दरबन्दी मिलान अनुरुप सरुवा गरिएका शिक्षकहरु तोकिएका विद्यालयमा धमाधम जान लागेको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
गत बुधबार महानगर र महानगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुबिच भएको बैठकमा छलफल भएलगत्तै सरुवा गरिएका शिक्षकहरु तोकिएको विद्यालयमा जान लागेका हुन् ।
धेरैजसो शिक्षकले पत्र बझि हाजिर हुन गईसकेको र बाँकी शिक्षकहरुपनि जाने प्रकृयामा रहेको महानगरले जनाएको छ । बुधबार बसेको छलफलमा महानगरका मेयर राजेशमान सिंहले शिक्षकहरु आफूहरुकै परिवारको सदस्य रहेको भन्दै कुनैपनि समस्या भए सडकमा नगई सिधै महानगरमा आई छलफलमार्फत समस्या हल गरिने उनले तर्क दिए । उनले भने, “हामीहरु एकअर्काको पुरक भई अघि बढ्नुपर्छ । एउटै परिवार भएकाले कुनै समस्या भए घरभित्रै त्यो समस्याको निचोड निकालेर अघि बढ्नुपर्छ, सडकमा होहल्ला गर्दे निस्कनु शोभनीय होइन । ”
हालै भएको दरबन्दी मिलान विद्यार्थीहरुकै हितका लागि गरिएकोले तोकिएको विद्यालयमा गई पठन पाठनलाई सघाउन सबै शिक्षकहरुलाई उनले आग्रह गरेका छन् । शिक्षाको गुणस्तर वृद्धिमा शिक्षकहरुको अहम भुमिका भएको हुनाले आफुले शिक्षकहरुको मर्कालाई सम्बोधन गर्दे अघि बढ्न सधै तत्पर तयार रहेको उनले जिकिर गरे ।
महानगरका उपमेयर इम्तियाज आलमले स्थानीय सरकारको निर्देशन पालना गर्नु सबै शिक्षक कर्मचारीको दायित्व रहेको बताए । यदि महाशाखाका कर्मचारीले काम गर्न जटिलता उत्पन्न गराएको भए तत्काल आफुहरुलाई जानकारी दिन उनले आग्रह गरे । त्यस्तै महाशाखाको कर्मचारीहरुले गल्ती गरेको भए आफूहरुले आफ्नो कर्मचारीहरुलाई नियमअनुसार कारवाही गर्ने शिक्षकहरुलाई प्रतिबद्धता ब्यक्त गरे ।
छलफलमा प्रधानाध्यापकहरुले आफूहरुले दरबन्दी मिलान र सरुवाको विरोध नगरेको बताएका थिए । केही शिक्षकहरुलाई अप्ठ्यारो परेका विषयमा मात्रै आफूहरुको असहमति रहे पनि दरबन्दी मिलानको विरोधमा आफूहरु नरहेको नेपाल शिक्षक संघका महानगर अध्यक्ष प्रदीप जयसवालको भनाइ थियो ।
उनले भनेका थिए ‘शिक्षकहरुलाई परेको पीर मर्का र अप्ठ्यारा सुनिदिन पर्यो, सम्बोधन गरिदिन पर्यो, अरु कुरामा हाम्रो कुनै विमति छैन, हामीलाई जहाँ पठाए पनि जान तयार छौँ, बालबालिकालाई पढाउन तयार छौँ ।’
यस्तै प्रधानाध्यापक दयाकान्त झाले महानगरले गरेको दरबन्दी मिलानका बारेमा राम्रो सँग नबुझेको भन्दै बुझाउन आग्रह गरेका थिए । दिनेश चौरसियाले विद्यालयको भौतिक अवस्था सुधार गर्नु पर्ने अवस्थामा रहेको भन्दै त्यतातर्फ ध्यान दिन पनि आग्रह गरे।
छलफलमा शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले दरबन्दी मिलानका विषयमा उठेका जिज्ञासाको जवाफ दिँदै महानगरको सोच, नगर शिक्षा समितिको निर्णय, विद्यार्थी संख्या, आवश्यकता, चार वटा अंग्रेजी माध्यमका माद्यमिक विद्यालय लगायतलाई ध्यान दिँदै दरबन्दी मिलानलाई अन्तिम रुप दिइएको बताएका थिए ।दरबन्दी मिलान कार्यलाई पारदर्शी बनाउन शिक्षकहरुको प्रतिनिधी, संघसंगठनका प्रतिनिधी र विज्ञलाई राखेर गरिएकाले कोही पनि शंकाउपशंकामा रहनु पर्ने अवस्था नरहेको उनको भनाइ थियो । यो आर्थिक वर्षबाट शिक्षकहरुको तलब भत्ता उनीहरुकै बैंक खातामा महानगरबाट सोझै पठाउने गरि कार्य सुरु भएकाले त्यही अनुरुप तोकिएको ठाउँमा गएर तलबी खाता खोल्ने प्रकृयामा लाग्न सबै शिक्षकहरुलाई आग्रह पनि उनले गरेका थिए ।
छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समितिका पदाधिकारी, दरबन्दी मिलान कार्यदलका सदस्य, महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।