१. घाँटीमा प्रायः कस्ता समस्या देखा पर्छन् ?
घाँटीमा हुने समस्या मुख्यतया टन्सिलाइटिस् हो । अस्पतालमा जाँच गर्न आउने धेरै बिरामीहरु टन्सिलाइटिस्का समस्या भएर आउने गर्छन् । घाँटीको पछाडीको भाग र टन्सिल ग्रन्थी बीचको कमलो भागलाई फरिन्क्स भनिन्छ । आवाज खस्रो भएर, खोक्रोपन भएर समस्या हुन्छ । प्रायः गरेर गायकहरुलाई, शिक्षकहरुलाई, ज्यादा बोल्ने व्यक्तिहरुलाई, चिच्याएर ठूलो आवाजमा बोल्ने व्यक्तिहरुलाई हुन्छ । यसलाई ल्यारिन्जाइटिस् भनिन्छ । घाँटीमा कुनै समान अड्किएर पनि मानिसहरु आउने गर्छन् । वीरगंजमा केही मानिसहरु घाँटीमा माछा अड्काएर पनि आउने गरेका छन् । बच्चाहरु खाने नलीमा सिक्का अड्काएर आउने गर्छन् । कानको तलको भागमा हाडे रोग भएका बिरामीहरु पनि आउने गरेका छन् ।
२. टन्सिल भनेको के हो ?
टन्सिल भनेको शरीरलाई चाहिने ग्रन्थी हो । टन्सिलले शरीरलाई चाहिने रसायनिक पदार्थ निकाल्छ । टन्सिलले व्याक्टेरिया र भाइरसलाई मार्ने रसायनिक पदार्थ निकाल्छ । टन्सिललाई मुख ग्रन्थीको पहरेदारको रुपमा मानिन्छ । रसायनिक पदार्थमा रसायनिक गार्डिन, मेकानिकल गार्डिन हुन्छ ।
३. घाँटीमा समस्या आउनुको कारण के हो ?
घाँटीमा हुने समस्याको तथ्याङ्क हेर्ने हो भने टन्सिलाइटिस् सयमा ७० प्रतिशत भाइरस, ३० प्रतिशत ब्याक्टेरिया, एलर्जी, पिनासको कारणले पछिल्लो भागबाट टन्सिलमा जाने हुन्छ । घाँटीबाट ग्याष्ट्रिकको मार्फत पनि माथि जाने हुन्छ । हाडे सतप्रतिशत भाइरसको कारणले हुन्छ ।
४. टन्सिलाइटिस् कस्तो प्रकारको रोग हो ?
सामान्य भाषामा टन्सिलाइटिस्लाई टन्सिल भन्ने गरिन्छ । टन्सिल ग्रन्थी शरीरको विभिन्न किसिमको हुन्छ । टन्सिल ग्रन्थी नाक पछाडी, घाँटीको भित्तामा, जिब्रोको फेदमा पनि हुन्छ । सामान्य भाषामा बढी समस्या लिएर आउने बिरामीहरुमा जिब्रोको फेदको टन्सिल हो । जिब्रोको फेदको टन्सिललाई प्यालेतिन टन्सिल भनिन्छ । जिब्रोको फेदको टन्सिलको इन्फेक्सनलाई टन्सिलाइटिस् भनिन्छ । जिब्रोको फेदमा हुने टन्सिल भाइरसको कारणले हुन्छ । यो प्राय गरेर विद्यालय जाने ५ देखि १५ वर्षका बालबालिकाहरुमा बढि देखिन्छ । धेरै मानिसको जमात हुने वातावरणमा बस्दा भाइरस सर्ने सम्भावना धेरै हुन्छ । भाइरसहरु जाडो समयमा बढी सकृय हुन्छ । यो भाइरस वर्षभरी नै संक्रमण हुन सक्छ । मौषम परिवर्तन भएको समयमा भाइरस बढी सकृय हुन्छ ।
५. प्रायः मानिसलाई टन्सिलाइटिस् हुनुको कारण के हो ?
