वीरगन्ज । अन्जना देवी श्रीवास्तव लरकोरी भए पनि बिहान तीनै बजे उठ्छिन् । उनको यो रहर नभई वाध्यता हो । समाजमा लरकोरी (सुत्केरी) महिला भन्नासाथ उचित खानपान र आराम अनि स्याहार सुसारको कुरा स्वभाविक रुपमा उठ्छ । तर वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी अन्जना देवीलाई भने खानेपानीको समस्याले सुत्केरी छु भनेर बस्ने चयन छैन । आराम र स्याहार सुसार त के पानीको समस्याले उनको निन्द्रा समेत हराएको छ । तीनदशक कट्न लागेकी उनलाई पानीको यस्तो समस्या कहिले थाहा थिएन ।
‘तराई मधेशका बुहारी प्रायः जतिसुकै वेला घर बाहिर निस्कन मिल्दैन । घरका मूली नभएका समयमा घरमा पानी सकियो वा तिर्खा लाग्यो भने त्यो सयममा साहै्र विजोक हुन्छ’ उनले दुःखेसो गरिन् । सुत्केरी आमाहरुले बच्चाको दिसा–पिसाब र आफ्ना पनि धेरै कपडा तथा सरसफाई बढि गर्नु पर्छ । तर १० दिन १५ दिनमा बल्ल लुगाफाटो धुने बाध्यकारी अवस्था छ उनले गुनासो गरिन् । ‘यो सबै समस्याको जड घरमा भएको चापाकल सुक्ने समस्याले हो’ । अलि सम्पन्न र धनीमानीले त डिप बोरिङ गरेर आफ्नो काम चलाइरहेका छन् । तर डिप बोरिङका लागि उचित ठाउँ र करिब ४ लाखसम्म खर्चको जोहो गरी वैकल्पिक व्यवस्था सर्वसाधारणका लागि सकसपूर्ण छ ।
वीरगन्ज १६ कै अर्की महिला मोविना खातुनले पनि अन्जना देवीको झैं पूरा टोलमा नै पानीको समस्या हुँदा दैनिकीमा समस्या भएको बताइन् । मुखिया (वडाध्यक्ष) लाई यो समस्या बताउँदा घरमा धारा छैन ? भनी उल्टै प्रश्न गर्छन् । घरको धारा सुकेको उनलाई थाहा नभएर होइन । अलिपर अर्को टोलमा डिप बोरिङ गाडिसकेकोले त्यही धारामा सबैले काम चलाउनु भन्ने उनको भनाई छ मोविनाले बताइन् । मोटो पाइपबाट पानी आउने धारा (डिप बोरिङ) को लागि एक हजार रुपैया लाग्छ भनी जनप्रतिनिधिले उल्टै पैसा माग्छन् । साह्रै समस्या भइसक्यो मोविनाले पनि दुखेसो गरिन् ।
उता पर्साकै ग्रामिण क्षेत्र समेटिएको बहुदरमाई नगरपालिका वडा नम्बर ७ भौराटार की ६२ वर्षिया कान्ति देवी पनि कलको पानी निकाल्ने बाँसको हेण्डिल प्रयोग गर्दै भन्छिन् ‘साह्रै जटिल समस्या भोग्न परेको छ’ । यो उमेरसम्म आइपुग्दा यस्तो समस्या पहिले भोग्न नपरेको उनको पनि तर्क छ । स्थानीय सरकार र ठूलाबडाहरु जमिनमुनि नै पानीको सतह घटेकोले यस्तो समस्या आएको बताउँछन् । ‘हामी महिलालाई के थाहा ? यो कसरी भयो’ ? उनले तर्क गरिन् । चोकको एउटा धारामा मात्र अहिले पानी आइरहेको छ । गाउँका सबै मानिस त्यहाँ जम्मा भई पालो पर्खेर बल्ल–बल्ल पानी ल्याई काम चलाउँदै छौं कान्ति देवीले भनिन् ।
