वर्षा अगावै पर्सा बाराका हावाहुरी पीडितलाई हस्तान्तरण गर्ने भनी संघीय सरकारले नेपाली सेना मार्फत घर बनाइदिन थालेपछि पीडितहरु संघीय सरकार प्रति मात्र नभएर नेपाली सेनासँग पनि विश्वस्त भएका छन् । नेपालमा पहिलो पटक आएको टोर्नाडो ( हावाहुरी ) प्रभावितका लागि संघीय सरकारले नेपाली सेना मार्फत जनता आवास कार्यक्रम नाम दिएर पीडितका घर बनाउन थालेपछि पीडितहरु संघीय सरकार प्रति मात्र नभएर नेपाली सेना प्रति निकै विश्वस्त भएका हुन् ।
गत चैत १७ गते साँझ आएको हावाहुरीबाट आफनो बायाँ खुट्टा गुमाएका फेटा गाउँपालिका—६ पुरैनियाका ६० वर्षीय मुस्तफा मियाँले घाउको पीडा बिर्सदै भने, “सरकारले जनप्रतिनिधिलाई घर बनाउने जिम्मेवारी दिएको भए घर बन्दैन्थ्यो, तर सेनालाई घर बनाउने जिम्मेवारी दिएकाले चाँडो घर बन्नेमा विश्वास जागेको छ । ” पहिलो चरणमा नयाँ घर निर्माणका लागि जग खन्ने काम सुरु भइसकेको चन्दननाथ गण बाराका महासेनानी पारस विक्रम शाहले बताए । घरको जग खन्ने काम अन्तिम चरणमा पुगेकाले तोकिएकै समयमा घर निर्माण गरी पीडितहरूलाई हस्तान्तरण गर्ने लक्ष्य नधर्मराउने उनले तर्क गरे ।
पहिलो चरणमा बाराको पुरैनिया, चैनपुर र छोटकी फुलबरियामा नमूना घर बनाउन सुरु गरिएको छ । एक हप्ता भित्र काम सम्पन्न हुने महासेनानी शाहले बताए । उक्त घरहरूमा ब्लक प्रयोग गरिएको, गर्मीमा तातो नहुने प्रविधि प्रयोग गरिएको र तोकिएका अन्य ठाउँमा समेत चाँडै घर बनाउने काम शुरु गरिने जानकारी दिए ।
घर पुनर्निर्माण कार्यका लागी बारा र पर्साका विभिन्न १२ ठाउँबाट १२ समूह बनाई काम थालिएकोछ । त्यसमा दुई हजार छ सयभन्दा बढी नेपाली सेना र प्राविधिक संलग्न छन् । एक हजार ४५३ घर निर्माणका लागि संघीय सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैया विनियोजन गरेको छ । हावाहुरीका कारण बारा र पर्सामा घर भत्किँदा २९ जनाको मृत्यु भएको थियो भने छ सयभन्दा बढी घाइते भएका थिए ।
जनता आवास कार्यक्रम अन्तर्गत नेपाली सेनाले बारामा एक हजार ३६२ तथा पर्सामा ९१ वटा घर निर्माण गरी साउन महीना सम्ममा पीडितलाई हस्तान्तरण गरिसक्नु पर्ने समय निर्धारण गरिएको छ । सो कारण पनि निर्माण कार्य दु्रत गतिमा भइरहेको जनाइएको छ । एकै दिन वैशाख २१ गते एकै पटक बारा र पर्साका १२ स्थानबाट कामको थालनी भएकाले समयमै काम हुने पर्साको जगरनाथपुर गाउँका हावाहुरी प्रभावित कुलकाल साहले बताए । “हामी अत्यन्त खुशी भएका छौँ, संघीय सरकारले कुनै राजीनितिक दललाई नभएर नेपाली सेनालाई घर बनाउने जिम्मेवारी दिएकाले वर्षा अगावै नयाँ घरमा बास बस्न पाइने विश्वास बढेको छ” उनले भने ।