नेपालको राजनीतिक वृत्त अमेरिकाको एमसीसी प्रकरणमा लुत्रुक्क छ । उसका अगाडी ठिङ्ग घुँडा टेक्न पनि नेपालको राजनीति वृत्त सक्दैन । आफ्नो कार्य क्षेत्रमा विदेशीसँग सीधा आँखा जुधाएर हेर्न नसक्ने नेपालका राजनीतिकर्मीको हैसियतलाई नेपालका क्रिकेट खेलाडीले भने फिक्का सावित पारिदिएका छन् । अमेरिका सामु नेपाली राजनीतिक वृत्तले आफ्नो हैसियत बनाउन नसकेको घाम झैं छर्लङ्ग छ । समुन्नतिको मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नु त के उनीहरु सामु नेपाली राजनीतिकर्मी आँखामा आँखा जुधाएर हेर्न सक्ने कदका छैनन् । अमेरिकाले एक पटक उनीहरु तर्फ हेरे मात्र पनि नेपालका राजनीतिकर्मी भित्री पोषाक भिजाउँन बेर लगाउँदैनन् । यो धरातलीय यथार्थका सामु नेपालको राजनीतिक वृत कति माथि उठ्न जरुरी छ ? सो क्षेत्रमा हुनेहरुले सोच्न ढिलो भइसक्यो । अब नेपाली जनताले धेरै धैर्य गर्न पनि सक्दैनन् । समयमा विचार गरियोस् । यो आरोप होइन सुझाव हो ।
यस्ता हुतिहारा राजनीतिकर्मीलाई पाठ सिकाउँदै नेपाली क्रिकेट खेलाडीले भने अमेरिकालाई उसकै घरेलु मैदानमा पुगेर शुक्रबार बिहान घुँडा टेकाएको छ । टी–२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई उसको घरेलु मैदानमा नै पुगी घुँडा टेक्न विभस पारेको हो । नेपाली क्रिकेट खेलाडीका सामु अमेरिकी खेलाडी १७ रनले पराजित भई नेपालको तागतसामु निरीह बनेका छन् । सिरिजमा विजयी शुरुवातसँगै नेपाली क्रिकेट खेलाडीले नेपालीलाई धेरै नजिस्क्याउन पनि अमेरिकालाई खेलबाट सन्देश दिइसकेका छन् । जो जुन मैदानमा छ, त्यो मैदानमा हुनेले विश्वको जस्तो सुकै शक्ति सामु पनि प्रतिस्पर्धा गर्ने आँट र साहस गर्न सक्नु पर्छ । त्यो नेपाली क्रिकेट खेलाडीले उठाएको कदम ठीक छ ।
आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्न ईमान्दारीतापूर्वक लागिरहने हो भने त्यो असम्भव छैन भन्ने पनि नेपाली क्रिकेट खेलाडीले सन्देश दिइसकेका छन् । अमेरिका सामु हुतिहारा देखिएको नेपाली राजनीतिक वृत्तलाई यो गतिलो पाठ भएको छ । कहिले नसिकेका मुलुक संचालक राजनीतिकर्मीहरुलाई नेपाली क्रिकेटरले पाठ सिकाएको छ । खेलाडीबाट अब त उनीहरुले पाठ सिक्नै पर्छ । कसैको सहयोग विना आफ्नो ताकतले पनि विजयको टिका लगाउन सकिन्छ भन्ने कति राम्रो सन्देश दिए क्रिकेट खेलाडीहरुले ।
क्रिकेट खेलको राजा भनिएका देशहरुसँग नेपाली खेलाडी उनीहरुकै खेलमैदानमा डुक्रिन मात्र नभई सिङ्ग जुधाएर उनीहरुकै सिङ्ग भाँच्दै इतिहास रच्दा हाम्रो देशका राजनीतिकर्मीहरु भने बबुरा बन्नु कति घिन लाग्दो कुरा हो ? अब नेपालको राजनीतिक वृत्त पनि उठ्नु पर्छ । भन्न खोजेको आफ्नो क्षेत्रमा आन्तरिक शक्ति मजबुत पार्दै परेका खण्डमा जो सँग पनि भिड्न सक्ने हुनु पर्छ । एमसीसी नभए पनि नेपालले आफै आफ्नो मुलुक र जनताको हितको लागि काम गर्न सक्छ भन्ने सन्देश सहित मुलुकको आमूल परिवर्तनमा कसिलो कदम अगाडी बढाउनु पर्छ । यो कुरा गर्न अब नेपाली राजनीतिक वृत्तले ढिलो गर्नु हुन्न ।
क्रिकेटमा कप्तान रोहित पौडेलले सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, अनिल शाह, आसिफ सेख, गुलशन झा, कुशल भुर्तेल लगायतको टिमले दिलाएको सफलता झैं नेपालको राजनीतिक वृत्तका कप्तान केपी शर्मा ओली नेतृत्वका शेरबहादुर देउवा, प्रचण्ड, राजेन्द्र लिङदेन, उपेन्द्र लगायतको टीमले पनि नेपाललाई समुन्नतिको मार्गमा अगाडी बढाउनै पर्छ । विश्वप्रकाश, शंकर पोख्रेल, योगेश, गगन, ज्ञानेन्द्र शाही जस्ता फाष्ट बलरहरुले पनि आफ्नो क्षेत्रको व्याटिङ्गलाई पनि सुधार गर्न चुक्नु हुन्न ।