साविक र अहिलेको अवस्था
पहिले मधेश तराईमा नदी, पोखरी र ईनारबाट पानीको पूर्ति हुन्थ्यो । आधुनिकतासँगै मानवीय अदूरदर्शीताले साविकका श्रोत नासिदै र मासिदै गए । चापाकलको आगमन ह्वात्तै बढ्यो । गएका ६/७ दशकदेखि मात्र चापाकलको आगमन भएको वीरगन्ज महानगरपालिका वातावरण महाशाखाका प्रमुख राकेश कुमार साहले बताए । (८५) बर्षीय ज्येष्ठ नागरिक पशुपति बिक्रम शाहले पनि मधेशमा खानेमात्र होइन, अन्य दैनिक खपत र उद्योग कलकारखानालाई चाहिने पानी पूर्ति समेत पछिल्ला समयमा भूमिगत पानीबाट भएको दावी गरे । खेतीपातीका लागि नहर कुलोबाट सिंचाई नगरी भूमिगत पानीको श्रोत माथि भर पर्दा अत्याधिक पानीको खपतले पानीको लेयर स्वभाविक रुपमा घटेको वातावरण महाशाखाका प्रमुख साहको तर्क छ । जमिनमुनि पानीको सतह घट्दै जाँदा पानी आपूर्तिमा समस्या बढेको उनले बताए ।
तथ्याँक अनुसार वीरगन्ज महानगरमा डिप बोरिङ्गको संख्या :
वीरगन्ज महानगरपालिका पर्साको सदरमुकाम र जनघनत्व पनि बढि भएको पालिका हो । यो पालिकामा चापाकल पनि बढि सुकेका छन् । यसको विकल्पमा खानेपानी संस्थानबाट सरकारी धाराको पानी प्रयोगसँगै डिप बोरिङ्ग गरी सर्वसाधारणलाई पानीको आपूर्ति गरिएको छ । पानीको आपूर्तिका लागि कुन वडामा कति डिप बोरिङ्ग गरिएको छ ?
प्रस्तुत नक्सामा वीरगन्ज महानगरपालिकाका ३२ वटा वडामध्ये सबैभन्दा बढि वडा नम्बर १६ मा २२ वटा डिप बोरिङ्ग गरिएको भेटिएको छ । वडा नम्बर १२, १७, १८, १९, २०, २१, २९, ३०, ३१ र ३२ मा भने एउटा पनि डिप बोरिङ्ग गरिएको भेटिएन । चापाकल बढि सुकेका वडामा डिप बोरिङ्गसँगै खानेपानीको सरकारी धारा पनि बढि जडान भएको पाइएको छ ।
चापाकल प्रयोग गर्ने पर्साको घरधुरी संख्या
पर्सामा हातेपम्प (चापाकल) प्रयोग गर्ने घरधुरी संख्या कुल ७७ हजार ३ सय ९२ रहेको छ । जसमा सबैभन्दा बढि वीरगन्ज महानगरपालिकामा ३१ हजार १ सय ४१ र सबैभन्दा कम ठोरी गाउँपालिकामा जम्मा ८ सय ७१ घरधुरीले चापाकल प्रयोग गर्ने गरेको जनगणना २०७८ को तथ्याँकले देखाएको छ ।
सो तथ्याँक अनुसार पर्साको जिराभवानी गाउँपालिकामा ३ हजार ७ सय ६०, जगरनाथपुर गा.पा.मा ४ हजार ३ सय ७१, पटेर्वा सुगौली गाउँपालिकामा २ हजार ८ सय ६, सखुवाप्रसौनी गाउँपालिमामा ४ हजार २ सय ४४ घरधुरीले चापाकल प्रयोग गर्ने गरेका छन् । त्यसैगरी बहुदरमाई नगरपालिकामा ५ हजार २ सय ६, पोखरिया नगरपालिकामा ४ हजार ६ सय ४८, कालिकामाई गाउँपालिकामा, २ हजार ७ सय २५, धोविनी गाउँपालिकामा २ हजार ७ सय ५० घरधुरीले चापाकल प्रयोग गर्ने गरेका छन् ।
