१. नवजात शिशुमा कस्ता समस्याहरु हुन्छन् ?
बच्चा जन्मेदेखि पहिलो २८ दिनसम्मको नवजात शिशु भनिन्छ । अहिले धेरै जस्तो समस्या भनेको बच्चा जन्मे पछि नरुने वा ढिलो रुने समस्या देखिएको छ । यस्तो समस्या अत्याधिक रुपमा बढिरहेको छ । बच्चाले पेटमा नै दिसा गर्ने र दिसा खाने भएकोले बच्चाको श्वासप्रश्वासमा समस्या हुन्छ । समय पुग्नुभन्दा पहिला नै बच्चाको जन्म हुने, बच्चा जन्मेपछि इन्फेक्सन हुने, जन्डिस हुने, जन्मजात कुनै आन्तरिक बनावट कमजोर भएका नवजात शिशुहरुको जन्म भएको हुन्छ । यो अवस्थाबाट बच्चालाई बचाउनु पर्छ ।
२. नवजात शिशुमा उक्त समस्या आउनुको कारण के हो ?
जब सन्तानको योजना गरिन्छ, त्यो समयदेखि नै धेरै कुरामा ध्यान दिनुपर्छ । गर्भवती हुनु भन्दा ३ महिना अघिदेखि नै फोलिक एसिड खान सुरु गर्नु पर्छ । जनचेतनाको कमीले गर्दा गर्भ रहन्छ । तर ति महिलाले फोलिक एसिड खान सुरु गरेका हुदैनन् । जसले गर्दा बच्चाहरुमा समस्या आउने गर्दछ । महिलाहरुमा गर्भवती भएपछि नेपाल सरकारले गर्भवती महिलाले गर्भ जाँच गर्ने तालिका बनाएको छ । त्यो अनुसार जाँच गर्ने, भिडियो एक्स–रे गर्ने, आइरन चक्की, जुकाको औषधी, क्याल्सियम जस्ता औषधीहरुको सेवन नगर्ने, टि.टी. खोप लगाउने गरेको हुदैनन् । गर्भवती आमाहरुलाई कुनै किसिमको बिरामी भएमा समयमा जाँच गराउन कमी भएको पाइन्छ । कतिपय महिलाहरु सुत्केरी व्यथा लागेर मात्र अस्पताल आउँछन् । गर्भवती अवस्थामा पनि थाइराइडको समस्या, व्लड प्रेशर बढ्ने, सिफ्लिस, गोनोरिया जस्ता रोगहरु हुने, रगत र पिसाबमा संक्रमण भइरहेको कतिपय गर्भवती महिलाहरुलाई थाहा हुदैन । बच्चा जन्मिए पनि बच्चाहरुलाई गाह्रो हुन्छ । गर्भवती महिलालाई गर्भावस्थाको बारेमा र गर्भावस्थामा हुने समस्याको बारेमा राम्ररी ज्ञान हुन जरुरी छ । सुत्केरी गराउँदा कुन कुरामा ध्यान दिने, कसरी गर्ने, कुन ठाउँमा गएर सुत्केरी गराउने भन्ने विषयमा राम्रो जानकारी हुनुपर्दछ । आमा र बच्चाकोलागि पूर्व तयारी गर्नुपर्दछ । गर्भ रहेको थाहा पाएदेखि सुत्केरी नभएसम्म स्त्री तथा प्रसुति रोग विशेषज्ञसंग जाँच गराउनु पर्दछ । महिलाको अगाडी गर्भपतन भएको छ भने दोहोरिएर गर्भपतन हुन सक्छ । आमालाई मुटुको रोग भएको छ भने बच्चालाई पनि समस्या हुन सक्छ । त्यसैले यस्ता समस्या भएका महिलाहरुले डक्टरको सल्लाह अनुसार गरेमा धेरै समस्याबाट बच्न सकिन्छ ।
३. नवजात शिशुलाई संक्रमणको जोखिम किन हुन्छ ?
