काठमाडौँ । सिएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रबार जर्मन लेखक ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ।
एकेडेमीमा आयोजित कार्यक्रममा जर्मन दूतावासका नियोग उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन साइडेल र लेखिका हेगडर्नले पुस्तक सार्वजानिक गरेका हुन् ।
पुस्तक जर्मनीस्थित इन्टरलिंक एकेडेमीको सहकार्यमा सिएमआर नेपाल जर्नलिजम एकेडेमीले नेपालीमा अनुवाद गरी प्रकाशन गरेको हो ।
कार्यक्रममा नियोग उपप्रमुख साइडेलले लोकतन्त्रको विकासका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको र त्यसका लागि पत्रकारहरुको क्षमता अभिवृद्धि जरुरी रहेको बताएको प्रेस नोटमा छ ।
उनले साइडेलले अहिले मिथ्या सूचना फैलिरहेको अवस्थामा पत्रकारिता र पत्रकारको महत्व झनै बढेको उल्लेख गर्दै प्रविधिले ल्याएको चुनौतीको सामना गर्न पत्रकारितासम्बन्धी तालिमहरु महत्वपूर्ण हुनेमा जोड दिए ।
लेखिका हेगडर्नले पकडकास्टिङको महत्वको विषयमा प्रकाश पारेकी थिइन् । पडकास्टिङ उत्पादनका लागि के कस्ता प्रविधिको प्रयोग गर्ने र त्यसलाई विश्वसनीय एवं सहानुभुतियुक्त बनाउन के गर्ने र यसको बजारीकरणका लागि के कस्तो उपाय अपनाउन सकिन्छ भन्ने विषयमा उनले जोड दिएकी थिइन् । त्यसका साथै पडकास्टिङबाट के कसरी आयआर्जन गर्न सकिन्छ भन्ने विषयमा पनि हेगडर्नले उल्लेख गरेकी थिइन् ।
कार्यक्रममा सिएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले सिएमआर नेपालले मिडिया अनुसन्धान, मिडिया नीति समीक्षा एवं सरोकारवालाहरुसँग छलफल गर्दै आएकोमा पछिल्लो समय मिथ्या सूचनाविरुद्ध अभियान सञ्चालन र मूलधारको मिडिया र पत्रकारलाई सहयोग एवं क्षमता अभिबृद्धिको कार्यक्रमलाई जोड दिएको बताए ।
एकेडेमीका निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले जर्मनीको इन्टरलिंक एकेडेमीसँगको सहकार्यमा पत्रकारितासम्बन्धी उच्च गुणस्तरको तालिम दिइरहेको र एकेडेमीले अहिलेसम्म १४६ पत्रकारहरुलाई तालिम दिइसकेको उल्लेख गरे ।
एकेडेमीबाट प्रकाशित पडकास्टिङ पुस्तकको नेपाली अनुवाद एकेडमीका पडकास्टिङ प्रशिक्षक श्रीराम पौडेल र रबिराज बरालले गरेका हुन् भने सम्पादन आचार्यले गरेका हुन् । साभार : ईकान्तिपुरबाट