१.श्वास प्रश्वास रोगहरु मध्ये सबैभन्दा बढी संक्रमण हुने रोग कुन हो ?
जाडो मौसम शुरु हुनुभन्दा अगाडी चिसोमा बढी संक्रमित हुने र श्वास प्रश्वासमा गाह्रो हुने भनेको बच्चा र वृद्ध मानिसहरुमा हुन्छ । बच्चामा र बुढो मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । रुघाखोकी, निमोनिया, दमको बिरामीले बढीमात्रामा हुन्छ । रुघाखोकी भाइरल र व्याक्टेरियाको कारणले हुन्छ । नर्मल रुघाखोकी भाइरलको कारणले हुन्छ । भाइरल लागेको २ दिनदेखि ३ दिनसम्म रुघाखोकी लाग्ने हाच्छ्यु गर्ने, नाक, मुखबाट पानी खसिरहने हुन्छ । यसमा ज्वरो सामान्य हुन्छ । व्याक्टेरियलको कारण ज्वरो उच्च हुन्छ । जसको कारणले निमोनिया गराउँछ । राइनो भाइरस, पारामेन्चो भाइरस, रेस्प्रिराटोरी सिन्सिटियल भाइरसको उपचार भएन भने निमोनिया हुन्छ । निमोनिया बच्चा र वृद्ध दुबैलाई हुनसक्छ । कुनै बच्चालाई जन्मजात नै वंशाणुगत गुण लिएर आएको हुन्छ । आमाबुबालाई दम छ भने उनीहरुको बच्चालाई पनि दम हुनसक्छ । कसैलाई धुलोको एलर्जीले गर्दा पनि दम हुन सक्छ । कसैलाई कुनै कारणवस बच्चा, वृद्ध दुबैलाई निमोनिया हुन सक्छ ।
२. श्वास प्रश्वास रोग लाग्नुको कारण के हो ?
खानपिन, बसाइको कारणले पनि श्वास प्रश्वास रोग लाग्छ । टि.बी. (क्षयरोग) पनि श्वास–प्रश्वास रोग हो । फोक्सोमा लाग्ने टिबी रोग पल्मोनरी र अन्य भागमा लाग्ने टिबीलाई एक्सट्रा पल्मोनरी भनिन्छ । जस्तै खुट्टामा, हड्डीमा, ब्रेनमा लाग्छ । मानिसमा रोगसंग लड्ने रोग प्रतिरोधात्मक क्षमता छ भने कुनै पनि रोग लाग्दैन । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएमा रोगहरु लाग्छ । चुरोट, जाँड रक्सी खाने, चिसो खाने मानिसलाई, धुवाँ धुलोमा बस्ने, फ्याक्ट्रीहरुमा काम गर्ने मानिसलाई श्वासप्रश्वास सम्बन्धी रोगहरु लाग्ने गर्दछ । चुरोट, खैनी फ्याक्ट्रीमा काम गर्ने मानिसलाई क्यान्सर हुने सम्भावना हुन्छ । उद्योगहरुको वरिपरी बसोबास गर्ने मानिसहरुलाई फोक्सोको समस्या बढी हुन सक्छ । दाउरामा खाना पकाउने मानिसहरुलाई निमोनिया, दम जस्ता श्वास–प्रश्वास रोग देखापर्छ ।
३.श्वास प्रश्वास रोगको उपचार कसरी गर्न सकिन्छ ?
सबैभन्दा पहिला श्वास प्रश्वास रोगीहरुले घरायसी उपचार गर्नु राम्रो हुन्छ । जाडोको समयमा तातो पानी खाने, भिटामिन सि भएका फलफुल खानुपर्छ । प्रकृतिले पनि हामीलाई जाडो समयमा भिटामिन सि युक्त फलफूल दिएको छ । सुन्तला जाडोको समयमा पाइन्छ । सुन्तलामा भिटामिन सि पाइन्छ । खोकीलाग्दा तातो पानीले बाफ लिने, ज्वरो आइरहेको छ भने पनि भिटामिन सि भएको खाना खाइ राख्नुपर्छ । तातोपानी पिउने, जाडोको समयमा घरबाहिर मर्निङ्गवाक नजाने, घरमा नै कसरत गर्ने र चिसोबाट बच्नुपर्छ । अस्पताल नपुगी औषधी खानु पर्दा सिटामोल मात्र खान सकिन्छ । रुघालाग्दा, ज्वरो आउदाँ सेट्रिजिन औषधीको सेवन गर्न सकिन्छ । अन्य औषधी डाक्टरसंग बिना जाँच गरेर खान मिल्दैन ।
४. श्वास प्रश्वास रोग एक पटक लागेपछि पटक–पटक हुन्छ भन्ने हल्ला छ नि ?