नवजात शिशुमा हुने संक्रमाणलाई दुई भागमा बाडेर बुझ्न सकिन्छ । पहिलो चरण जन्मको बेलादेखि ७२ घण्टा भित्र संक्रमण हुने र दोस्रो चरणको ७२ घण्टादेखि २८ दिनसम्मको शिशुमा हुने संक्रमण भनेर विभाजन गरिएको छ । पहिलो चरणको संक्रमणमा ज्वरो आउने, निमोनिया हुने, श्वासप्रश्वासको कमी हुने, दुध राम्ररी खान नसक्ने, मस्तिष्क ज्वरो, मुटुका समस्या हुने, सुगर घट्ने समस्याहरु हुन्छ । नवजात शिशु संक्रमणको जोखिममा पर्ने भनेको आमा संक्रमित भएमा पनि हुन्छ । गर्भवती महिला सुत्केरी हुनुभन्दा दुई हप्ता पहिलादेखि वा सुत्केरी भएको समयमा ज्वरो आएमा, पिसाबमा इन्फेक्सन भएमा बच्चालाई पनि सर्न सक्छ । सुत्केरी हुने स्थान कस्तो छ, सुत्केरी गराउने स्वाथ्यकर्मीले सरसफाईमा कत्तिको ध्यान दिएको छ यसमा निर्भर हुन्छ । सुत्केरी गराउने औजारहरु कत्तिको सफा छ, बच्चा जन्मेपछि नाल काट्ने सफा ब्लेड, पञ्जाको प्रयोग गरेको छ वा छैन । बच्चा जन्मेको ७२ घण्टापछि कुनै इन्फेक्सनले संक्रमित भएको छ भने पछिल्लो चरणको संक्रमण हो । बच्चा अस्पतालमा हुदाँ स्वास्थ्यकर्मीको कमजोरीबाट, बच्चाको स्याहार गर्ने आमाबुबाबाट, वरिपरीको वातावरणबाट इन्फेक्सन सर्न सक्छ ।
४. संक्रमित नवजात शिशुको उपचार विधि के छ ?
नवजात शिशु अवस्था सम्वेदनशील अवस्था हो । यो अवस्थामा बच्चाको राम्रो हेरचाह गर्नुपर्छ । संक्रमित बच्चाहरुलाई एन. आइ.सि.यूमा राखेर उपचार गर्नु पर्छ । भ्यान्टिलेर भएको, ब्लड चढाउन मिल्ने, सबै खालका औषधी उपलब्ध भएको सुविधा सम्पन्न अस्पतालमा लानु पर्छ । एन.आइ.सि.यूमा काम गर्ने स्वास्थ्यकर्मी तालिम प्राप्त हुनुपर्छ । २४ घण्टा डाक्टर उपलब्ध हुने स्थानमा राखेर उपचार गर्नुपर्छ । इन्फेक्सन भएको छ भने एन्टिबायोटिक चलाउनु पर्छ । श्वासप्रश्वासमा अक्सिजन दिनुपर्छ । बच्चाको अवस्था हेरेर भ्यानिटलेटरमा राखेर पनि उपचार गर्नुपर्ने हुन्छ । यदि नवजात शिशुमा समस्या देखिएमा ढिलो नगरी तुरुन्त डाक्टरलाई जाँच गराएर उपचार सुरु गरिहाल्नु पर्छ ।
५. नवजात शिशुलाई संक्रमित ह्ुन नदिन कस्तो सावधानी अपनाउनु पर्छ ?
सबैभन्दा मुख्य भनेको रोग लाग्न नदिनु नै राम्रो हुन्छ । गर्भवती भएदेखि नै हरेक महिलाले खानपानमा ध्यान दिनु पर्छ । पोषिलो खानेकुराहरु खाने, सरसफाईमा ध्यान दिनुपर्छ । बेला–बेलामा प्रसुति रोग विशेषज्ञसंग गएर तालिका अनुसार बच्चा र आमाको अवस्थाको जाँच गराउनु पर्छ । औषधीहरु नियमित सेवन गर्नुपर्छ । आमालाई पोषकतत्व राम्रोसंग पुगेको छैन भने त्यस्ता गर्भवती महिला पनि कमजोरी हुन्छन् । उनले जन्माएको बच्चा पनि कमजोर हुन्छ । सुत्केरी गराउने समयमा सुरक्षित सुत्केरी कसरी गराउने भन्ने विषयमा परिवारको सबै सदस्य जिम्मेवारी हुन्छ । सबैले पूर्वतयारी भएर बस्नु पर्छ । गर्भवती समयमा आउने समस्या समाधान गर्नसक्ने खालका अस्पतालमा डक्टरले दिएको मिति भन्दा अगाडी नै जानुपर्छ । नेपालको बर्थिङ्ग सेन्टरहरुमा सुत्केरी गराउँछन् । तर कुनै जटिलता आएमा त्यसको समाधान हुन सक्दैन । बच्चा जन्मेर बच्चा रोएन भने त्यस्ता बच्चाहरुलाई अक्सिजनको कमी हुन्छ । अक्सिजनको कमीले गर्दा ब्रेनको (कोष) तन्तुहरु मर्न थाल्छ । यो कुनै औषधीले ठिक हुदैन । यस्तो खालका बच्चाहरुलाई पछि गएर समस्या आउँछ । बच्चाको जुन किसिमले मानसिक विकास हुनुपर्ने हो,त्यो हुन सक्दैन । बच्चा समयमा बोल्न, हिड्न, बस्न सक्दैन । पढाइ, लेखाइमा राम्रो हुदैन । बच्चाले अपाङ्ग जीवन बिताउनु पर्ने हुन्छ । त्यसैले गर्भावस्थादेखि बच्चा जन्मदासम्म गर्भवती महिलाको राम्रो हेरचाह सावधानी अपनाएमा नवजात शिशु संक्रमित हुने समस्या कम हुन्छ । नवजात शिशुलाई इन्फेक्सन हुने सम्भावना धेरै भएकोले आमाहरुले कसरी स्याहार गर्ने विषयमा ध्यान दिनुपर्छ । बच्चालाई छुनुभन्दा पहिले हात सफा गर्नुपर्छ । आँखामा गाजल लगाउने, कान, नाक, तालु, नाइटोमा तोरीको तेल हाल्ने र जिउमा लगाउने परम्परा छ । यो गलत हो, यसलाई सच्याउनु पर्छ । यसले गर्दा बच्चालाई इन्फेक्सन हुन्छ । सरसफाईमा ध्यान दिनुपर्छ । पोषिलो खानेकुराहरु खुवाउनु पर्छ । सुत्केरी गराउँदा राम्रो बर्थिङ्ग सेन्टर हेरेर सुत्केरी गराउनु पर्छ । डक्टरको सल्लाह अनुसार उपचार गरेमा धेरै रोगको समस्या समाधान हुन सक्छ ।
६.नवजात शिशुको मृत्यु हुनुको कारण के हो ?
