नेपालमा आजबाट पुनः मनसुन सक्रिय रहने छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकोले आउँदो १२ गतेसम्म नै बदली हुने र धेरै ठाउँमा पानी पर्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिवारसम्म पानी पर्ने भए पनि निरन्तरको झरी नभएर केहीबेर रोकिँदै अनि पानी पर्दै गर्ने मौसमविद् गोविन्द झाले जानकारी दिए । महाशाखाले यसअघि हिजो विशेष बुलेटिन निकालेर मनसुनको असर आज थोरै पर्ने तर भोलिदेखि धेरै ठाउँमा पानी पर्न सक्ने जनाएको छ ।
मनसुनी वायुसँगै बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभाव लुम्बिनी र सुदुरपश्चिम क्षेत्रमा बढी छ भने देशैभर बदली भई विभिन्न ठाउँमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकासहित कोशी, बाग्मती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा हुन थालेको मौसमविद् झाले बताउनुभयो ।
आज दिउँसो लुम्बिनी प्रदेशका पश्चिमी भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा मेघगर्जनरचट्याङ्सहित हल्का वर्षा तथा केही ठाउँमा मध्यम र एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । पर्सि असोज १० गतेदेखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मका सबै जिल्ला पानी पर्नसक्ने र यसबाट जनजीवन प्रभावित हुने अनुमान छ ।
महाशाखाले इलाम, पाँचथर, तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, सुर्खेत, सल्यान, रुकुम, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा लगायतका २७ जिल्लामा वर्षा र यसको जोखिम रहने जनाएको छ ।
महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत्र मुख्यगरी धानबालीमा असर पार्ने देखिएकाले धान काट्नु र थन्क्याउनु अघि मौसमको अध्यावधिक अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ । यस्तै उच्च जोखिममा रहेका जिल्लामा वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको सम्भावना भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।