पर्साका १४ पालिकामध्ये छिपहरमाई गाउँपालिकामा ३ हजार १ सय ३३, पकाहामैनपुर गाउँपालिकामा २ हजार ९ सय ७, विन्दवासिनी गाउँपालिकामा ३ हजार ४ सय ५२ र पर्सागढी नगरपालिकामा पनि ५ हजार ३ सय ७७ घरधुरीले चापाकल प्रयोग गर्ने गरेको तथ्याँकले पुष्टि गरेको छ ।
मधेश प्रदेशको पर्साका १४ पालिकामध्ये चापाकल (हातेपम्प) बाट पानी प्रयोग गर्ने धरधुरी संख्या मध्ये अरु पालिकाभन्दा बढि जनघनत्व भएको वीरगन्ज महानगरपालिकामा नै सबैभन्दा बढि २७ हजार ४ सय ९० चापाकल प्रयोग गर्ने घरधुरी संख्या रहेको देखिन्छ ।
२०६८ को तुलनामा २०७८ को जनगणना अनुसार चापाकल प्रयोग गर्ने महानगर भित्रको घरघुरी संख्या ४ हजार ६ सय ५१ ले कमि देखिन्छ । यो भनेको चापाकलको भर नहुने निष्कर्ष सहित खानेपानी संस्थानकै धारा प्रयोग गर्ने घरधुरी संख्या पनि बढ्न थालेको हो ।
विनाशको सिलसिला सुरुवात
नेपालको कुल क्षेत्रफलको १३ प्रतिशत भूभाग चुरे क्षेत्रले समेटेको छ । यो क्षेत्रले आसपास र खास गरी तराईको जनजीविकासँग महत्व राख्दछ । मध्यपहाडी क्षेत्र र तराईको पूर्व इलामदेखि कञ्चनपुरसम्मका ३६ जिल्ला चुरेसँग अझ सरोकार राख्दछन् । जैविक र प्राकृतिक स्रोतको जथाभावी दोहन र सम्भावित संकट समाधानका निम्ति उच्चस्तरीय अधिकार सम्पन्न समिति गठन भएर पनि यो क्षेत्रको विनाशको श्रृंखला कम भएको देखिदैन ।
सन् १९५० को दशकमा सुरू भएको औलो उन्मुलन र करिब ७ दशक यता झन तराई क्षेत्रको वस्ती विस्तारको क्रम बढेको छ । बितेको करिब डेढ दशकमा चुरेको अनियन्त्रित उत्खनन् र विदेश निकासीले यसको अस्तित्व धरापमा परेको विभिन्न प्रतिवेदनहरुले पनि देखाएको छ । यसमा स्थानीय निकाय र वन कार्यालयले आ–आफ्ना क्षेत्राधिकारमा ढुंगा, बालुवा, गिट्टीको संकलन र निकासी मापदण्ड विपरित गएको भावर क्षेत्रका स्थानीयको आरोप समेत छ । सात दशकको अन्तरालमा करिश ७ सयको हाराहारीमा चुरे आसपासमा क्रसर उद्योगहरु खुलेको उनीहरुले दावी गरे । अहिलेको संकटलाई त्यतिबेलै रोक्ने प्रयास गरेको भए यति चाडो यो समस्याले नसताउने उनीहरुको तर्क छ । चुरेको विनाशमा व्यवसायी, स्थानीय निकाय, वन कार्यालय र राजश्व निकायका विभिन्न संयन्त्र जिम्मेवार रहेको विगत दुई दशकदेखि प्राकृतिक संरक्षणमा निरन्तर लागि परेको प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले आरोप लगाए । प्रकृतिले हामीलाई निःशुल्क पानी दिएको छ । तर अति प्रयोगले मानिस नै पीडित हुन परेको उनी दावी गर्छन् ।
चापाकलको पानी सुक्ने कारण विज्ञ के भन्छन् ?
