राजनीतिक अवस्था बदल्यौं भनेर सत्ताको ढुकुटीमा रजगज गर्नेहरुले ल्याएको थीतिले सीमावर्ती नेपाली बजारले घुँडा टेक्न थालेको भेटिएको छ । पहिले यिनै बजारमा भारतीय ग्राहकलाई नेपाली व्यवसायीले सामान बेच्थे । तर नेपालमा पटक–पटक बद्लिएको राजनीति अवस्थाका कारण सत्ताको ढुकुटीमा रजगज गर्नेहरुले ल्याएको नीतिगत समस्याले सीमावर्ती नेपाली बजारले घुँडा टेक्न थालेको पाइएको हो ।
जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन हुँदैन भने राजनीतिक व्यवस्था बदल्नु र राजनीतिकर्मीको जीवनस्तरमा परिवर्तन आउनुले मात्र उति महत्व नराख्ने वीरगन्जका व्यापारीहरुको आरोप छ । सीमावर्ती बजार मध्ये आर्थिक नगरीका नामले परिचित वीरगन्जका व्यापारीहरु यतिखेर भारतीय त के नेपाली ग्राहक पनि पसलमा आउन छोडेपछि तनावमा छन् । धेरैले व्यवसाय नै बन्द गर्ने तरखर गरेको गुनासो गरेका छन् । छिटो–छिटो राजनीतिक व्यवस्था बदल्यौं अर्थात गज्जब नै ग¥यौं भन्नेहरुले नै ल्याएका नीतिले नेपाली बजारमा सामानको मूल्य महँगिएको छ । यताका उद्योगमा साविकमा उत्पादन हुने मालबस्तु समेत नीतिगत बद्लावका कारण उद्योगहरु धरासायी बन्दा अहिले आयातकै भर पर्नु परेको व्यवसायीको तर्क छ । बद्लिएको व्यवस्थाले ल्याएका नीतिले करको दरमात्र जोड दिंदा उता सस्तो पाइने सामान यहाँ ल्याइपु¥याउँदा महँगो भइसक्छ । अनि सस्तो सामानको खोजीमा नेपाली ग्राहक समेत सीमा पारी नै पुग्ने गरेका छन् । राजनीतिक व्यवस्था बदल्नेहरुले आर्थिक समृद्धिका पक्षमा सकारात्मक कदम नचाल्दा यो समस्या सीमा क्षेत्रमा आएको व्यापारीको आरोप छ ।
आर्थिक क्षेत्रलाई एकातर्फ कोरोनाले नराम्रोसँग धक्का दियो । यसले आर्थिक मन्दीका केही अवशेषहरु छोडेर गयो । अर्को कुरा नीजि क्षेत्रलाई हेर्ने राज्यको पछिल्ला नीतिहरु सकारात्मक नबनेको कारण यो समस्या आएको उनीहरुको तर्क छ । आफू बुझ्ने भएदेखि नै व्यवसायमा लागेको भए पनि अहिलेका समयमा जस्तो अवस्था कहिले नदेखेको वीरगन्जको मेन रोडका कपडा व्यवसायी गोपाल केडियाले पनि बताए । ६७ वर्ष पुरानो उनको पसल तीन पुस्तादेखि व्यवसाय संचालनमा छ । तर बाजेको बुबाको पालादेखि संचालमा रहेको यो पसल यस्तो ठप्प कहिले थिएन वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका केडियाले भने । पहिला पसलमा ४ जना कामदार राखेर पनि भ्याइनभ्याई हुन्थ्यो । अहिले स्टाफले मोबाइल हेरेर समय बिताउन परेको छ उनले तर्क गरे । भोली राम्रो भइहाल्छ कि भन्ने आशामा छौं । कोरोना कहरको समयपछि व्यापारमा गिरावट आयो । अनि राज्यको नीतिगत अवस्था पनि नीजि क्षेत्रमैत्री भएन उनले तर्क गरे ।
दिन प्रतिदिन व्यवसाय फष्टाउदै जानु पर्नेमा झनै व्यापार ओरालो लागेको छ । व्यपारीहरुलाई चाडपर्वमा व्यापार हुन्छ कि भन्ने एउटा आशा छ । त्यो पनि के हुन्छ ? वीरगंजका लगभग ३० प्रतिशत व्यवसायीहरु विस्थापित हुने अवस्थामा छौं उनले तर्क गरे । पहिलाको तुलनामा ग्राहकको आगमन घटेको छ । सीमावारीको नेपाली बजारहरुमा व्यवसाय ठप्प छ पूर्व अध्यक्ष केडियाले बताए ।
