालाई नै पेशा बनाएकी पाठकले यो पेशाबाट आफु निकै सन्तुष्ट भएको बताइन् । पछिल्लो समय मिथिला चित्रकला भित्तामा लगाउने मात्रै नभई हरेक सजावट र सामग्रीमा समेत प्रयोग हुन र कोर्न थालिएकाले यसमा लाग्नेको भविष्य सुन्दर रहेको पाठकले बताइन् ।
२५ वर्षको उमेरदेखि मिथिला चित्रकला बनाइरहेकी पानो दासले मिथिला चित्रमा आफ्नो ३० वर्षको अनुभव बटुलेकी छिन् । उनी मिथिला चित्र बनाउने र देशविदेशमा पठाउने संस्था महिला विकास जनकपुरकी अध्यक्ष पनि हुन् । जनकपुर १३ घरभएकी दासले आफ्नो संस्थामा अहिले २० जना मिथिला चित्रकारले चित्रकलाको काम गरिरहेको बताइन् । लामो समयको अनुभव र सीप भएका चित्रकला कोर्ने व्यक्ति सबै महिला छन् । स्वतन्त्रताको संघर्षपछि आफ्नो कलालाई सुन्दर बनाएर निकै मेहनत गरी नाम र पैसा कमाई परिवारको जिम्मेवारी समेत महिलाले उठाइरहेका दासले बताइन् ।
जीवनमा हार खाएर बसेका धेरै महिलालाई महिला विकासले सीप सिकाएर रोजगारी नै दिएको चित्रकारहरू बताउँछन् । जनकपुर १२ घरभएकी ५६ वर्षकी राजकुमारी मण्डल सानै उमेरमा पोलियोको कारण शारिरीक रूपमा अशक्त बनिन् । तर महिला विकासमा उनी अहिले राम्रो चित्रकारको रूपमा स्थापित छिन् । परिवार र समाजको अपहेलनापछि निरास भएको आफुलाई चित्रकलालेनै जिउने शक्ति दिएको राजकुमारी बताउँछिन् । चित्रकलाकै माध्यमबाट कमाएर घर चलाउने, छोराछोरी पढाउने जिम्मेवारी पूरा गरेको उनले सुनाइन् । २५ वर्षअघि चित्रकला सिकेकी राजकुमारीले आफ्ना संघर्षलाई प्राय चित्रमा उतार्ने गरेको बताइन् ।
पछिल्लो समय मिथिला चित्रकलाको माग बजारमा बढ्दो छ । लगाउने कपडा, ओड्ने गम्छा, तौलिया, भित्ते चित्रकला र घर, कार्यालयमा प्रयोग हुने सामग्री समेतमा मिथिला चित्र कोर्न र छाप्न थालिएकाले चित्रकलाको स्तरीयता र फरकपन पनि थप्दै लानुपर्ने शिबातालभ फाउण्डेसनका सचिव रामपुजन ठाकुरले बताए । घर आगनमा पाइने सिमिको पात, चुकुन्दर, गोबरलगायतबाट बन्ने प्राकृतिक रंगको प्रयोग गरेर पनि मिथिलाकला क्षेत्रमा फरकपन ल्याउन सकिन्छ भन्ने उद्देश्यले भारतबाट प्रशिक्षक ल्याएर कलाकर्मीलाई फरकपनको तालिम दिएको उनले बताए । तालिमको विषयवस्तु महिला स्वतन्त्रता भएकाले महिलाहरू प्रायले आफ्नै स्वतन्त्रताको यात्राको कथा चित्रमा उतारेका उनले बताए । #कान्तिपुर