रौतहटको राजदेवी नगरपालिका वडा नं ६ करवानाको दलित बस्तीमा बस्ने ४० वर्षीय पानती देवी पासवान (नाम परिवर्तन) ले महिनावारीमा सेनेटरी प्याडको प्रयोग गरेकी महिलाको कपडा खसेको आफ्नै आँखाले देखेकी छन् । उनलाई त्यो दृश्य सम्झँदा अझै उनलाई झस्काउँछ । कारण महिनावारीको समयमा ती महिलाले लज्जास्पद हुनु परेको घटनाले अझै पानती देवीलाई समेत झस्काउने गरेको हो ।
बागमतीमा डुंगा चढ्न बसेका मानिसहरुका बीचमा ती महिलाले प्रयोग गरेको कपडा एकाएक भूईंमा खसेर लाजमर्दो बनाएको दृश्यले पानती देवी समेत झस्किन्छिन् । महिनावारीको कुरा उठ्नासाथ उनलाई त्यो घटनाले अझै झस्काउने गरेको छ । त्यो कपडा उनले हतार–हतार टिपेर नदीमा फालेको देखेकी पानती देवीको मानसपटलबाट त्यो क्षण फालिन सकेको छैन । भन्छिन् ‘अहिले सम्झदा पनि जीउ जिरिंग हुन्छ’ । उनलाई महिलाहरुले महिनावारी हुँदा कपडा प्रयोग गर्ने कुरा कहिल्यै चित्त बुझेको छैन । महिनावारीको बेला सधैंजसो त्यो घटना आफूलाई नि पर्ने हो कि भनेर भयले पानती देवी सतर्क हुन परेको तर्क गर्छिन् । उनलाई पनि कपडा प्रयोग बारे चित्त बुझेको छैन । तर महिलाहरुको यो बाध्यकारी अवस्था अझै टरिसकेको छैन । धेरै महिलाहरु र विशेषगरी अशिक्षित र आर्थिक अवस्था न्युन भएका महिलाहरुलाई यो बाध्यकारी अवस्थाले अझै गाँजिरहेको छ ।
‘हुन त पहिले प्याड कहाँ नै पाईन्थ्यो र ? न त महिलाहरुले लगाउने पेन्टी नै ? भर्खर भर्खर त यसबारे अलि सबैको चासो बढेको हो । अहिले यसको बारे थाहा भए पनि प्याडलाई महिनै पिच्छे किन्न आर्थिक रुपले पनि धेरै महिलालाई सम्भव नभएको पाइएको छ । पानती देवी प्रत्यक्ष घटनालाई आधार मान्ने हो भने यसमा दुईवटा कुरा अवश्य खुल्छ । पहिलो त धेरैलाई प्याड, पेन्टीको प्रयोग बारे नै थाहा छैन । अर्को थाहा भएर पनि त्यो अत्यावश्यक कुराहरुमा उनीहरुको पहुँच पुग्न सकेको छैन । पहिला त पानती देवीलाई नै पनि महिनावारीको बेला प्याडको प्रयोग गर्नुपर्छ भन्ने बारेमा थाहा रहेनछ । तर अहिले थाहा भएर पनि उनले आफ्नो महिनावारीमा कपडा नै प्रयोग गर्ने गरेको समेत खुलासा गरिन् । उनलाई प्याड प्रयोग गर्न मन नलागेको भने होइन रहेछ । त्यो उनको बाध्यता रहेछ । महँगीले आकाश छुन लाग्दा उनको परिवारलाई अहिले खान लाउन समेत धांंै–धांै परेको छ । यस्तो समयमा उनको लागि अत्यावश्यक वस्तुमा प्याड पर्दैन । फेरि एकपटक किनेर एउटा प्याकेट किनेर मात्र पनि त सधैलाई हुने बस्तु पनि होइन त्यो । त्यसैले अहिले उनको लागि घर खर्च महिनावारीको खर्चभन्दा महत्वपूर्ण बनेको छ । एउटा महिला महिनामा एकपटक महिनावारी हुन्छिन् । त्यो एक महिनामा कम्तिमा चार दिन÷चाररात उनले आफ्नो महिनावारीमा प्याडको प्रयोग गर्नै