२०३० सालदेखि बुबाले व्यवसाय संचालन गर्दै आएको देखेका स्थानीय सज्जन अग्रवालले पनि बजारको अवस्था राम्रो नभएको दावी गरे । कोरोना महामारीपछि बैंकको ब्याजदर दोब्बर भयो । महामारीले पनि च्याप्यो । भन्सारको मूल्याँकन धेरै फेरबदल भयो । अहिले व्यापार भारतमूखि भएको छ । पहिला चाइनाबाट पनि सामान नेपालमा आएर भारत तर्फ पनि जान्थ्यो उनले भने । भारतीय व्यपारीहरु पनि नेपाल आएर किनमेल गरेर लैजाने गरेको अग्रवालले बताए । तर अहिले नेपालमा सामान मंहगो भएकोले भारतीय सेवाग्राही नेपालमा सामान किन्दैनन् । कोरोना पछिको समयमा ६५ देखि ७० प्रतिशत व्यापारीहरु घाटामा गएकोले केही समय प्रतिक्षा गर्ने वाहेक विकल्प नभएको उनको तर्क छ । व्यापार सुध्रिने अवस्था नभए आर्थिक नगरीकै धेरै पसल बन्द हुने अवस्था छ व्यवसायी अग्रवालले बताए । नेपालमा उत्पादन गर्न केही श्रोत छैन । मेटिरियल पनि बाहिरबाट मगाउँदा भन्सार कर र लागत खर्च मंहगो पर्ने भएकोले सामानको मूल्य बाहिरी बजारसँग प्रतिस्पर्धा गर्न सक्ने भएन । यसले पनि सामान झन मंहगो भयो । महंगोमा सामान पाइने भएपछि ग्राहकले विकल्प खोज्नु स्वभाविक हो उनले तर्क गरे ।
भन्सार मूल्याँकन घटाउने र बैकको ब्याजदर पनि केही घटाउने हो भने भन्सारबाट हुने चुवावट कम हुन्छ । सरकारको नीति परिवर्तन जरुरी छ व्यापार, व्यापारी र जनता तीन पक्षबीचको समन्वय भएन भने व्यापार गर्नुको केही अर्थ हुन्न उनले दावी गरे ।
विगत ९ वर्षदेखि बुटिक संचालन गर्दै आएकी स्थानीय मेनु भण्डारी पनि पहिला बुटिकमा कपडा समेत बिक्री हुने गरेको अनुभव सुनाउँछिन् । तर अहिले बुटिकमा कपडा सिलाउन ल्याउने अधिकांश ग्राहकहरु रक्सौलको बजारमा किनेका कपडा लिएर आउँछन् उनले भनिन् । पहिला लागत खर्च कटाएर, घर भाडा तिरेर, स्टाफ खर्च सबै कटाएर १ लाख जति महिनामा आम्दानी हुन्थ्यो । तर अहिले त ग्राहकको संख्या नै घटेको छ । स्टाफलाई ज्याला दिएर घर भाडा तिर्न पनि धौ–धौ परिरहेको छ उनले तर्क गरिन् । दैनिक उपभोग्य खाद्यान्नदेखि लत्ताकपडा सबै किनमेल गर्न रक्सौलको बजार जाने चलन पछिल्लो समयमा बढेको छ उनले बताइन् ।
२० वर्षदेखि फर्निचर पसल संचालन गर्दै आएका नारायण कुमार टेकरीवाल पनि पहिला जस्तो राम्रो बिक्री हुन छोडेको दावी गर्छन् । राज्यको नीतिगत समस्या र कोरोना महामारी पछि व्यवसाय उठ्नै नसकेको उनको तर्क छ । व्यापार नहुदाँ पुराना कर्जा लिएकाहरुको ब्याज तिर्न पनि समस्या भएको उनको भनाइ छ । बैकको ऋण लिएकाहरुलाई झन मार परेको उनले बताए ।
विगत १८ वर्षदेखि लेडिज फुट वेयर संचालन गर्दै, एउटा पसलबाट आम्दानी गरेर ३ वटा पसल संचालन गरेको अनुभव संहालेका अर्का व्यवसायी सुमन रौनियार पनि अहिले व्यवसाय ठिक नभएको दावी गर्छन् । दुईवटा पसल त बन्द गरिसकें उनले भने । अब जम्मा एउटा मात्र छ । यस्तै अवस्था रहे यो पसल पनि बन्द हुन सक्छ उनले तर्क गरे । मधेशमा आन्दोलन भए पश्चात व्यवसाय खस्किदै गएको उनको भनाइ छ । कोरोना कहरले अझ चोट दियो । पहिलेको तुलनामा अहिले कुल १० प्रतिशत मात्र व्यापार छ उनले भने ।
रक्सौल बजार जाने हाम्रो रहर होइन, दिनप्रति दिन मंहगी बढ्दै गइरहेको कारण नेपाली बजारमाभन्दा भारतीय बजार रक्सौलमा केही सस्तो सामान पाउन थालेपछि उता जान थालेको २५ वर्षदेखि वीरगंजमा बसोबास गर्दै आएकी सेवाग्राही उमा कार्कीले बताइन् । आम्दानी अर्थात कर्मचारीको तलब सधै एकैनास छ । खाद्यान्नमा प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म बचत हुने भएपछि सीमापारीकै बजारमा जान थालेको उनको पनि तर्क छ । एकपटक गएर समान किनेर आउँदा घरायसी सामानमा ३ सय जति बचत हुन्छ । कपडाहरुमा करिब ५ सयसम्म बचत हुन्छ । अनि नेपाली बजारको विकल्प रोज्न बाध्य भएको उनको भनाइ छ । वीरगंजको बजारमा नै उचित मूल्यमा सामान पाइए ६० रुपैया भाडा र अतिरिक्त कष्ट भोगेर किन रक्सौल बजार जानु पथ्र्यो र ? उनले प्रतिप्रश्न गरिन् । यस्मा राज्यले सोच्नु पर्ने कुरा हो । उपभोक्ता त जहाँ सस्तो पाइन्छ त्यही जान बाध्य हुन्छौं उनले तर्क गरिन् ।