मानव सभ्यता भित्रको संसारमा सामाजिक अनि राजनीतिक आन्दोलन भित्रै पनि विभिन्न धर्म, संस्कृति र परम्परालाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने स्पष्ट र सही दृष्टिकोणको अभाव छ । सबै जसो सन्दर्भमा आबद्ध महिलाहरू पितृ सत्ताविरुद्ध मुक्तिको आवाज बुलन्द गर्ने र अर्कोतर्फ ठ्याक्कै त्यस विपरित विभिन्न पर्व, धर्म, रितिरिवाजका नाममा पितृ सत्ताकै भजन गाउने जमातको पर्खाल तोड्ने समय आएको छ । तर नेपाल मात्रै होइन विश्वमा नै हेर्ने हो भने मानव सभ्यतासँगको धर्म पितृ सत्तासँग जोडिएको छ । जस्को कारण स्वभावैले हरेक महिलालाई राज्यले समेत पुुरुषसरह समान अधिकारको निमित्त विभिन्न कारण औंल्याएर कन्जुुस्याइँ गरिरहेको अवस्था छ ।
यसो भनिरहँदा सबैधर्म र सस्कृतिसँग जोडिएको बिषयमा एकै किसिमको प्रभाव भने होइन उदाहरणकै रुपमा हेर्ने हो भने इसाई धर्म र बौद्ध धर्म मान्नेहरुको हकमा र अन्य केही धर्म मान्नेहरूको हकमा समाज रूपान्तरणको प्रक्रियासँगै आएका ठुलो सुुधार र उदारवादी अवधारणाहरु विकसित नभएका भने होइनन् । जस्को कारण सामाजिक रितिरिवाज र महिलाहरूकै सन्दर्भमा धेरै कुरामा सुधार आएको देखिन्छ । उसो त पश्चिमी देशहरू र पूर्वी एसियाका देशहरूमा महिलाकोस्तर माथि उकास्न राजनैतिक तथा बैचारिक सुधारका साथै धार्मिक सुधारले महत्वपूर्ण भूूमिका खेलेको प्रसस्तै उदाहरण छन् । तर नेपालको सन्दर्भमा भने पछिल्लो समय भएका राजनैतिक सुधारमा धार्मिक विचारसँग सुुधारको क्षेत्रमा हुनुपर्ने जस्तो चासो र चिन्ता भने पटक्कै देखिदैन । राज्यले महिलाका हक र अधिकारलाई संरक्षण गर्न ऐन, नियम, कानुनहरू निर्माण गर्दागर्दै पनि महिलाहरू विभिन्न खालका मानशिक एवम् हिंसाबाट प्रताडित हुन बाध्य थुप्रै उदाहरण छन् ।
धर्मसँगका कुराः
नेपाली समाजमा केही उदाहरणहरु छन् । सति प्रथासँग जोडिएका थुप्रै इतिहास छन् । तर यो सतित्व शब्द केवल महिलासँग मात्र सम्बन्धित छ । उतिबेलाको समाजले यो प्रथालाई जसरी स्वीकार गरेको भए पनि अहिलेको समाजले सतीप्रथा अत्यन्तै कर र निन्दनीय भनेर प्रमाणित गरेको सत्य छ । उतिबेला हिन्दू शास्त्रकारहरू वन, जंगलमा बस्ने गरेका इतिहास छन् । तर पछिल्लो इतिहासमा उनीहरुले समाज पहिचान गरेर नीति नियमहरू बनाएका पनि छन् ! सँगसँगै उतिबेलाको सत्य यो पनि हो कि उनीहरूले ‘सतीत्व,‘शुद्धता’ वा ‘पवित्रता’ जस्ता शब्दको रचना गरेर पितृसत्तात्मक संरचनाको सुरुवात गर्दै पुरुषलाई नै राजा बनाई सम्पूर्ण सुविधा हुने काम गरेका अर्को सत्य ज्युँदो छ !