पर्छ । फेरि एक पटक महिनावारी हुँदा यति वटा नै प्याडको प्रयोग हुन्छ अथवा गर्नुपर्छ भन्ने ठ्याक्कै वैज्ञानिक जवाफहरु हुँदैन । किनकि महिलै पिच्छे यो फरक हुन्छ । कसैलाई कम हुन्छ कसैलाई धेरै । एउटा प्याकेट प्याडको सस्तोमा ७०÷८० रुपैयाँ पर्छ । यदि एउटा घरमा धेरै महिला छन् भने त त्यहि अनुसारको आवश्यकता पनि पर्छ । ७०÷८० रुपैयाँ वाला प्याडको एक प्याकेटमा ८ वटा प्याड हुन्छ । फेरि सबैलाई एक प्याकेटले पुग्छ भन्ने पनि हुँदैन पानती देवीले विस्तृतमा बताइन् । यो वास्तविकता उनको मात्र होइन । उनका छिमेकी महिलाहरुले पनि यो वाध्यता सबैलाई रहेको तर्क गरे । घरको एक जनाले मजदुरी गरेर घरखर्च चलाउनु पर्ने वाध्यताका बीचमा महिलाहरुको लागि पसलको प्याड उत सहज नभएको उनीहरुको भनाइ छ ।
जनचेतना र आर्थिक भार सँगै अशिक्षाको कारण पनि महिलाहरुले महिनावारीमा प्याड प्रयोग गर्न सक्ने अवस्था भने सबै महिलाको नभएको महिला अधिकारकर्मीहरुको पनि भनाइ छ । महँगी अथवा भनौं पहुँच पनि अर्को महत्वपूर्ण कारण भएको ग्रामिण महिलाहरु बाध्यता रहेको उनीहरुको तर्क छ । हेल्थ पोस्टमा गयो भने सजिलै पाउन सकिन्न । धेरै चोटि फर्केर आएका छौं । नजिकमा पसल पनि छैन करवाना बस्ने महिलाहरुले अर्को पनि समस्या बताए । त्यो एक प्याकेट प्याडको लागि पनि दिनभरि कुर्नुपर्ने बाध्यताले आफ्ना सबै कामकाज ठप्प पारेर स्वास्थ्य चौकी जानुभन्दा त कपडा प्रयोग नै ठिक भनी त्यसको प्रयोग नछोडेको उनीहरुको भनाइ छ । कपडा प्रयोग गर्न भने मन नभएको तर बाध्यता सामु विकल्प नभएको करवानाका महिलाहरुले बताए । प्याड छैन अनि त उही कपडा नै उपलब्धताको हिसाबले हाम्रा लागि सहज छ उनीहरुले भने पनि ।
आर्थिक हिसाबले कपडा नै उपयुक्त भनिए पनि धेरै महिलाहरु गर्मीयाममा कपडाको प्रयोग निकै गाह्रो हुने गरेको बताउँछन् । सुतीको कपड़ा बाहेकको कपडा प्रयोगले खेतबारीमा काम गर्दा अनेक समस्या झेल्न परेको कतिपयको गुनासो छ । खुट्टाको दुवै तिघ्रामा घाउ भएको केहीले बताए । बाध्यताको पीडा कसलाई सुनाउनु ? एक त प्रकृतिले पनि बाध्यतामा पारेको छ । त्यसमाथि व्यवहारिक बाध्यताले थप बाध्यता थपिएको पीडित बनेका केहीले नाम उल्लेख नगर्न भन्दै लजाउँदै बताए । ‘भन्न त कपडाको प्रयोग पनि गर्न सकिन्छ । तर नयाँ कपडाको प्रयोग गर्नु भन्छन् । तर कपडा पनि कहाँबाट कति ल्याउनु ? नयाँ कपडा पनि त सधैं प्रयोग गर्न कहाँबाट पाउनु ? पुरानो कपडा सफा गरेर प्रयोग गर्ने गरिन्छ । यदि कपडाको प्रयोग राम्रो होइन भने सरकारले किन स्कूलका केटीहरुको लागि मात्र प्याडको व्यवस्था गरेको छ त ? त्यसरी नै हामी जस्तो समुदायका महिलाहरुको लागि पनि सरकारले केही व्यवस्था गरिदिन ुपर्यो नि पानती देवीले सरकारसँग माग गरिन् । पानती देवीको कुरामा अरु महिलाहरुले हो मा हो मिलाए । स्वास्थ्यको मात्र कुरा गरेर भएन । हामीलाई सुविधा पनि दिनु प¥यो नि उनलेहरुले तर्क गरे ।
