खुसी हुने मानिसहरुको पंतीमा विश्वका आम मानिसभन्दा नेपालीहरु पनि खासै पछि छैनन् । विभिन्न प्राकृतिक पीडा र कृतिम पीडाका नखरा बीचमा सारा दुःखलाई पन्छाउँदै नेपालीले हाँस्ने अर्थात खुसी हुने जमर्को सधैं राखेकै छ । तथापि त्यसमा पनि नेपाली पन जाग्न किन–किन प्रकृतिले नदिने चेस्टा राम्रो संकेत होइन । नेपालीको खुसी र हाँसोमा प्रकृति पनि अबुझ बन्नु दुःखदायी छ । हुन त प्रकृतिको नियम नै सुख र दुःखको समिश्रण हो । तर पनि नेपाली धन, जन र मनमा किन प्रकृतिको प्रहार यति साह्रो हुँदैछ ? सधैं प्रकृतिको कुचेष्टा नेपाल र नेपालीमा बढि हुनु उसको तराजु असमान भएको झैं भएको छ ।
अब त प्रकृतिसँग पनि प्रश्न गर्न मन लाग्छ । सबै दुःख हरेक पटक नेपाल र नेपालीले मा मात्र भोग्न कर लाग्या हो ? प्रकृतिको काखमा रमाएका नेपालीले पनि केही गल्ती गरेको होला । तर जलवायु परिवर्तनको मुख्य प्रभावको दोष र विकासको असन्तुलनको मार नेपालीको थाप्लोमा मात्र किन ? यत्तिचाही प्रकृतिसँग पनि प्रश्न गर्न मनलाग्यो । अलि अस्ती एकै पटक दुइवटा बस त्रिशुलीमा वेपत्ता बनाई ६२ जनाको एकै चिहान बनाइएको प्राकृतिक प्रकोप सहितका यसै वर्षका धेरै पीडा नेपालीले खेपिरहेको छ । त्यो पीडा सेलाउन नपाउँदै बुधबारबाट अबिरल पानी, पहिरो, कटान, डुवान र सखापै पार्ने जस्ता कर्म प्रकृतिको नियममा पनि नहोला ?
प्रकृतिका सन्तान मानिस त्यसमा पनि पवित्र भूमि नेपालका नेपाली मात्र वातावरणीय असन्तुलनको प्रभाव श्रृजना गर्ने निर्मोही होइनन् । त्यसैले एकोहोरो पीडा मात्र दिएर प्रकृतिले नेपाल र नेपालीसँग मात्र रिसाउन हुँदैन । कम्तिमा पनि एउटा पीडाको घाउमा मलपट्टी लगाउन नभ्याई अर्को पीडाको चीरा हेर्न नपरोस् । वेला–वेलाको रोदन त नेपालीले सहेकै थियो । तर प्रकृतिले असोजको मध्यमा आएर निरन्तर तीन दिनसम्म फेरि बज्रपातको वर्षा गराएको छ । यो अति भयो । बनावटको हिसावले सानो भूगोलमा अपार सुन्दरताको खानी नेपालमा एकै पटक विपत्तीकाछटा मडारिरहनु प्रकृति प्रति नेपालीको गुनासो छ ।
वर्षमा एक पटक वा एक दिन मात्र आउने विपत् नभई हरेक क्षण आउन सक्ला कि ? भनी प्राकृतिक विपतिबाट बच्ने सधैं तत्पर रहनुपर्ने नेपालीले निर्माण गरेका संरचना र विकासको तादात्म्य पनि नमिलेको प्रमाणित भएको छ । नेपालीलाई असाध्य धेरै सडक सञ्जाल पनि नचाहिने रहेछ । बरु थोरै तर दीर्घकालिन र स्तरीय हुनपर्ने प्रष्ट भयो । यसको अलावा राज्य र उसको संयन्त्रले सबैभन्दा धेरै बुझ्नु पर्ने कुरामा उ त झन पटमूर्ख पो रहेछ । पाँच घण्टाको पर्खाईमा मुलुकको राजधानीको छानोमा फसेका नागरिकको उद्दार गर्न नसक्ने राज्य साह्रै दूर्वल सावित भएको छ । अलि टाढाका ठाउँको अवस्था झन कस्तो होला अनुमान गर्न सकिन्छ ।
राज्य संरचना र नयाँ नेपालको ठोस अवधारणा फुस्रो सावित भएको छ । अदूरदर्शी भौतिक संरचना निर्माण र भव्य जिन्सी सामान खरिदले मात्र नागरिकको जिउधनको सुरक्षा हुँदैन भन्ने लेखाजोखा यस्तै समयमा हुने हो । भ्रष्टाचार गर्न नपाउँदाको नाँगो नाँच देखाउने, उथलपुथल ल्याइदिन्छु भन्ने, मरिहत्ते गरेर गृहमन्त्री नै चाहिन्छ भन्ने जस्ता बकम्फुसेहरुका खुट्टी पनि देखियो । त्यसैले अब मुलुकमा राजनीतिक बुख्याँचाहरुले रोजगारी पाउने संरचना र अनेकथरी संजालभन्दा छिटो छरितो सेवा प्रवाह गर्न मिल्ने दीर्घकालिन ठोस संरचना र राज्य भित्रको चुस्त संजाल बन्नु अपरिहार्य छ ।