श्वास प्रश्वास रोग जीवनभर नै हुन्छ भन्ने होइन । कसैलाई जाडोको महिनामा श्वास प्रश्वासको समस्या देखिन्छ भने कसैलाई गर्मी महिनामा हुन्छ । जसलाई श्वास प्रश्वास रोग एक पटक भएमा उसले चिसो मौसम आउनसाथ सचेत हुनुपर्छ । श्वास प्रश्वास रोगीहरुले जे कुराले समस्या हुन्छ । ति कुराहरु खानुहुदैन । दमको बिरामी डाक्टरले दिएको औषधीहरु समयमा खाने गरेमा दम रोगलाई कम गर्न सकिन्छ । चुरोट खाने मानिसले चुरोट खाइरहे वा समयमा औषधी सेवन नगर्दा पनि दम रोग बढ्न सक्छ ।
५. निमोनिया र दम रोगबाट कसरी बच्न सकिन्छ ?
सधैं पोषिलो खाना खानुपर्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । जाडोको मौसममा तातोपानी पिउने, खाना खानुभन्दा अघि बाहिरबाट आएपछि हातखुट्टा राम्ररी धुने गर्नु पर्छ । चिसो मौसममा निमोनिया र दम रोगले बढी सताउने भएकोले न्यानो तातो कपडा लगाउने, मोटरसाइकलमा बाहिर जादैछौं भने शरीरमा हावा छिर्न नसक्ने खालका कपडाहरुको प्रयोग गर्नुपर्छ । कोठाभित्र नै कसरत गर्ने, पहिलादेखि नै श्वास प्रश्वास रोगको समस्या छ भने चिसोबाट आफूलाई बचाउनु पर्छ । नर्मल मानिसलाई चिसोबाट बच्नु पर्छ । ब्याक्टेरीया, किटाणुको खाना चिनी हो । चिनी बढी भएको ठाउँमा ब्याक्टेरीया, किटाणुले बस्ने ठाउँ बनाउँछ । श्वास प्रश्वास रोग भएको मानिसलाई मधुमेहको समस्या छ भने खानपिनमा ध्यान दिनुपर्छ । भिटामिन सि भएका खानेकुराहरु, दुध, झोलिलो पदार्थ बढी मात्रमा खानुपर्छ ।
६. निमोनिया जाडो र गर्मी दुबै सिजनमा हुनुको कारण के हो ?
जाडो मौसममा चिसोले गर्दा मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम भएको हुन्छ । जाडोमा किटाणुहरु बढी सक्रिय हुन्छ । मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएको बेलामा किटाणुले संक्रमण गर्छ । त्यसैले जाडोमा मानिसलाई बढी निमोनिया हुन्छ । निमोनिया सबैलाई लाग्ने रोग होइन । बच्चा र वृद्धलाई लाग्ने रोग हो । धुम्रपान, मद्यपान गर्ने मानिसको फोक्सो किटाणुले खाइसकेको हुन्छ । उनीहरुलाई सुनसुकै समयमा निमोनिया हुन सक्छ । भने विशेष गरेर जाडोको मौषममा चिसोको कारणले नै निमोनिया हुन्छ ।
७. श्वासप्रश्वास रोग लाग्नु अघि कस्तो सावधानी अपनाउनु पर्छ ?
जाडोको मौसम सुरु हुनु भन्दा अगाडी सबैलाई सल्लाह दिन चाहन्छु । मानिसले आफ्नो हेरचाह आफैले गर्नुपर्छ । रोग लाग्नुभन्दा पहिला नै आफूलाई रोग लाग्नबाट बचाउनु पहिलो उपचार हो । मानिसहरुले जीवन शैलीको कारण आफ्नो शरीरलाई कमजोर बनाइरहेका छन् । पोषिलो खानेकुरा खाने, तातोपानी पिउने, बिहान, बेलुका फलफूल खाने गरेमा कुनै रोग लाग्दैन । जाडोको समयमा बच्चा, वृद्ध र रोगीहरुले घरभित्र नै कसरत गरेर आफूलाई चिसोबाट बचाउनु पर्छ ।