करवाना टोलका महिलाहरुले मात्र नभई स्थानीय किशोरीहरुले समेत प्याड नपाएपछि कपडा नै प्रयोग गर्ने गरेको बताए । महिनावारीको दौरानमा स्कूल गएका समेमा स्कूलमै प्याड पाइन्छ । तर नगएका समयमा घरमा महिनावारी हुँदा आफ्ना आमाहरुले जस्तै आफूहरुले पनि अक्सर कपडा नै प्रयोग गर्ने गरेको उनीहरुको पनि भनाइ छ । अर्को कुरा सक्नेले किनेर राख्छन्, किन्न नसक्नेले कपड़ा नै प्रयोग गर्नुको विकल्प छैन । उनीहरुले पनि बताए । ‘हुनेखानेले प्याड नै प्रयोग गर्छन् । तर हामी दलित बस्तीका महिलाहरुलाई महिनावारीको समयमा प्याड नहुँदा कपडा प्रयोग गर्नु बाध्यता हो । यो कुरा राज्यले हाम्रो वास्तविक कुरा बुझेको छैन । वडामा महिलाहरुको लागि प्याड आउँछ रे ! कतिले लगेर प्रयोग पनि गरिरहेकै छन् रे । तर हामीलाई यस बारे पत्तो पनि हुँदैन । मागेको बेला दिँदैनन्, दिएको बेला थाहा नै हुँदैन । खासमा अरु सरकारी सेवाजस्तै यो पनि जसको पहुँच उसले नै पाउने हो कि’ पानती देवीले दुःखेसो गरिन् ।
कपडाकै प्याड पनि कसरी लाउने, कस्तो कपडा लाउने भनेर यो टोलमा अहिलेसम्म कसैले सिकाएका छैनन् यहाँका महिलाहरुलाई उनीहरुले भने । यहाँका महिलाहरुले सफा हुनुपर्छ भन्ने मात्र सुनेका छौं । तर कुन कपड़ा कति समय प्रयोग गर्ने, के गर्ने भन्ने बारे कुनै निकायबाट यो बस्तीमा कोहि गरेका छैनन् । ‘त्यही कारण हामीहरु सुरुमा महिनावारी हुँदा जे जसो सिकायो त्यसरी नै गर्दै आएका छौं’ उनीहरुले भने ।
यस्तै राजदेवी नगरपालिका वडा नं ९ राम टोला निवासी २८ वर्षिय (नाम परिवर्तन) सिवी देवी राम पनि महिनावारी हुँदा कपडा नै प्रयोग गर्ने गरेको बताउँछिन् । उनले स्वास्थ्य चौकीमा प्याड दिन्छन् भन्ने सुनेपछि लिन गएको । तर प्याड लिन जाँदा त्यहाँको कर्मचारीले झपारेर पठाएको दुखेसो गर्छिन् । कर्मचारीका अनुसार सुत्केरी महिलालाई मात्र स्वास्थ्य चौकीले प्याड दिने गरेको बताए उनले भनिन् । त्यो पनि एक÷दुई प्याकेट मात्र । प्याड सम्बन्धी यो तितो अनुभवले पनि उनी गालि खाई–खाई प्याड ल्याएर प्रयोग गर्न मन नलागेको बताउँछिन् । प्याड प्रयोग गर्यो भने सजिलो हुन्छ जस्तो लाग्छ । तर प्याड भयो भने कहिँ आउन जान पनि केही समस्या हुँदैन जस्तो लाग्छ । प्याड छैन मन भए पनि नभए पनि आखिर त्यहि कपडा नै त प्रयोग गर्नुपर्ने बाध्यता छ नि सिवी देवीले पनि बताइन् ।