टन्सिलाइटिस राती खानापिन गडबढ भएर हुने, बारम्बार हुने कारण टन्सिलमा १३ देखि १५ वटा खोचहरु हुन्छ । त्यो बीचमा हामीले औषधी खाएको खण्डमा रोगसंग लड्ने रोग प्रतिरोधात्मक क्षमता सबैको बढ्छ । व्याक्टेरियाहरु पुरै नमारेको खण्डमा लुकेर बसेका हुन्छन् । त्यस्तो बेलामा खानेकुरामा गडबढी भयो । चिसो कुरा खाइयो । मौसम परिवर्तन भएर खानेकुरा गडबढी भयो । सरसफाइमा ध्यान दिएन । टन्सिलाइटिस् संक्रमण व्यक्तिको नजीक गएमा, टन्सिलाइटिस् भएका बिरामीहरुले प्रयोग गरेको एउटै भाडा खाना खाएमा व्याक्टेरियाहरु शरिरमा आएर इन्फेक्सन गर्छ ।
६. टन्सिलाइटिस् हुदाँ कस्ता खालका लक्षणहरु देखापर्छन् ?
टन्सिलाइटिस् भाइरस, व्याक्टेरियल दुबैको संक्रमणबाट हुन्छ । टन्सिलाइटिस् हुदाँ शुरुमा घाँटी दुख्ने हुन्छ । खाना खान गाह्रो हुने, ज्वरो आउने हुन्छ । भाइरसमा संक्रमण भएको बिरामीको नाकबाट पानी बग्ने, आखाँबाट आसु धेरै बग्ने, भाइरसमा शरीर कमजोर भए जस्तो हुने, आलस्य हुने, अल्छिपन हुने, खोकी लाग्ने हुन्छ । व्याक्टेरियाको संक्रमण हुदाँ धेरै तापक्रमको १०२ं÷१०३ं ज्वरो आउँछ । टन्सिलको वरिपरी पहेलो, रातो इन्फेक्सनको लक्षणहरु देखिन्छ । घाँटी तल ग्रन्थीहरु सुनिन्छ ।
७. टन्सिलाइटिस् उपचार प्रविधी के–के हुन् ?
स्वस्थ्य नै धन हो । हामीले आफ्नो शरीरको नियमित सरसफाईमा ध्यान दिएमा टन्सिलाइटिस् हुदैन । यो बाहेक टन्सिलाइटिस्मा उपचार विधि पहिला व्याक्टेरिया र भाइरसमा बिभाजन गर्न सकिन्छ । भाइरस संक्रमण भनेको अरु भाइरस संक्रमण जस्तै बिरामीले आरम गर्नुपर्छ । तरल पदार्थहरु धेरै पिउने, पौष्टिक आहार खाने, नरम खानेकुरा खानुपर्छ । सामान्य ज्वरो आएको पारासिटामोल खानुपर्छ । पारासिटामोलले कम भएन भने पारासिटामोल र आइप्रोप्रोक्सनको मिश्रण भएको फ्लेक्सन खानुपर्छ । औषधीबाट टन्सिलाइटिस्लाई निको पार्न सकिन्छ । हामीमा धैर्यताको कमी छ । सबै कुरा हामीलाई छिटो नै चाहिन्छ । जुन रोग हो त्यो रोगको विशेषज्ञलाई नै देखाउनु पर्छ ।
८. मानिसलाई पटक–पटक टन्सिलाइटिस् हुने सम्भावना कत्तिको हुन्छ ?
टन्सिलाइटिस् एक पटक भएपछि पटक–पटक हुने सम्भावना हुन्छ । टन्सिलमा १३ देखि १५ वटा खोचहरु हुन्छ । खोचहरुमा व्याक्टेरिया, भाइरस अट्किएको खण्डमा, रोग प्रतिरोधात्मक क्षमता घटेको खण्डमा, खानपिनहरु नमिलेको खण्डमा, निद्रा राम्रोसंग नपुगेको खण्डमा, खोचबाट व्याक्टेरियाहरु शरीरमा आएर इन्फेक्सन हुन्छ । यो कारणले गर्दा नै टन्सिलाइटिस् बारम्बार हुन्छ ।
९. टन्सिलाइटिसबाट के मानिसको ज्यान जाने सम्भावना पनि हुन्छ ?
