जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले र विभिन्न वडा अध्यक्षहरूबिच बिहीबार कार्यालयमा विवाद खडा भएको छ । वडा अध्यक्षहरूलाई सुचना नदिकनै कर्मचारीहरूको फाँट सरुवा र जिम्मेवारी हेरफेर गरेपछि विवाद उत्पन्न भएको हो ।
आफुहरु सँग समन्वयनै नगरीकिन कार्यलयको काम मनखुसी गरेको भन्दै वडा नम्बर १५ की वडा अध्यक्ष चयन गुरुङले असन्तुष्टि व्यक्त गरिन् । उनीहरुले पटक पटक अधिकृत काफ्लेलाई जिम्मेवार भई काम गर्न आग्रह गर्दा उल्टै काफ्ले गुरुङलाई नै सरुवा गरिदिने चेतावनी दिएपछि विवाद झनै चर्किएको थियो ।
निरन्तर ६ घण्टाको लामो विवाद चलेपछि हातपातको अवस्था सिर्जना देखे लगत्तै सुरक्षाकर्मीको सहयोगले काफ्ले सो कार्यकक्षबाट बाहिर निस्कनु परेको थियो । काफ्लेले आफु मनखुसीगरी कर्मचारीहरुको सरुवा गरेको वडा अध्यक्षहरुले आरोप लगाएका छन् ।
वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलका अनुसार प्रमुख प्रशासकीय अधिकृत काफ्लेले नगर प्रमुख राजन पौडेलको निर्देशनमा एकलौटी रूपमा काम गर्दै आएकोले समस्या उत्पन्न भएको हो । उनले प्रशासकीय अधिकृतमाथि राजनीतिक प्रतिशोध साध्नका लागि काम गरेको आरोप पनि लगाए ।
जीतपुरसिमरा उपमहानगरपालिकामा पछिल्लो समय विवाद चुलिएको छ । असार महिनामा भएको नगर सभापछि एमाले र काँग्रेसका वडा अध्यक्षहरू प्रमुख प्रशासकीय अधिकृत काफ्लेसँग असन्तुष्ट छन् । नगर सभामा नियमअनुसार प्रक्रिया नअपनाएको भन्दै उपप्रमुख भोला अधिकारीसहित कार्यपालिकाका सदस्यहरूले विरोध गरेपछि विवाद सुरु भएको थियो ।
यसै विवादकै कारण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा गरेको थियो । तर, अदालतले निषेधाज्ञा जारी गरेपछि काफ्लेको सरुवा हाल रोकिएको छ ।
वडा अध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृतबिचको यो विवादले उपमहानगरपालिकामा कार्यसम्पादनमा गम्भीर अवरोध आएको छ ।