सिवी देवीको अनुसार यदि समुदायमै प्याड उपलब्ध गराउने हो भने कसैले पनि कपडा प्रयोग गर्दैनन् । तर विडम्बना यहाँ त स्थानीय सरकारले लक्षित समुदायको लागि केहि उपलब्ध गराए पनि लक्षित समुदायको पहुँचमा त्यो पुग्न नसक्दा उनीहरुको समुदाय सधैं अप्ठ्यारोमा छ । यो दलित बस्तीका महिलाको समस्या स्थानीय सरकारलाई प्रतिनिधित्व गर्ने महिला जनप्रतिनिधिहरुले समेत नबुझेको आरोप धेरै महिलाहरुको छ । राजदेवी नगरपालिका ६ करबाना निवासी दलित समुदायको वर्ष ४९ को (नाम परिवर्तन) झरी देवीले पनि अरुले जस्तै १४÷१५ वर्षको हुँदादेखि अहिलेसम्म कपडा नै महिनावारीको बेला प्रयोग गर्दै आइरहेको बताइन् । उनको बस्तीमा महिनावारीको स्वास्थ्यको बारेमा सोध्न अथवा जानकारी दिन अहिलेसम्म कोहि नआएको उनको पनि गुनासो छ । प्याड बारे त्यहाँका महिलाहरुलाई सोध्ने हामी पहिलो व्यक्ति हौँ रे संचारकर्मीसँग उनले भनिन् । अहिलेसम्म न कोहि जनप्रतिनिधी न त कुनै संघ संस्था त्यहाँ महिलाहरुको महिनावारी सम्बन्धित स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुगेको छ ? महिलाहरुले जनप्रतिनिधिले चासो नदेखाएको बारे भनेपछि हामीले राजदेवी नगरपालिका वडा नं ६ का दलित महिला सदस्य ३५ वर्षिय मिनादेवि चमारसँग पनि यो बारे कुरा गर्यौं । उनी भन्छिन् ‘आफूहरु वडा सदस्य भएको तर गाउँमा महिलाहरूले प्याड नपाएको कुरा आफूलाई थाहा नभएको भन्दै कसैले केहि जानकारी नै नदिने गरेको उनको पनि गुनासो छ । उनकै घरपरिवारका महिलाहरु पनि प्याड नै प्रयोग गर्दैनन् । महिनावारी भएको बेला घरमा खोजी खोजी सुतीको कपडा प्रयोग गर्ने त्यहाँका महिलाहरुको रहर नभएर बाध्यता हो उनी भन्छिन् । यति मात्र होइन स्वास्थ्य संस्था मार्फत् आवश्यक परेकोलाई महिनावारीको बेला प्याड दिने कुरा आफूलाई पत्तो समेत नभएको भन्दै पालिका या वडाले दिने सेवा सुविधा बारे वडा सदस्यहरुलाई जानकारी पनि गराउँदैनन् । खालि केही पर्यो भने हस्ताक्षर मात्र गर्ने गरेको भन्दै आफ्नो आक्रोश समेत पोखिन् । महिला जनप्रतिनिधि भनेर मात्रै के गर्नु । त्यसमाथि दलित समुदायको महिला त्यति पढे लेखेको पनि छैन आफूहरुलाई कुनै कुरा पनि जानकारी हुँदैन के गर्ने–नगर्ने ? कसरी के गर्ने दोधारमा पर्छु कहिलेकाहीं त ? कपडा भन्दा प्याडको प्रयोग गर्न सजिलो भएता पनि किनेर प्रयोग गर्न त सकिन्न । सित्तैमा पाएको बारे थाहा नभएको उनले भनिन् । उनको जस्तै गुनासो राजदेवी, हिवा देवीको पनि छ । उनीहरुलाई पनि प्याड वितरण बारे केही थाहा नभएको उनीहरुको गुनासो छ ।
