‘राजनीति’ जनताको हितमा गरिने सेवामूलक काम हो । तर नेपालमा राजनीति सेवामूलक देखिएन । अझ कुनै राजनीतिक दलमा जोडिएको नेता कार्यकर्तालाई पेशा के हो ? भनी कसैले प्रश्न सोधे ‘राजनीति’ पो भन्ने भएका छन् । यसले मुलुकलाई कता पु¥याउँछ ? ठूलो प्रश्न उब्जाएको छ । कति निर्लज्ज कुरा भयो राजनीति । तर नैतिकहीन राजनीति भएपछि लाज पनि लजाएको छ । राजनीतिकर्मीहरु भने अधिकाँश प्रफूल्ल छन् । अझ प्रष्ट भन्ने हो भने राजनीतिकर्मीमा नैतिकता भन्ने कुरा हराएको देखिन्छ । राजनीति गरेको भनेका भरमा लुट–खसौट र भ्रष्टिकरणले सीमा नाघेको छ ।
परिवर्तित व्यवस्थासँगै राजनीति विस्तारै ‘पेशा’ मा परिणत भएको छ । सेवामुलक भनिएको राजनीति पेशामा परिणत भएपछि राजनीतिमा नीति, सिद्धान्त, विचार, जनहितको कुरा घाममा सुकाइए सरह छ । इमान्दारीताको कुरा गर्ने, नीतिको कुरा गर्ने र सादगी जीवन जिउने मानिस अब जताततै पछि पर्दैछ । राजनीतिलाई दुहूनो गाई झै बनाउनेहरुले समाजमा सादगी जीवज जिउने सर्वसाधारणलाई दलगत स्वार्थमा घकेल्ने प्रयास गरिरहेका छन् । यसले मुलुकको हितमा छैन ।
एकदलीय पञ्चायती शासन व्यवस्था विरुद्ध लडेका नेता कार्यकर्ता त परिवर्तित राजनीतिको रापतापमा लोभी पापी हुँदैछन् । उनीहरु पनि पारिवारिक भ्रष्टिकरणको जालो र विदेशी कुरुप संजालको स्वार्थका सिकञ्जामा फस्दै मुलुक र जनताका विपरित शक्तिकेन्द्रमा केन्द्रित हुन पुग्दा मुलुकमा राजनीति प्रति विद्रोहको विजारोपण भएको छ । यो राम्रो संकेत होइन ।
त्यसैको झल्को दिएको छ रास्पाले पनि । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने पक्राउ परेपछि रास्वपाको रोइलो सडकमा छचल्किएको छ । सहकारी पीडितले राहत पाउने कुराभन्दा रास्वपा जस्तो जनमुखी पार्टी भनी टुप्पामा पलाएको पार्टीको प्राथमिकता अन्यत्र मोढिनु राम्रो संकेत होइन । दोशीलाई अनुसन्धान गर्न पनि मिल्दैन भन्ने कस्तो राजनीतिक संस्कार बसाउन खोजेको हो ? रास्वपाको यो हर्कत बुझिसाध्य छैन । जनताको हितमा राजनीति गर्छौं भन्नेले गरिब जनताको हितमा चुँ–नबोल्ने छाँट देखाउनु निन्दनीय छ । अनि लहडमा नेता बनेका केही सांसदको पोखरामा व्यक्त अभिव्यक्ति केटाकेटीपाराको छटा मात्र देखिन्छ ।
अन्य दलका सांसदसहित आफ्नो पार्टीको सांसद सहभागी संसदीय छानविन समितिले रास्वपा अध्यक्ष रवि लामिछानेलाई सहकारी प्रकरणमा कार्वाही गर्न सिफारिस गरेको कुरामा अनभिज्ञ प्रकट गर्नु रास्वाको हाँस्यास्पद चर्तिकला हो । सहकारी पीडकलाई छुटाउन वाहेक यो आन्दोलनको लक्ष्य के ?
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका अध्यक्ष लामिछाने पक्राउ गर्न अदालतको पत्रद्वारा प्रकृया अगाडी बढाइएको छ । यो कुरा कानूनी राज्यमा गर्न पाइन्छ भन्ने रास्वपा नेता कार्यकर्तालाई हेक्का हुन पर्छ । अनि उल्टै सहकारी पीडकलाई छुटाउन ‘सहकारी पीडितलाई न्याय दे’ पो लेखिएका प्लेकार्ड बोकेर नाटक देखाउँदै छन् । एकल महिलाले आफ्नो पेट काटेर, सडक पेटीको खुल्ला आकाशमुनि तातो घाममा मकै पोलेर, कठिन श्रम गरी आर्जन गरेको पैसा जम्मा गर्ने जस्ता मानिसको गाँस काटेर जम्मा पारेको सहकारीको पैसामा मोज गर्ने जो कोही होस्, त्यस्ता निर्लज्जलाई कार्वाही हुनुपर्छ । नयाँ शक्ति भनिएको रास्वपामा यसो भन्ने आँट पलाउनु पर्छ । तर त्यो देखिएन । समयमा नै दोशीलाई कार्वाही र रास्वपा सच्चिन आवश्यक छ । जनताको भरोषा बोकेको पार्टीको चटके व्यवहार पार्टी हितमा पनि छैन ।