चुरेको बढ्दो दोहन, बोटबिरुवाको विनाश, खेतीपाती गर्ने फरक तरिका, अदूरदर्शी भूमिगत जलसिंचाई कार्यक्रम, राज्य तथा आम मानिसलाई पानीको दीर्घकालिन समस्याको ज्ञान नहुनु जस्ता कारण चापाकल सुक्ने प्रमुख पक्ष रहेको भूगर्भविद् कविराज पौडेल बताए । जलवायु परिवर्तन र पानी प्रयोगको अदूरदर्शी तरिका रोक्न नसके आगामी दिन झन भयावह हुने उनले बताए ।
‘भूमिगत पानी भण्डारणमा पनि चक्र हुन्छ, चुरेको पानी तराई पुग्न समय लाग्छ’ । पानी झिक्नेले रिचार्ज तिर सोचेकै छैनौं’ अर्का भूगर्भविद् श्रीकमल दवाडीले पनि बताए । जमिनमुनिको पानी जति झिके पनि हुन्छ ? भन्ने सोचले यो समस्या निम्त्याएको छ । भौतिक संरचना बनाउँदा पनि सतहमा पानी नछिर्ने गरी काम गर्नु महान् काम ठान्यौं । तर नेपाल भौगर्भिक समाजद्वारा सन् २०१८ मा प्रकाशित ‘नेपालको चुरे तथा भावर क्षेत्रमा पानीको स्रोत व्यवस्थापन’ अध्ययन प्रतिवेदनले यो कार्य पनि ठिक नभएको तथ्य प्रस्तुत गरेको छ ।
सबैभन्दा मुख्य समस्या चुरेको विनाश हुँदा तराईमा पानी सङ्कट देखिएको चुरेका अर्का विज्ञ विजय सिंहले दावी गरे । मानवीय सोच राम्रो छैन । बालुवा गिटी उत्खनन् गर्ने बहानामा ‘खोलामा जहाँसम्म राम्रो गिट्टी–बालुवा पाइन्छ, त्यहाँसम्म खोतल्ने गरेको भेटिन्छ । चुरेको हरेक ठाउँ खोतल्दा पानी रिचार्ज हुन नपाई बहावलाई असर पार्छ । वातावरण परिवर्तन हुनाले कुनै स्थानमा कम पानी पार्ने र कुनै स्थानमा बढी पानी पार्ने हुँदा कतै बाढी त कतै सुख्खा हुन पुगेको छ । यसले पनि पानी रिचार्ज हुन सकेन उनले तर्क गरे ।
पछिल्लो सयम वार्षिक रूपमा भूमिगत जलसतहमा २.५ देखि ३ मिटरसम्म मात्र पानी पुग्ने भूमिगत जलविज्ञ नीर शाक्यले बताए । ‘डिप ट्यूबवेल र चापाकलमा पानी आउने सतह फरक हुन्छ’ । ‘पछिल्लो समय माथिल्लो एक्युफायरमा पुनर्भरण कम भयो । त्यसैले माथिको तहबाट आउने चापाकलको पानी सुक्ने समस्या पनि रह्यो । बर्षात्को पानी आउन थालेपछि त पुनः समस्या कम भयो नि, कारण त्यही हो’ जलविज्ञ शाक्यले भने ।
चुरेको पानी रिचार्जमा कमी भएकोले तराईको चापाकल सुकेको केही हदसम्म सत्य हो राष्ट्रपति चुरे, तराई–मधेश संरक्षण विकास समिति सदस्य डा. सुस्मिता ढकालले बताइन् । तराईमा पहिले घरका संख्या कम थिए, बनेका घरहरु पनि माटोका, काठका थिए । त्यसमा पनि वरिपरी बगैंचा र खाली जमिन छाडिएका हुन्थे । तर आजभोलीका संरचना परेको पानी पहिले झैं सीधा जमिनमा चार्ज हुन नपाउने खालका छन् । चुरेको ७० प्रतिशत माथिल्लो भागमा वनजंगल पातलिएको छ । चुरे डाडाँको फेदको भाबर अर्थात् पानीको रिचार्ज जोन नासिनु र तराईका सिमसार क्षेत्र मासिनु, तराईमा पानीको समस्या देखा पर्नुका अरु कारण हुन् उनले भनिन् । दीर्घकालिन समाधान खोज्ने काममा समिति लागिरहेको उनको दावी छ ।