‘हामीलाई त केही थाहा नै छैन । प्याड वितरण बारे हामी जनप्रतिनिधी त हौँ । तर हामीलाई केही जानकारी नै गराउँदैनन् स्वास्थ शाखा या पालिकाले । अरु बेला बैठक हुँदा मात्र हस्ताक्षर गर्न बोलाउँछ । कतिपय कुराको जानकारी हामीभन्दा पहिला आम जनतालाई नै थाहा हुन्छ । अरूबाट बरु हामीले जानकारी पाउँछौं ।‘ उनको यो भनाईबाट स्पष्ट हुन्छ कि चुनावमा जितेपनि दलित महिला वडा सदस्यहरु स्थानीय सरकारको प्राथमिकतामा छैन । जब हस्ताक्षर चाहिन्छ कुनै निर्णयमा त्यति बेला मात्र उनीहरुलाई सम्झने र अरु बेला कुनै महत्व नै नदिने परिपाटीबाट महिला जनप्रतिनिधिहरु आफै ग्रसित हुँदा महिलाको मुद्दाहरुको बारे काम गर्न नसकेको उनीहरु स्वीकार्छन् । यस्तै राजदेवी नगरपालीका स्वास्थ शाखा प्रमुख रमाकान्त यादवले समुदायका महिनावारी हुने महिलाहरुको लागि शाखाबाट सबै वडामा माग अनुसार प्याड वितरण गर्ने गरेको बताए । सबै महिलाहरुले प्याड नपाएको गुनासो आएको र यस गुनासोलाई आगामी दिनमा सुधार गरेर जाने उनको भनाइ छ । स्वास्थ चौकीमा प्याड वितरण बारे अनुगमन समेत गर्ने प्रतिबद्धता उनले जनाए । राजदेवी नगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷८० को भदौसम्म नगरपालिकाले हजमिनिया स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र मोतिपुर, झुनखुन्वा स्वास्थ्य चौकी, नगर स्तरीय अस्पताल चनढीया, बसतपुर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र सेढवा मोहनपुर, मुडबलबा स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र मुडबलबा, लक्ष्मीपुर वेलविच्वा स्वास्थ्य चौकी, बरहमपुरी स्वास्थ्य चौकी गरी १२ स्वास्थ्य चौकीमा पलिकाले नौ हजार सेनेटरी प्याड वितरण गरिसकेको छ । जसमध्ये तथ्यांक अनुसार दलित समुदायका मात्रै ७ सय ८४ महिलाले प्याड लिएको त्यहाँको तथ्याँक छ । राजदेवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थले सेनेटरी प्याड खास गरी स्कूलले माग गरे अनुसार महिनावारी हुने किशोरीको लागि स्कुललाई वितरण गरिएको जानकारी दिए । उनले समुदायका महिलाहरुलाई आवश्यकताका आधारमा स्वास्थ्य चौकीले वितरण गर्ने गरेको र सबैलाई दिनभन्दा पनि जसलाई आवश्यक परेको छ उसलाई दिने गरेको उनको तर्क छ ।
यस समुदायका महिलाहरु भने अब प्याड पनि कसलाई आवश्यक पर्ने र कसलाई नपर्नेभन्दा पनि आवश्यक सबैलाई पर्ने हो । जुन महिलामा महिनावारी हुन्छ, सबैलाई दिनुपर्छ भन्छन् । महँगो भएकोले पसलमा महिनै पिच्छे किन्न गाह्रो हुन्छ । यदि कतैबाट निःशुल्क लिन सकियो भने त हामी प्रयोग गरिहाल्छौं भनेर महिलाहरुले स्थानीय सरकारले आवश्यक पर्नेलाई दिने भन्ने कुराको खण्डन गरे । बजारमा पाईने प्याड महँगो भएर मासिक प्रयोग गर्न धेरै महिलाहरुलाई गाह्रो भएको पाइएको छ । यद्यपि स्थानीयस्तरमा नै गाउँ घरमै प्याड बनाउने मेसिन भए सस्तो पर्ने र महिलाहरुले रोजगारी समेत पाउने बहस भईरहँदा रौतहटमा भने प्याड बनाउने कार्य अझसम्म कसैले नथालेको महिलाहरुको भनाइ छ । घरेलु तथा साना उद्योग कार्यालय रौतहटका सूचना अधिकारी प्रमोद कर्णले प्याड बनाउनका लागि भनेर अहिलेसम्म दुई वटा मात्रै संस्था दर्ता भएको जानकारी दिए ।
