वीरगंजमा मधेश प्रदेशस्तरीय ‘स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन २०२४’ आयोजना हुने भएको छ । मधेश प्रदेश सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले वीरगन्जमा आगामी कात्तिक २४ गते ’स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन २०२४’ आयोजना गर्न लागेको हो ।
आइतबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलनको समुद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गर्ने जानकारी दिए ।
देशकै औद्योगिक तथा व्यापारिक केन्द्र वीरगन्जमा आयोजना गर्न लागिएको मधेश प्रदेशस्तरीय ’स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन’ ले स्टार्टअप प्रबद्र्धनमा योगदान गर्दै नवउद्यमीहरुलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष टेमानीले जिकिर गरे ।
अहिलेको विश्वअर्थतन्त्र, उद्यम र व्यापारमा स्टार्टअप संस्कृति अपरिहार्य बन्दै गएको भन्दै उनले सम्मेलनले मधेस प्रदेशका नवप्रवर्तनशील उद्यमी, स्टार्टअपहरू र संभावित उद्यमशील व्यक्तिहरूलाई महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिएकोपनि उनले बताए ।
सम्मेलनमा नव उद्यमीहरूका लागि अवसरको खोजी, जोखिम व्यवस्थापन र नवीन उद्यमशीलताका उपायहरूको बारेमा जानकारी दिनुका साथै नेपालमा स्टार्टअपको वातावरण कसरी तयार पार्न सकिन्छ,स्टार्टअप संस्कृति कसरी अघि बढाउन सकिन्छ र यसको आर्थिक महत्व के छ ? लगायतका विषयमा बृहत छलफलपनि हुने अध्यक्ष टेमानीले बताए ।
यसका साथै सम्मेलनमा देशविदेशमा ख्याति कमाएका प्रशिक्षकहरुबाट नेपाल सरकारले स्टार्टअपहरूका लागि लिएका नीति, सुविधा र योजनाहरूको बारेमा सम्मेलनमा जानकारी गराउँदै नवउद्यमीहरूका लागि स्टार्टअप सुरु गर्ने प्रक्रिया, चुनौती र त्यसलाई सफलतामा परिणत गर्ने उपायका बारेमा विज्ञहरुबाट व्यावहारिक सुझावहरू प्रदान गरिनेपनि उनले बताए ।
सम्मेलनमा वक्ताका रुपमा गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चमरिया, उद्यम क्षेत्रकी अध्येता जुना माथेमा, रिसाइफका संस्थापक डा. सार्थक बक्षी, नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा परराष्ट्र मामिला मञ्चका अध्यक्ष मनोज पौडेल, उद्यमी एंव प्रख्यात प्रशिक्षक सुमन शाक्य, कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतम, हेल्भटास नेपालका मधेश संयोजक कृष्णलाल कर्ण, खल्ती एपका सहसंस्थापक अमित अग्रवाल, उपायका सहसंस्थापक रञ्जीव श्रेष्ठलगायतले आ–आफ्ना अनुभव साझा गर्नेछन् ।
अध्यक्ष टेमानीकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासंघको स्टार्टअप समितिका संयोजक अनुप अग्रवाल,वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, लगायतकाकोपनि उपस्थिती थियो ।