विश्वमा बढ्दो मानवीय गतिविधिका कारण वातावरणीय सन्तुलनका लागि अति आवश्यक वन, जंगल र प्राकृतिक सम्पदाको अत्यधिक विनास तथा दोहन, बढ्दो सहरीकरण, निर्माण कार्य, उद्योग, कलकारखान, यातायातका साधन आदिबाट उत्पन्न धूवाँ, धूलो लगायत बिषालु ग्याँसहरुले बढाएको प्रदूषणका कारण बर्षेनी पृथ्वीको तापक्रम अकल्पनीय रुपले वृद्धि भै रहेको छ । जसको कारण हिमालय पर्वत शृंखलामा बाह्रै महिना जमेर रहने बाक्लो हिउँ हिजो आज पातलो हुँदै गएको देखिन्छ । यसका साथै प्रत्येक बर्ष नियमित रुपमा मौसम चक्र परिवर्तन हुनको सट्टा कुनै बर्ष अनावृष्टि, कुनै बर्ष खण्डवृष्टि र कुनै बर्ष अतिवृष्टि जस्ता समस्याहरु मानिसहरुले भोग्नु परेको छ । प्रकृतिको यस्तो अनपेक्षित जलबायु परिवर्तन र मौसममा आउने हेरफेरले बिगत केही बर्षदेखि हाम्रो देशमा पनि मानिसहरुको जनजीवन कष्ठकर हुँदै आएको छ । यसको सबै भन्दा ठुलो मर्का सहरी तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीव र सर्वसाधारण मानिसहरुलाई परेको छ । किनकि, घर नजीकका पानीका श्रोतहरु सुक्दै जानुका कारण खानेपानी तथा सिंचाईका लागि आवश्यक पानी अभावमा कृषि पैदावार घट्नु, खाने तथा दैनिक उपभोग्य पानीका लागि टाडा टाडासम्म जानु पर्ने भएकोले पानीको खोजीमा उनीहरुको धेरै समय नष्ट हुन्छ ।
पानीको अपर्याप्तता तथा अभावका कारण दैनिक जीवन यापनमा दिनानुदिन कठिनाई बढ्दै गएको छ । दैनिक उपभोगका लागि पर्याप्त पानीको अभावमा शारीरिक तथा घरायसी सरसफाई राम्रोसंग हुन नसक्दा शरीरमा घाउ खटिरा आउने र खोला, खोल्सा र पोखरीको प्रदूषित पानीको प्रयोग गर्नु पर्दा पानी जन्य रोगहरुको कारण धेरै जनधनको नोक्सान समेत भै रहेको छ । विद्यालय जानु पर्ने बालबालिकाहरु परिवारको लागि पानीको खोजीमा धेरै समय ब्यतित गर्नु पर्दा उनीहरुको पढाईमा बाधा परिरहेको छ । परिवारका वयस्क सदस्यहरुले पनि पानी संकलनका लागि धेरै समय खर्चिनु पर्दा अन्य उत्पादनशील काममा धेरै समय दिन पाउंदैनन् । खेतबारीमा सिंचाईका लागि पानीको अभावमा तरकारी तथा कृषि उत्पादकत्व घट्दै गएको छ । जसले गर्दा पारिवारिक आम्दामीमा समेत यसले नकारात्मक असर परिरहेको छ । यूवाहरु बर्षेनी घर परिवार चलाउन विदेशिने संख्या वृद्धि भै रहेको छ । यो समस्या हाम्रो तराईका गाउँ सहरहरुमा भयावह रुपमा देखिन थालेको छ । पानीका नल (चापाकल) हरु सुकेका छन् । ईनारहरु गहिरिदै गएका छन् । धेरै किसानका खेतबारी बाँझा छन् । समग्रम भन्नु पर्दा तराईमा जमिन मुनीको पानीको तह (लेवल) झनै तल तल हुँदै गएको छ । त्यसैले अव स्थानीय स्तरमा उपलब्ध पानीका श्रोत संरक्षण तथा ब्यबस्थापन गर्नु पर्ने पहिलो कर्तब्य नागरिक स्तरबाटै हुन आवस्यक छ । जसका लागि स्थानीय सरकार र स्थानीय गैर सरकारी सामाजिक संस्थाहरुले आवश्यक सहयोग गर्नु पर्ने हुन्छ ।
