भारत–बंगलादेशको टेस्ट सिरिजको पहिलो खेलमा भारतले बंगलादेशलाई २८० रनले पराजित गरेको छ । यो जितसँगै दुई खेलको सिरिजमा भारत १–० को अग्रता कायम गरेको छ । दोस्रो टेस्ट शुक्रबारदेखि कानपुरको मैदानमा खेलिने छ ।
५१५ रनको लक्ष्य पछ्याएको बंगलादेश २३४ रनमा अल आउट भयो । बंगलादेशले चौथो दिन १९४–४ को अवस्थाबाट दोस्रो इनिङलाई निरन्तरता दिएको थियो । ४० रन जोड्न ६ विकेट गुमाउँदै फराकिलो अन्तरले हार बेर्होन पुग्यो ।
बंगलादेशका कप्तान नाज्मुल हसन सान्टोले १२७ बलमा ८ चौका र ३ छक्कासहित ८२, शादमान इस्लाम ३५, जकिर हसन ३३ र सकिब अल हसन २५ रन बनाए । भारतका लागि रवीचन्द्रन आश्विनले ६, रविन्द्र जडेजाले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।
भारतले दोस्रो इनिङ २८७–४ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । शुभमन गिलले १७६ बलमा १० चौका र ४ छक्कासहित ११९ रनको अविजित इनिङ खेले । ऋषभ पन्तले १२८ बलमा १३ चौका र ४ छक्कासहित १०९ रनमा आउट भए ।
यशस्वी जैसवाल १०, रोहित शर्मा ५ र विराट कोहली १७ रनमा आउट भए । बंगलादेशका मेहेदी हसन मिराजले २ र तस्किन अहमद र नहिद रानाले १–१ विकेट लिए ।
बंगलादेश पहिलो इनिङमा १४९ रनमा अल आउट हुँदै २२७ रनले पछि परेको थियो । बंगलादेशका सकिबले सर्वाधिक ३२ रन जोडे । भारतका जस्प्रित बुमराह ४, मोहम्मद शिराज, आकाश दीप र रवीन्द्र जडेजाले २–२ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा ३७६ रनमा अलआउट भएको थियो । रवीचन्द्रन आश्विनले ११३ र रवीन्द्र जडेजाले ८६ रनको इनिङ खेले । बंगलादेशका हसन मोहम्मद ५ र तस्किन अहमदले ३ विकेट लिए ।