टन्सिलाइटिस्बाट मानिसको ज्यान जान पनि सक्छ । तर एक सयमा ०.५ प्रतिशतमा यस्ता घट्नाहरु हुन्छ । टन्सिलाइटिस् भएका बिरामीहरुले उपयुक्त औषधीको सेवन गरेनौं, समयमा उपचार गरेनौं, आराम गरेनौं, खानपिनमा ध्यान दिएनौ भने टन्सिलको छेउको थैलीहरुमा पिप जम्छ । हामीले उपचार ढिलो गरेमा पिपहरु फैलिएर रक्त नलीमा जान्छ । संक्रमण धेरै फैलिएर बिरामीको मृत्यु हुन्छ । टन्सिलाइटिस् वर्षमा ७ पटक भन्दा बढी भयो । वर्षमा ३ पटक लगातार ३ वर्ष भयो । वर्षमा ५ पटक २ वर्षसम्म लगातार भयो भने अप्रेशन गर्नुपर्छ ।
१०.टन्सिलाइटिस् हुनबाट बच्न के कुरामा ध्यान दिनुपर्छ ?
पहिला सरसफाईमा ध्यान दिनुपर्छ । बढी गरेर ५ देखि १५ वर्षसम्मको बालबालिकाहरुलाई हुने गर्छ । साथीहरुलाई रुघामर्की लागेको छ भने माक्स लगाएर बस्ने, पौष्टिक आहार खाने, हातहरु सफा राख्ने, आराम गर्ने, बाहिरको खानेकुराहरु नखाने, समयमा सुत्ने गरेमा टन्सिलाइटिस्बाट बच्न सकिन्छ । यदी टन्सिलाइटिस् भएको छ भने सुरुको अवस्थमा नै झोलिलो पदार्थहरु बढी खाने । फलफूलहरु खाने, ड्राइ फ्रुट्सहरु खाने, अण्डा खाने, चिसो पेयपदार्थ कम खानु पर्छ ।
११. अन्त्यमा थप जनतालाई के सुझाव दिन चाहनु हुन्छ ?
नाक, कान र घाँटी एक अर्कामा अन्तर सम्बन्धित हुन्छ । नाकको पछाडीको भागलाई कोयना भनिन्छ । घाँटीको पछाडी र कानको मध्य भाग स्ट्याचो ट्युबको मद्दतले जोडिएको हुन्छ । एक अर्काबाट नै इन्फेक्सन सर्ने हुन्छ । टन्सिलाइटिस्को कारणहरु पिनासहरु नाकको पछिल्लो भागबाट आएको हुन्छ । तल खाने नलीबाट आएको हुन्छ । टन्सिलाइटिस् भयो भने पनि नाकको पिनासहरुमा जाने र खाने नलीहरु जाने डर हुन्छ । रोग पत्ता लगाउन ठूलो कुरा हो । त्यसैले अस्पतालमा आएर सम्बन्धित रोगको विशेषज्ञसंग जाँच गरौं । जथाभावी औषधीहरु नखानुुहोस् । भिक्स खानाले केही समयलाई फाइदा गर्छ । लामो समय खादाँ सुख्खापन बनाउँछ । नाकको औषधीहरुले लगातार १ महिना लगाउनु भयो भने त्यसले असर गर्छ । औषधीले काम नगर्न सक्छ । चिकित्सकले ७ देखि १० दिनको औषधी दिएको हुन्छ । तर निको भयो भनेर बिरामीहरु ३ दिन औषधी खाएपछि बाँकी औषधी खान छाडिदिन्छन् । ६ महिना, १ वर्षपछि संक्रमण भएको खण्डमा पहिला सेवन गरेको औषधीले काम नगर्ने हुन्छ । चिकित्सकले दिएको पुरा औषधीको मात्रा सेवन गरौं । नियमित व्यायाम पनि जरुरी छ ।