१. इन्डोस्कोपीको भनेको के हो ? बताइदिनुस् न ।
इन्डोस्कोपी भनेको पातलो, लामो, कालो रंगको रबरको ट्युब हो । जसको टिममा एउटा क्यामरा र लाइट पनि हुन्छ । इन्डोस्कोपी दुई किसिमको हुन्छ । अपर इन्डोस्कोपी र लोवर इन्डोस्कोपी गरी दुई किसिमबाट परिक्षण गरिन्छ । बिरामी कम्तीमा ५ वा ६ घण्टा खाली पेट हुनुपर्छ । एक्सलोकोन १० प्रतिशतका स्प्रे दिएर प्रक्रिया सजिलै गर्न सकिन्छ । इन्डोस्कोपी प्रक्रिया सकेर बिरामी ३० मिनेटपछि जे पनि खान सकिन्छ ।
२. इन्डोस्कोपी गर्नु पर्नाको कारण के हो ?
दुई कारणमा इन्डोस्कोपी गर्न सिफारिस गरिन्छ । एउटा बिरामीले बताएको लक्षणको आधारमा जाँच गर्न र शल्यक्रिया गर्दा गर्दै हेर्नुपर्ने अवस्थामा पनि इन्डोस्कोपी गरिन्छ । खानेकुरा निल्न समस्या भइराख्दा, लामो समयसम्म पेटमा दुखाइ हुँदा, तारन्तार बान्ता भइरहँदा र दिसा पिसाबमा रगत देखापर्दा, त्यसको कारण पत्ता लगाउन इन्डोस्कोपी गरिन्छ । रक्तश्राव हुने अल्सर, ट्युमर वा क्यान्सर हटाउने प्रक्रियामा पनि इन्डोस्कोपीको प्रयोग हुन्छ । एक्स–रेले कुनै अङ्गको स्पष्ट रिपोर्ट नआए पनि आवश्यकता अनुसार इन्डोस्कोपी गरिन्छ ।
३. इन्डोस्कोपी नै किन आवश्यक पर्छ ?
इन्डोस्कोपी गर्दा शरिरमा एउटा पातलो नली हालिन्छ । जसमा इन्डोस्कोप क्यामरा सहित भित्र पसाइन्छ । यो क्यामराले तपाईको शरिरको आन्तरिक अंगको तस्विर खिच्ने गर्छ । जुन सिधा मोनिटरमा देख्न सकिन्छ । इन्डोस्कोपीको अर्थ शरिर भित्रका अंगको परिक्षण गर्नु हो । शरीरको भित्री अंगमा केही समस्या छ भने त्यसलाई लक्षणको आधारमा पहिचान गरिन्थ्यो । इन्डोस्कोपीको विकास नहुँदा शरिरको भित्री अंगको परिक्षण गर्न सकिदैनथ्यो । तर प्रविधिको विकाससँगै स्वास्थ्य क्षेत्रमा इन्डोस्कोपीको विकास भयो । पातलो फाइबरयुक्त नलीलाई शरिरभित्र प्रवेश गराएर भित्री अंगको परिक्षण गरिन्छ । यो प्रक्रियाको क्रममा कुनै रिपोर्ट कुर्नु पर्दैन । के समस्या हो ? प्रत्यक्ष स्क्रिनमा देख्न सकिन्छ । इन्डोस्कोपीको मद्दतले नलीमात्र नभई शरिरका कुनै पनि भित्री अंगको परिक्षण सजिलोसंग गर्न सकिन्छ ।
४.इन्डोस्कोपी आवश्यकता कस्तो अवस्थामा पर्छ ?
शरिरभित्र कुनै समस्या वा संक्रमण भएमा विभिन्न लक्षण देखिन्छ । डाक्टरले हेरेर समस्या पहिचान गर्न नसक्दा इन्डोस्कोपीको आवश्यक पर्छ । साधारणतया नाकको समस्या वा साइनस, गलाको समस्या, कसैलाई खानेकुरा निल्न समस्या भएमा, बान्ता गर्दा रगत देखिएमा, आन्द्रा सुन्निए वा पीडा हुँदा, कब्जियतबाट ग्रसित हुँदा, पित्तथैलीमा पत्थरी हुँदा, पेटको अल्सर हुँदा, गर्भाशयको जाँचका लागि, दिसा–पिसाबबाट रगत आउँदा गर्भावस्थामा भ्रुण जाँच गर्न, गम्भीर शल्यक्रिया अघि, कानको रोगका लागि इन्डोस्कोपी गर्नुपर्ने आवश्यक पर्छ ।
५. इन्डोस्कोपी कसरी गरिन्छ ?
इन्डोस्कोपी गर्दा निकै सावधानी अपनाइन्छ । शरिरलाई कुनै क्षति नपुगोस् । मुखको बाटोबाट गरिएको इन्डोस्कोपीमा रबर गार्ड लगाइएको हुन्छ । यसलाई इन्डोस्कोपी माउथ गार्ड भनिन्छ । इस्डोस्कोपीले जाँच गर्न ४५ मिनेटदेखि एक घण्टा लाग्छ । इन्डोस्कोपी विधिले शल्यक्रिया गर्ने हो भने यसमा लगभग दुई घण्टा लाग्न सक्छ । थुप्रै पटक शरिरमा नली छिर्दा बिरामीले वान्ता गर्ने र बेहोस हुने गर्छन् । थुप्रै पटक आन्तरिक अंगका लागि डाक्टरले एनस्थिसिया पनि दिन्छन् । नलीमा राखिएको क्यामराले आन्तरिक अंगको तस्बिर सिधा कम्प्युटर स्क्रिनमा देखाउँछ ।
६.इन्डोस्कोपीले स्वास्थ्यमा असर पु¥याउँछ ?
राम्रा चिकित्सकको रेखदेखमा इन्डोस्कोपी गराउनु पर्छ । अस्पतालमा सरसफाईप्रति ध्यान दिइन्छ भने इन्डोस्कोपी निकै सजिलो र सुरक्षित हुन्छ । थुप्रै पटक परिक्षणको क्रममा सामान्य वान्ता, पेट दुख्ने वा रिंगटा लाग्ने गर्दछ । तर पछि ठिक हुन्छ । इन्डोस्कोपी परिक्षणपछि एक–दुई दिन आराम गर्दा ठिक हुन्छ । यो परिक्षण गरे लगत्तै काम गर्नु हुँदैन । साधारणतया इन्डोस्कोपी गरेपछि केही समयसम्म तरल पदार्थको सेवन गर्नुपर्छ ।
७. अन्त्यमा आम सर्वसाधारणलाई के सुझाव दिन चाहनुहुन्छ ?
इन्डोस्कोपी गर्न धेरै मानिसहरु डराउने गर्छन् । यसले कुनै असर गर्दैन । शरीर भित्रको एक्स–रे बाट पत्ता लगाउन नसकेको समस्याहरु इन्डोस्कोपीबाट तुरुन्त पत्ता लगाउन सकिन्छ । सामान्य औषधी गरेर निको हुने समस्याहरु पनि धेरै समयसम्म सही उपचार नपाउँदा बिरामीको स्वास्थ्यमा जटील समस्या आउन सक्छ । समयमा नै जाँच गराई सामान्य उपचारबाट रोग मुक्त हुने कुरामा डराएर नबसौं ।