आस्थाका केन्द्र मठ मन्दिरमा बिहिबारबाट भक्तजनको भीड बढेको छ । हिन्दुधर्मावलम्बीहरुको महान पर्व बडादशैंसँगै आस्थाका केन्द्र (मठ–मन्दिर) मा भक्तजनको भीड बढेको हो ।
मुलुकका अरु स्थान झैं मधेश प्रदेशको पर्सा, बारामा रहेका मठ–मन्दिरमा बडा दशैंको बिशेष चहलपहल थपिएको छ । बिहिबारबाट बडादशैंको नवरात्र सुरु भएसँगै विगतको तुलनामा पहिलो दिन नै श्रद्धालु भक्तजनको आकर्षण बढेको पाइएको छ । भगवती दुर्गाका विभिन्न रुपहरु मध्ये पहिलो दिन शैलपुत्री देवीको बिशेष रुपले पूजा अर्चना भएको छ । त्यसैगरी दोस्रो दिन शुक्रबार पनि ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा अर्चना भएको छ । तेस्रो दिन चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा भएको छ । चौथो दिन कुष्माण्डा देवी, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गरी बडा दशैंलाई भव्य बनाइने छ । यसरी नौवटै दुर्गाका रुपलाई नवदुर्गा भनी पूजापाठ गर्ने चलन परापूर्वकाल देखिकै हो । वर्तमान पुस्ताले यो वर्ष पनि बडादशैंको निरन्तरता दिएका छन् । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रीहरुको दावी छ ।
दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा पनि मान्ने चलन छ । वडादशैंको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याईन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित देवीको विशष पूर्जा गर्ने गरेका छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्धेवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने गरिन्छ । यस अवसरमा वीरगन्जको गहवामाई, वीर्तामाई लगायत देशभरका शक्तिपीठमा पूजा गरिएको छ । सो क्रममा दर्शन गर्ने भक्तजनको मठ मन्दिरमा ठूलो भीड लाग्ने गरेको छ । नवरात्रका नामले चिनिने बडादशैं नौ रात र दश दिनको हुने माईस्थान मन्दिरका पूजारी राधेश्याम उपाध्यायले बताए । मन्दिरसँगै आम हिन्दु धर्मावलम्बीहरुको प्रायः घरघरमा पनि विधिपूर्वक पूजापाठ गरी घटस्थापनाका दिन जमरा राख्ने चलन छ । यहि जमरा दशमीको दिन लगाइने टीकासँगै लगाउने चलन पनि छ उनले भने । घर–घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीको पूजा आराधना विजयादशमीका दिन समापन गर्ने गरिन्छ । सो दिनबाट मान्यजनबाट प्रसादका रूपमा घटस्थापनाका दिन राखिएका जमरा सहितको टीका र फूल प्रसाद ग्रहण गर्ने चलन पनि परापूर्वकालदेखि नै चल्दै आएको छ । विजयादशमीदेखि सुरु भएको टिकाप्रसाद कोजाग्रत पूर्णिमासम्म लगाइन्छ । कोजाग्रत पूर्णिमाबाट भने बडादशैंको सबै सामग्री विसर्जन गर्ने पनि चलन छ ।
आश्विन शुक्ल प्रतिपदादेखि बडादशैं सुरु भएको मानिन्छ । यो वर्षको घटस्थापना बिहिबार बिहान ९ बजेर १६ मिनेटको साइतमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको थियो । सोही अनुसार हिन्दुधर्मावलम्बीहरुले वडादशैंको जमरा राख्ने लगायतको विधि सुरु गरेका छन् । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने यो पर्व घरका पूजा कोठा र दशैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजाआजा हुँदै छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजाआजा र आराधना गर्ने चलनको धर्मशास्त्रीहरुले बताउने गरेका छन् । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भन्ने चलन पनि रहेको उनीहरुको भनाइ छ ।
ठाउँ–ठाउँमा शोभा यात्रा
बिशेष पूरा आराधना पूर्व पर्सा, बाराका मठ मन्दिरमा शोभा यात्रा निकाली विधिपूर्वक पूजा आराधनाको प्रारम्भ गरिएको थियो । अझ पञ्चवर्षीय मेला पनि यसै वर्ष परेकोले बाराको गढीमाई मन्दिरमा झन भव्य शोभा यात्रा निकालिएको थियो । बाराको बरियारपुरस्थित गढीमाई मन्दिरको प्राङ्गणबाट बाजागाजासहित शोभा यात्रा निकालिएको थियो । आगामी मङ्सिरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलाका लागि बिहीबार बिहानदेखि भव्य शोभा यात्रा निकाली मेलाको पनि सुरुवात गरिएको गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जनाएको छ । शोभा यात्राले जिल्लाका विभिन्न ठाउँमा परिक्रममा गर्ने छ । हात्ती, घोडा उँट, झाँकी, बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरू सहितको शोभा यात्रामा करिब ५० हजार भक्तजनको सहभागिता रहेको समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले बताए । उनका अनुसार मन्दिर परिसरबाट निस्किएको शोभायात्राले कलैया उपमहानगरपालिका लगायत १३ गाउँको २० किलोमिटर परिक्रमा गर्ने जनाइएको हो । शोभा यात्रा बरियारपुर गाउँ हुँदै इनरुवा चोक, तेलकुवाचोकदेखि नहर हुँदै बसतपुर चोक, मटिअर्वादेखि शितलपुर–बिशमरपुर, कलैया भरत चोक, गुप्ता पेट्रोल पम्प, अन्सारी पेट्रोल पम्प, अदालत रोड, रामपुर–बिजुलपुरदेखि गञ्जभवानीपुर–दहियार हुँदै पुनः मन्दिरमा पुगी समापनको हुने गरी अन्य मन्दिरकोभन्दा गढीमाईको शोभा यात्रा भव्य बनाइएको हो । अगामी मंसिरमा गढिमाईमा पञ्चबर्षीय मेला लाग्दैछ ।