राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पर्सा जिल्लाको पोखरिया अस्पतालमा तीन तहका सरकारविरूद्ध अनिश्चितकालीन धर्ना कार्यक्रम तय गरेको छ । पोखरिया नगरपालिकामा विभिन्न कार्यालयहरूको स्थापनाका लागि तथा पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति गर्न माग गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको हो।
धर्ना कार्यक्रम असोज १३ गते आइतबारदेखि पोखरिया अस्पतालको परिसरमा सुरू गरिएको हो । संघीय, प्रदेश, र स्थानीय सरकारप्रति असन्तुष्टि जनाउँदै आयोजित धर्ना दैनिक १ः०० बजेदेखि ३ः०० बजेसम्म हुने बताइएको छ।
संघीय सरकारलाई पोखरिया अस्पतालको प्रादेशिक स्तरमा स्तरोन्नति गर्नका साथै मालपोत, भूमिसुधार, नापी लगायतका सरकारी कार्यालयहरूको स्थापनाका लागि ध्यानाकर्षण गराउँदा पनि कुनै प्रगति नदेखिएको भन्दै विरोध गरिएको छ। मधेश प्रदेश सरकारविरुद्ध पोखरिया अस्पतालका भवनहरू तथा जगतपुरमा निर्माणाधीन बर्थिङ सेन्टरका अधुरा योजनाहरू पूरा गर्न ध्यानाकर्षण गराउँदै धर्नामा सहभागीहरू आफ्नो असन्तुष्टि प्रकट गरिरहेका छन्।
पोखरिया नगरपालिकामाथि अनावश्यक कर लगाएर जनतालाई ठगी गर्ने, सेवा विस्तार नगरी नगरपालिकालाई भर्ती केन्द्र बनाउँदै भ्रष्टाचार गरेको आरोप धर्नामा सहभागीहरूले लगाएका छन्। साथै, पर्वको समयमा काम गरेका कर्मचारीहरूलाई तलब नदिने, निर्माण कार्य गराए पनि भुक्तानी नदिने, र शिक्षा, स्वास्थ्य, कृषि जस्ता महत्वपूर्ण क्षेत्रहरूमा बजेट विनियोजन नगरी केवल माटो ग्रेभलको मर्मतका कामलाई प्राथमिकता दिएको भन्दै विरोध गरिएको छ।
धर्ना कार्यक्रमको संयोजन राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य नेजामुद्दीन शमानीले गरेका छन्। उनका अनुसार मागहरू पूरा नहुँदासम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिइनेछ। धर्ना कार्यक्रममा सहभागीहरूले पोखरिया नगरपालिकालाई जनतामुखी सेवा सुधार गर्न, प्रदेश सरकारलाई अस्पताल तथा भवन निर्माणमा ध्यान दिन, र संघीय सरकारलाई आवश्यक कार्यालयहरूको स्थापनामा ध्यानाकर्षण गराउन आह्वान गरेका छन्।