काठमाडौं, १४ भदौ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले विमिस्टेकको उद्घाटन समारोहलाई सम्वोधन गर्दै आगन्तुक राष्ट्र प्रमूख तथा सरकार प्रमूखहरुलाई बुध्द र सगरमाथाको देशमा स्वागत गर्नु भएको छ ।
विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने वंगालको खाडी क्षेत्रका राष्ट्रहरुका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्तिपूर्ण, समृद्ध र दिगो विकास कायम गर्ने प्रतिबद्धताका साथ उपस्थित भएका छौं भन्दै उहाँले विमिस्टिकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्ने बताउनुभयो ।
विमिस्टिक सम्मेलनमा सहभागि विभिन्न देशका राष्ट्र प्रमुखहरु ।सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रहरुमा समृद्ध प्राकृतिक सम्पदा, कृयाशील जनसंख्याबाट श्रृजना हुने अनगिन्ति अवसरहरु रहेको भन्दै प्रधानमन्त्री ओलीले हाम्रा पूर्खाबाट विवेक, ज्ञान पनि पाएको उल्लेख गर्नुभयो । यस क्षेत्रका जनतालाई गरीवीको साँग्लो र अभावको कुचक्रबाट मुक्त गर्नु पर्ने विचार राख्दै उहाँले भन्नु भयो, ‘‘हामीले विमिस्टेक कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्नै पर्दछ । हामीले शहश्राब्दी विकास लक्ष्यअन्तर्गत हासिल गरेका प्रगतिमा लगातार अघि बढ्दै आर्थिक सामाजिक रुपान्तरणकालागि सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको दीगो विकासको लक्ष्यसमेत हासिल गर्नै पर्दछ ।’’
आर्थिक विकासको इन्जिन व्यापार नै हो भन्दै उहाँले भन्नु भयो, ‘‘वस्तु र सेवाको व्यापार, लगानी, भन्सारसम्बन्धी मामिलामा आपसी सहयोग, व्यापार सुविधाका सन्दर्भमा विवादको निराकरणजस्ता विषयहरुमा सहमति आजको आवश्यकता हो, जसले विमिस्टेकलाई प्रभावकारी रुपमा अगाडि बढाउनेछ । स्वतन्त्र र स्वच्छ व्यापारप्रतिको हाम्रो प्रतिवध्दता अपरिहार्य छ ।
विमिस्टिक सम्मेलनलाई सम्बोधन गर्नुहुदैँ प्रधानमन्त्री केपी शर्मा ओली
सरकारले समृध्द नेपाल, सुखी नेपालीको लक्ष्य अघि सारेको बताउँदै उहाँले हामीले सबैले समृध्द क्षेत्र, सुखी जनताको अपेक्षा गरेका छौं भन्नु भयो । कनेक्टिभिटीलाई मजवूत क्षेत्रीय सहयोगको कूँजी बताउँदै कनेक्टिभिटी नै आर्थिक एकिकरणको जग भएको धारणा व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले यस क्षेत्रमा कनेक्टिभिटी र पर्यटनको प्रवद्र्धन गर्न बुध्दिस्ट सर्किटको अवधारणालाई मूर्तता प्रदान गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
विमिस्टेकलाई यसका कामहरुका आधारमा मूल्यांकन गरिने बताउँदै उहाँले भन्नु भयो, ‘‘सही नीति, संस्था र स्रोत–साधन अनि दृढ राजनीति इच्छा शक्तिले मात्र यसको सफलताको सुनिश्चिता कायम गर्न सक्नेछ ।’’