महिनावारीको बेला कपडा प्रयोगको तरिका नजान्दा या फोहोर कपडा प्रयोग गर्दा महिलाहरुको स्वास्थ्यमा धेरै किसिमका सङ्क्रमणहरु हुने सम्भावनाहरु बढ्छ । यस बारे प्रादेशिक अस्पताल गौरमा विगत लामो समयदेखि (एमडिजीपी) स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोपाल कुमार गुप्ताले भने । ‘महिलाको जननेन्द्रियबाट प्रत्येक महिना रगत निस्कने प्रक्रियालाई महिनावारी वा रजस्वला भन्ने गरिन्छ । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुन्छ । यो शारीरिक परिवर्तनमध्येको एक नमूना हो उनले भने । महिनावारी प्राकृतिक सरसफाई प्रक्रिया हो । महिनावारी हुनु भनेको एउटी युवती गर्भवती हुन तयार भएको सङ्केत हो । महिलालाई महिनावारी हुँदा सामान्य दिनहरुमाभन्दा बढि सरसफाई र खानपानमा ध्यान दिनु पर्ने उनको सुझाव छ । यदि महिनावारीको समयमा फोहोर कपडा प्रयोग गर्यो भने राम्रोसँग नधोई राख्यो भने यसले महिलाको योनी, पाठेघर लगायतमा विभिन्न किसिमका सङ्क्रमण हुने उनको तर्क छ । फोहोर कपडा या राम्रोसँग नधोई कपडा प्रयोग गरेमा युतीअई र पिटिडि जस्ता रोग लाग्ने खतरा हुन्छ । यो रोग संगक्रमणको कारणले हुने गर्छ र यो रोग लाग्यो भने योनीबाट सेतो पानी बग्ने, योनिमा चिलाउने, गन्हाउने पानी आउने, ज्वरो आउने, भोक नलाग्ने जस्ता लक्षणहरू देखा पर्ने चिकित्सकहरुको भनाइ छ । यस्तो अवस्था आएमा नलजाइकन चिकित्सक कहाँ गएर जाँच गराउनु पर्छ उनीहरुले भने । महिनावारीको बेला महिलाहरुले प्याड नै सकभर प्रयोग गर्नुपर्ने नभए कपडा प्रयोग गर्दा राम्रोसँग साबुन पानीले उपलब्ध भए डिटोल पानी, मन तातो पानीले धोएर घाम लाग्ने ठाउँमा २÷३ घण्टा मज्जाले सुकाउने गर्नु उचित हुने चिकित्सकहरुको भनाइ छ । त्यसो गरे ब्याक्टेरिया मर्ने र महिलाहरु पनि स्वस्थ्य हुने डा. गुप्ताले पनि विस्तृतमा बताए । महिनावारी भएको बेला राम्रोसँग धोएको कपडा प्रयोग गर्ने । तर त्यही कपडा फेरि अर्को महिना प्रयोग नगर्ने उनको सुझाव छ ।
चिकित्सकहरुले यस्तो कुरा भनिरहँदा पनि अन्ततः महिलाहरु चिकित्सकहरुले सुझाव दिए जस्तो पनि प्रयोग गर्न सक्षम छैनन् । महिलाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता महत्वपूर्ण पक्षहरु महँगी र सरकारको कार्यान्वयन पक्षको कमजोरीले व्यवहारिक रुपमा भइसकेको छैन । अब त स्थानीय सरकार समेत बनिसकेको अवस्थामा विद्यालयमा किशोरीहरुका लागि निःशुल्क प्याड जस्तै ग्रामिण महिलाहरुको लागि अझ विशेषगरी सिमान्तकृत समुदायका महिलाहरुको लागि समेत लक्षित कार्यक्रम गरी चुस्त कार्यान्वय गरिनु पर्ने महिलाहरुको तर्क छ ।