सानो खालको पानी लामो समय परिरहदाँ भने भूमिगत जलस्रोतमा टेवा पुग्ने मौषम विज्ञ सुदर्शन हुमागाईंले बताए । वर्षात्को पानी एकैपटक ठूलो परे त्यो तुरुन्तै बगेर जाने हुँदा जमिनले कम सोस्न पाउँछ । मनसुनी सिजनको पानीले वर्षभरि पर्ने पानीको ८० प्रतिशत भाग समेट्छ । मनसुन राम्रो हुने बित्तिकै वर्षभरि पर्ने पानीको सन्तुलन पनि मिल्छ उनले बताए ।
सरकारी धारा जडान गर्न चाप बढ्दै
चापाकलको पानी सित्तैमा उपयोग गर्दै रहेका सर्वसाधारण खानेपानी संस्थानले पाइपलाइनमा बाँड्ने सःशुल्क पानीमा पहिले खासै आकर्षण थिएन । तर अहिले चापाकलमा पानी सुक्न थालेपछि विकल्प खोज्दै खानेपानीको धारा माग्दै संस्थानको वीरगन्जस्थित कार्यालयमा बढि पुग्न थालेका छन् । दैनिक १०० भन्दा बढी निवेदन पर्न थालेको कार्यालय प्रमुख मन्दिप श्रेष्ठले बताए । अहिलेसम्म १० हजारभन्दा बढी धारा जडान गरिसकिएको उनको तर्क छ । खानेपानी संस्थानसँग जम्माजम्मी २० हजार धारा जडान गर्ने क्षमता छ खानेपानी संस्थान वीरगन्ज वितरण केन्द्रका ईन्जिनियर संजीव यादवले भने ।
नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादव र वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह जनतालाई स्वच्छ पिउने पानीको पहुँच पु¥याउन, सहरी क्षेत्रमा जल आपूर्ति व्यवस्थापन सुधार गर्न र जल संरक्षणका लागि दीर्घकालीन गुरु योजना तयार पारेर लक्ष्य अनुसार काम अगाडी बढाउने दावी गर्छन् । चापाकल किन सुके भन्ने बिषयमा खोज अनुसन्धान गरी त्यो समस्याको दिर्घकालीन समाधान गर्न विज्ञ टोलीसंग छलफल गरी समाधान खोजिने उनीहरुको भनाइ छ ।
वीरगन्जमा लामो समय पत्रकारिता गरेका वरिष्ठ पत्रकार जगदीश शर्मा पनि भू–बनोटको बारेमा अध्ययन गरी समस्या समाधानमा ठोस काम गर्न ढिलो गर्न नहुने सुझाव दिन्छन् । राज्यले नै ठोस रुपमा कदम नचाले समस्याको समाधान ननिस्कने अर्का पत्रकार चन्द्रकिशोर झाले पनि बताए । अहिलेको काम गराई ‘अन्धोले हात्तीलाई छामे जस्तो’ मात्र भयो उनले भने ।
समाधानका उपायहरु
जमिनले वर्षाको पानी पर्याप्त मात्रामा पुनर्भरण गर्ने तरिकाले काम नगरे अहिलेका पुस्ताले राम्रो काम नगरेको पुष्टि हुन्छ । यो दोषबाट वर्तमान पुस्ता बच्नु पर्ने अवस्था छ । वर्षाको पानीलाई घैंटो वा ट्यांकमा सङ्कलन गरी घरायसी काममा लगाउने, भण्डारण गर्ने पोखरी बनाई लामो समय जोहो गर्ने, जस्ता विकल्प पनि सुरु गर्न सकिन्छ । पानीका स्रोत व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीर्न ठोस योजना अहिलेको आवश्यकता हो । समग्र तराई–मधेशको जलस्रोतको चक्रीय प्रणालीलाई सघाउ पुग्ने गरी काम गर्न अपरिहार्य भइसकेको वर्तमानले देखाएको छ ।
पानीको जोहो कसरी गरिदै छ ? हेर्नुहोस् भिडियोमा :
(यो सामग्री इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा "मिडिया फर इनक्लुसिभ ग्रीन ग्रोथ" परियोजना मार्फत उत्पादन गरिएको हो । )