हाम्रो घर आँगनमा प्रत्येक बर्ष बर्षा मौसममा आकासबाट छाना र जमिनमा खसेको पानी प्राय त्यसै बगेर नाली, ढल, कुलो हुँदै खोल्सा र खोला तिर बगेर जान्छ । तर यसरी बिना पैसा प्राप्त हुने बर्षाको पानीलाई हाम्रो दैनिक जीवनमा सदुपयोग गर्न सकिने रहेछ भन्ने कुराको उदाहरण भारतका बिभिन्न जिल्लाका सुक्खा क्षेत्रमा देख्न पाइने रहेछ । यस सन्दर्भमा मैले दुई दशक अघि भारतको उत्तर प्रदेश र उत्तरान्चलमा ‘पानीको श्रोत संरक्षण र ब्यबस्थापन’ का लागि गरिएका उदाहरणीय कार्यहरु देख्ने मौका पाएको थिएँ । ती कामहरु मध्ये ‘बर्षाको पानीको संकलन, भण्डारण र सदुपयोग सम्बन्धी’ गरिएका असल अभ्यासका केहि उदाहरणहरु यस लेख मार्फत प्रस्तुत गरेको छु ।
त्यसै समयमा बिना मूल्य सित्तैमा पाईने बर्षाको पानी हामीले घरायसी काममा खासैमा प्रयोग गर्दैनौं । बर्षाको पानीलाई हामीले मोटामोटी दुई तरिकाले संकलन गरेर तीन कामका लागि प्रयोग गर्न सकिने रहेछ । पहिलो काम घरायसी प्रयोजनमा प्रयोग गर्ने, दोश्रो काम करेंसाबारी, तथा खेतबारीमा सिंचाईका लागि प्रयोग गर्ने र तेश्रो काम भूमीगत पानीलाई पुनर्जीवित गर्ने ।
घरायसी काममा प्रयोग गर्नका लागि पानी संकलनको तरिकाः
घरायसी काममा प्रयोग गरिने पानी घर, टहरा, आदिको छानाबाट खस्ने पानीलाई भूईमा खस्न नदिई डुंड या पाईपमा थापेर ठुलो ट्यांकीमा भण्डारण गरिने रहेछ । यसरी भण्डारण गरिएको पानीलाई छाने पछि निर्मलीकरण गरेर अर्को सफा ट्यांकीमा राखेर आवस्यकता अनुसार दैनिक खान पकाउने, भाँडा वर्तन अफा गर्ने, कपडा धुने, नुहाउने, सौचालयमा प्रयोग गर्ने कार्यमा प्रयोग गर्न सकिने रहेछ ।
करेसाबारी तथा खेतबारीमा सिंचाईका लागि प्रयोग गर्नेः
सिंचाईका लागि प्रयोग गरिने पानी संकलनका लागि आकासबाट झरेर नाली, ढल हुँदै खोल्सा खोला तिर बगेर जाने पानीलाई संकलन गरेर सदुपयोग गर्न सकिने रहेछ । यसका लागि व्यक्तिगत या सामुहिक रुपबाट पनि किसानहरुले गर्न सक्ने रहेछन । यदी आफुसंग पर्याप्त खेतबारी छ भने पानी बग्ने स्थान भन्दा तल तर खेतबारीको सिरानमा पोखरी निर्माण गर्न सकियो भने सिंचाईका लागि सहज हुन्छ, बिना मेसिन पाईप द्वारा सोझै खेतबारीमा सिंचाई