हाम्रो समाजले महिलाका लागि सतीत्वको प्रमाण खोज्छ भने पुरुष संवत् स्वतन्त्र रहन्छ ,। जस्को फलस्वरूप महिलाहरू परापुर्वकालदेखी सामाजिक रितितिथी,रिवाज धर्म र सस्कृतीको जन्जिरमा जकडिएका छन् ! हाम्रो समाजको ‘गौरवशाली’ मानिने महान् संस्कृतिको साच्चिकै इमानदारीताका साथ विश्लेषण गर्ने हो भने यसमा भएका चरम भेदभाव ऐनामा जस्तै छर्लङ्ग देखिन्छन् । हिन्दु संस्कृतिमा विशुद्ध, दास र महिलाप्रतिको आचार–व्यवहारलाई केलाउने हो भने लिङ्ग जात र वर्गले गर्व गर्न लायक कुनै पनि कुरा छदैछैन । जुन युगलाई आज विभिन्न जातिले स्वर्णिम युग बताएको छ, । त्यही समयलाई नियालेर हेर्ने हो भने दासताको चरमशोषण पनि सहन बाध्य भएका छन् ।
बौधिक युग भनेकै महिलालाई एउटा वस्तुको रूपमा हेरिने मात्रै होइन प्रयोगमा ल्याएको आवश्यकता पुर्तिको साधक नै थियो । महिलाहरूलाई पुरुषको उपभोग्य गर्ने एंव वंश बढाउने साधनको रुपमा मात्र प्रयोग गरिएको थियो । वैदिक युगपछि महिलाको स्वतन्त्र अस्तित्वलाई कहिल्यै पनि स्वीकार गरिएन । यस्तो परिस्थितिहरू र विधान बन्दै गयो कि महिला पिता, पति र पुत्रको अधिनमा रहन बाध्य थिइन् । महिलाले आफ्नो श्रीमान नै ईश्वरभन्दा माथि भनियो, श्रीमानलाई परमेश्वरको रूपमा प्रतिष्ठित गरियो । जसको चरणदासी बनेर आजीवन सेवा गर्नु नै महिलाको परमधर्म मानिने त्यो प्रथाबाट अलिकति माथि अहिलेको समाज आएता पनि विभिन्न पर्व तथा धर्मको नाममा अहिले पनि प्रसस्तै विभेद रहेको छ ।
महिलामा शक्तिशाली स्वरुप:
मानव जातिको अस्तित्व महिला बिना असम्भव मात्रै होइन, कल्पनाभन्दा बाहिर छ । मानव जातिमा जीवनको अस्तित्व पूर्ण रूपले महिला र पुरुषको समान योगदानबाट अहिलेसम्म परिपूर्ण छ, यो पनि अर्को सत्य हो । जीवनको यात्रामा महिला र पुरुष यि दुई मध्ये एक नभए जीवनको अस्तित्व असम्भव छ । तर यो सत्यलाई कतिपय मानवीय सोच र तिनका व्याबहारले बिभेदको चरममा पुर्याउनु दुखद कुरा हो । अहिले हिन्दुहरुको महान पर्वको दशैको पुर्व सन्ध्यामा उभिएर हेर्दा दुर्गापुजा महाशक्तिको पिठ भनेर धुमधाम पुजा अर्चना गर्ने गरिन्छ । दुर्गा, सरस्वती, पार्वती, काली माताको नामले आमालाई पुकारिन्छ । तर त्यहीँ शक्तिको पिठमा पुजा गर्न जानको निमित्त महिलाहरुलाई बन्चित गराइन्छ । यो नौ दिनसम्म मन्दिरमा पस्न वा पुजापाठ गर्न रोकिन्छ भने खै त महिला अधिकारको अधिकार यो प्रश्न अबको यो समाज तर्फ फर्केको छ ।
धर्मको नाउँमा महिलालाई जति उपेक्षा गरिए पनि मानव जीवनको विकासका लागि महिला पनि उत्तिकै उत्तरदायी छन् । महिला चाहे स्वतन्त्र होस् वा पराधिन, तर मानवको अस्तित्व बनाइ राख्नका लागि जति पुरुषको उत्तरदायित्व छ । यहाँ एकातर्फ महिलाको स्वतन्त्रता, शिक्षा, समानता एवं अधिकारहरूको सवाल छ भने अर्कोतर्फ महिलालाई भोग्या, बच्चा उत्पादन गर्ने उपकरण मात्र मान्ने धार्मिक सामाजिक संस्कार, विधान, प्रथा र अन्धविश्वास विद्यमान छ । यो भन्दा पनि विडम्बना के छ भने पुरूषको वर्चस्वलाई स्थापित गरेर महिलाको मर्यादालाई अपदस्थ गर्ने संस्कार, रीति–रिवाज र प्रथाहरूलाई आगामी पींढिसम्म संवाहित गर्नेहरूमा अधिकांश महिलाहरू नै हुन्छन् । उनीहरू आफ्नो अज्ञानता वा अशिक्षाका कारण यस्ता संस्कारलाई आफ्नो धर्मको रुपमा पालना गर्छन् । आफ्ना छोरीहरूलाई बच्चैदेखि तिनै संस्कार लादिदिन्छन् । जसलाई समाज विज्ञानको भाषामा सामाजिकीकरण गर्न अपरिहार्य छ ।
महिलाको स्वतन्त्रता, शिक्षा र समानताको विरोध पुरुषबाट पनि हुन्छ । तर कतिपय पुरुषले महिलाकै माध्यमबाट यसखालको विरोध गर्ने भएकाले समाजमा महिलाको बाधक महिला नै भएको जस्तो देखिन्छ । त्यसैले यी सबैको पछाडि पितृ सत्तात्मक सोच र यसलाई बढवा दिने धार्मिक संस्कार नै मुख्य कारक हुन् । छोरीहरूलाई पढाउँदा, लेखाउँदा र स्वतन्त्रता दिँदा उनीहरू बिग्रन्छन् भन्ने चिन्ता महिला–पुरुष दुवैमा उत्तिकै हुन्छ । महिला–पुरुषको समान सम्बन्धमा धर्म सबैभन्दा ठूलो बाधक हो भन्ने कुरा यो समाजले स्वीकार गर्न आवश्यक छ । आज यो सोचको विकास गर्न आवश्यक छ, महिलालाई पुरुषबाट होइन उसको दासत्व र अधिपत्यबाट मुक्ति दिलाएर उसको अस्मितालाई प्रतिष्ठित गर्नु समाजको दायित्व हो ।