नेपालको सन्दर्भमा हेर्दा समयभन्दा पहिला नै बच्चा जन्मिनु मुख्य कारण हो । गर्भ रहेको ३७ हप्ता वा नौ महिना पुरा भएपछि नर्मली बच्चा जन्मिनु पर्छ । प्रायः गरेर ३१, ३२, ३३, ३४ हप्तामा बच्चा जन्मिरहेको हुन्छ । जसले गर्दा त्यस्ता बच्चाहरुमा विकास राम्रोसंग हुन सक्दैन । श्वास प्रश्वासमा समस्या हुने, श्वास बन्द हुने, बच्चाको रक्त संचारमा संतुलन हुन सक्दैन, इन्फेक्सन फैलिदिने जस्ता समस्याले गर्दा बच्चाहरुको मृत्यु हुन सक्छ । नर्मल बच्चा जन्मेको १ मिनेट भित्र बच्चा रुनु पर्छ । बच्चा रुदै रोएन, गाह्रो भयो, चम्कि आयो भने यस्ता बच्चाहरुलाई बचाउन गाह्रो हुन्छ ।
७. अन्त्यमा थप केही सुझाव दिन चाहनु हुन्छ ?
गर्भावस्था भनेको एउटा यस्तो अवस्था हो गर्भवती महिलामात्र नभई परिवारको सबै सदस्य जिम्मेवारी हुनुपर्छ । आमा र बच्चालाई राम्रोसंग स्याहार सुसार, हेरचाह गर्ने परिवारको सदस्यको जिम्मेवारी अन्तर्गत पर्छ । बच्चा जन्मनुभन्दा अगाडी नै सुत्केरी कहाँ गराउने, कसरी गराउने भन्ने कुरा बुझिदिनु पर्ने हुन्छ । बच्चा जन्मेपछि पाउडर दुध, गाईको दुध, बाख्रा दुध, भैसींको खुवाउने गर्दछन् । त्यो गलत कुरा हो । बच्चा जन्मेको ६ महिनासम्म आमाको दुध खुवाउनु पर्छ । आमाको दुध खान पाउने सबै बच्चाको अधिकार हो । बच्चा जन्माइसकेपछि स्तनपान गराउनु सबै आमाको कर्तव्य हो । नेपालको सन्दर्भमा हेर्दा ६ महिनासम्म दुध खान ५० प्रतिशत बच्चाले मात्र पाएका छन् । ५० प्रतिशतले पाउडर दुध, गाई, भैसींको दुध खाइरहेका हुन्छन् । त्यसैले गर्दा तत्काल र भविष्यमा पनि समस्या हुने गर्दछ । ६ महिना पुगेपछि २ वर्षसम्म आमा दुध र केही थप खानेकुरा खुवाउन सकिन्छ । बच्चाको सरसफाईमा ध्यान दिनुपर्छ । बच्चाको स्याहार सुसारमा ध्यान दिनुपर्छ । आँखामा गाजल नलगाउने, कानमा तेल नहाल्ने । बच्चाहरुलाई रुघा लागेमा, खोकी लागेमा, ज्वरो आएमा, दुध नखाएमा, श्वासप्रश्वासमा समस्या भएमा बच्चालाई जाँच नगरी औषधी पसलबाट औषधी किनेर खुवाउनु हुदैन । बच्चालाई समस्या भएको थाहा पाएमा समयमा नै उपचार गरेर धेरै किसिमका समस्याबाट मुक्त हुन सकिन्छ । बच्चालाई नरिवलको तेल प्रयोग गर्न सकिन्छ । बच्चाको छाला अनुसार नरिवलको तेलले कुनै किसिमको असर नगर्ने भएकोले उपयुक्त मानिन्छ ।