एक पटक सोच्नुहोस् त, सामाजिक सञ्जाल ह्वाट्सएपमा तपाईंले कति मेसेज पठाउनुहुन्छ ? तपाईंलाई थाहै छ, ती निस्शुल्क रूपमा गर्न सकिन्छ । तपाईंले पठाउने ती सबै मेसेज इन्क्रिप्टेड हुन्छन् । भन्नुको अर्थ पाउने र पठाउनेले मात्र मेसेज हेर्न सक्छन् । ह्वाट्सएप स्वयंले समेत तपाईंले पठाएको मेसेज पढ्न सक्दैन ।
त्यस्तै तपाईंले केही वर्ष पहिलेका मेसेज समेत क्षणभरमा नै फेला पार्न सक्नुहुन्छ । यसका लागि ह्वाट्सएपले शक्तिशाली कम्प्युटरहरू प्रयोग गर्ने गर्छ । अनि ह्वाट्सएपमा तपाईंका मेसेजहरू सुरक्षित राख्न विश्वभर विभिन्न स्थानमा राखिएका डेटा सेन्टरहरू प्रयोग गर्ने गर्छ ।
अब यसलाई सजिलो भाषामा भन्दा ह्वाट्सएपको सञ्चालन खर्च सस्तो छैन । तर तपाईं हामीले ह्वाट्सएपमार्फत मेसेज पठाउन कुनै शुल्क तिरिरहनु पर्दैन । यो निस्शुल्क छ । र यसरी नै विश्वभरका तीन अर्ब मानिसले ह्वाट्सएप प्रयोग गरिरहेका छन् ।
त्यसोभए ह्वाट्सएपले कसरी कमाइरहेको छ त पैसा ?
ह्वाट्सएप एउटा व्यापार हो । यसको पछाडि मेटा नामक कम्पनी रहेको छ । यो त्यही कम्पनी हो, जसले फेसबुक र इन्स्टाग्राम पनि चलाइरहेको छ । व्यापारमा निःशुल्क हुनु पनि रणनीति हो । अनि व्यापार चल्नका लागि एउटा ढाँचा हुनु जरुरी छ ।
ह्वाट्सएपको जस्तै सेवा प्रदान गरिरहेका अन्य मेसेजिङ प्लेटफर्मका फरक(फरक बिजनेस मोडल छन् । ह्वाट्सएपले व्यक्तिगत अकाउन्ट (पर्सनल अकाउन्ट) निःशुल्क गरेको छ । यसको कारण ह्वाट्सएपले संस्थागत ग्राहक (कर्पोरेट कस्ट्युमर)हरूबाट पैसा लिन्छ । अनि संस्थागत ग्राहकले आफ्नो व्यापार बढाउन पर्सनल अकाउन्ट प्रयोग गरिरहेका प्रयोगकर्ताहरूसँग कुराकानी गर्छन् ।
गत वर्षबाट मात्रै ह्वाट्सएपले कम्पनीहरूलाई निस्शुल्क रुपमा च्यानल सेटअप गर्ने सुविधा दिएको छ । यसो हुँदा च्यानल सब्सक्राइबर गर्नेहरूसँग कम्पनीहरूले कुराकानी गर्न सक्छन् । तर सब्सक्राइबरहरूमध्ये एकएक जनासँग कुराकानी गर्नका लागि ह्वाट्सएपले शुल्क लिने गर्छ ।
त्यस्तै, केही सहरमा ह्वाट्सएपमार्फत नै बस टिकट किन्न र आफ्नो सिट छान्न सकिन्छ । यसको उदाहरण हो, भारतको बेंगलुरु ।
यसरी ह्वाट्सएपले व्यवसायी र ग्राहकबीच सकेसम्म च्याट थ्रेडमार्फत काम फत्ते गराउन खोजेको देखिन्छ । यसको अर्थ एपबाट ननिस्किन नै टिकट बुक गर्न, सामान फिर्ता गर्न, भुक्तानी गर्न सक्षम बनाउनु हो। यो कुरा मेटाको बिजनेस मेसेजिङका उपाध्यक्ष निकिला श्रीनिवासनले बीबीसीलाई बताएकी छिन् ।
हालै मात्र ह्वाट्सएपले फेसबुक अथवा इन्स्टाग्राम विज्ञापनबाट प्रयोगकर्तालाई ह्वाट्सएपमा तान्ने नयाँ योजना ल्याएको छ । यसका लागि फेसबुक तथा इन्स्टाग्राम विज्ञापनमा ह्वाट्सएप च्यानलको लिङ्क राखिन्छ। यस योजनाले मात्र ह्वाट्सएपको आम्दानीमा अर्बौं डलर बढाएको श्रीनिवासनको भनाइ छ ।
अन्य मेसेजिङ प्लेटफर्मले फरक तरिका अपनाएका छन्। सुरक्षा मामिलामा राम्रो मानिएको सिङ्नलले लगानीकर्ताबाट कहिल्यै पैसा नउठाएको बताउँछ। तर अर्को तर्फ टेलिग्राम लगानीकर्तामा भर पर्छ ।
धेरै युवा गेमरहरूले प्रयोग गर्ने डिस्कर्डमा अकाउन्ट खोल्न शुल्क लाग्दैन । तर अकाउन्ट खोलिसकेपछि अन्य फिचर प्रयोग गर्न शुल्क तिर्नु पर्छ । स्न्यापच्याटले भने फरक–फरक मोडल अपनाउने गर्छ। त्यसमा विज्ञापनदेखि सशुल्क प्रयोगकर्तासम्म पर्छ ।
यसरी फरक–फरक प्लेटफर्मले आआफ्नै आम्दानीको स्रोत अपनाएका छन् । तर धेरैजसो मेसेजिङ प्लेटफर्महरूले प्रयोगकर्ताले कोसँग कुरा गर्छन् र के गर्छन् भन्ने पत्ता लगाएर उनीहरूलाई विज्ञापन देखाएर पैसा कमाउँछन्। सम्झनु पर्ने कुरा, यदि तपाईंले एप चलाउन रकम तिर्नु भएको छैन भने तपाईं नै उत्पादन हो ।
यसरी समग्रमा ह्वाट्सएपले ह्वाट्सएप बिजनेस एपीआई, ह्वाट्सएप च्यानल, क्लिक टू ह्वाट्सएप एड्स जस्ता मोडल अपनाएर आम्दानी गर्ने गरेको छ ।