गर्न सकिन्छ । तर अलिक गहिरो स्थानबाट पानी बगेको छ भने खेत बारीको गहिरो स्थानमा पानी संकलनका लागि पोखरी खन्न सकिन्छ । गहिरो स्थानमा खनिएको पोखरीबाट उच्चा स्थानमा रहेको खेतबारीमा सिंचाई गर्न भने मेसिन या बाल्टिनमा बोकेर सिंचाई गर्नु पर्ने हुन्छ । संकलित पानी जमिनले सोसेर खेर नजाओस भनेर पोखरीको पिंध (जमिन तिरको भाग) मा प्लास्टिक ओछ्याउनु पर्ने रहेछ । जव बर्षा सुरु हुन्छ, किसानले उचो स्थानबाट बाटोमा बगेर आएको पानीलाई डोहोर्याएर उक्त पोखरीमा संकलन गर्नु पर्छ । सुख्खा याममा उक्त पानीलाई करेसाबारी तथा खेतबारीमा सिंचाईका लागि मजाले प्रयोग गर्न सकिने रहेछ । किसानहरुले सार्वजनिक स्थानमा सिंचाईका लागि ठुलो क्षमताको जलभण्डारका लागि सामुहिक पोखरी खन्न पनि सकिने रहेछ । यस्तो सामुहिक पोखरीबाट किसानहरुले सुख्खा याममा मिलीजुली आफ्नो खेतबारीमा सिंचाई गर्ने, पाल्तु जनावरलाई पानी ख्वाउन आदि काममा प्रयोग गर्न सक्ने रहेछन् । पोखरीका डीलमा केरा, छिटै उम्रिने ढोडे (नेपियर) जस्ता घाँसहरुका बोट लगाउनाले हरियाली बढ्न जाने र वरिपरिको वातावरणमा समेत सितल दिने हुन्छ । केराबाट फल तथा नेपियरबाट सुख्खा याममा पाल्तु जनावरलाई पोसिलो घाँस ख्वाउन पनि सकिन्छ ।
भूमीगत पानीलाई पुनर्जीवित गर्नेः
हाम्रा चापाकल सुक्नु , ईनारको पानीको सतह गहिरिएर जानु/सुक्नु आदिको प्रमुख कारण बर्षाको पानी जमिनले सोसेर लिन नपाउनु पनि एक हो । जमिन मुनी पानीको सतह बन्नका लागि बर्षाको पानी जमिन भित्र छिरेर जानु पर्छ । हिजो आज हामीले बाटो, सडक, घर, इनार, चापाकल वरिपरीको भूईलाई टायल, मार्वल, सिमेन्ट, अलकत्र आदिले लिपेर पानी छिर्ने छिद्रहरु नै टालिदिएका हुन्छौं । जमिनको सतह टालिए पछि जमिन मुनीको पानीको भण्डार निरन्तर दोहन हुँदा सकिँदै जान्छ । पानी सकिदै जाँदा हाम्रा चापाकल र इनारहरु सुक्दै जान्छन । त्यसैले जमिन मुनीको प्राकृतिक पानीको भण्डारलाई पुनर्जीवित (च्भअजबचनभ) गर्न जमिन मुनी पानी पठाउने कार्य गर्नु पर्दछ । यसका लागि इनार, चापाकलका वरिपरी सिमेन्ट प्लास्टर गर्नुको सट्टा ससाना ढुंगाका गिट्टी, बालुवा आदि बिच्याउनु पर्दछ । जसले गर्दा त्यहाँ पोकिएको पानी जमिनमा सोसिएर जान्छ र पानीको सतहलाई सुक्नबाट बचाउँछ । त्यसरी नै इनार, चापाकल भएका केही दुरीमा पानी जम्मा हुने ससाना पोखरी, खाल्डा बनाइदिनाले पनि त्यहाँ जम्मा भएको पानी रसाएर जमिन मुनी पुग्छ अनि जमिन रसिलो भै रह्यो भने इनार, चापाकल सुक्नबाट बचाउन सकिन्छ ।