पर्सा जिल्लाका नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले आज पदभार सम्हाल्ने अवसरमा जिल्लाका सञ्चारकर्मीहरूसँग विशेष भेटघाट कार्यक्रम आयोजना गरेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सिडिओ अर्यालले पत्रकारिता र प्रशासनको बीचमा सहकार्यको महत्त्वको बारेमा चर्चा गर्दै प्रशासनमा सुधार र सकारात्मक परिवर्तन ल्याउने आफ्नो लक्ष्यका बारेमा स्पष्ट पारे। उनले भने, “मिडियासँग सहकार्य गर्दै पर्सामा प्रशासनको भूमिकालाई थप सशक्त बनाउनेछु। म काम गरेर देखाउने व्यक्ति हुँ र यसका लागि सधैं तयार छु।”
पत्रकारिताको विषयमा बोल्दै, अर्यालले अमेरिकी वाटरगेट काण्डको उदाहरण प्रस्तुत गर्दै पत्रकारिताको महत्त्वलाई रेखांकित गरे। उनले भने, “पत्रकारिता सत्य र पारदर्शिताको संरक्षक हो। पत्रकारहरूले समाचार सम्प्रेषण गर्दा सबै पक्षको विचारलाई ध्यानमा राख्दै, सकारात्मक र नकारात्मक दुवै पक्षको समीक्षासहित समाजमा सकारात्मक ऊर्जा प्रवाहित गर्नुपर्छ।”
कार्यक्रममा सहभागी पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले पनि पत्रकारिताको महत्त्वलाई समर्थन गर्दै प्रहरी प्रशासनमा पारदर्शिता सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले भने, “जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूले कुनै बिचौलियाको आवश्यकता पर्दैन। यहाँ सबै सेवा निःशुल्क उपलब्ध छ।”
एसपी ढुङ्गेलले पर्सा जिल्लामा प्रभावकारी प्रहरी सेवा प्रदान गर्ने र अनावश्यक शुल्कको निरुत्साहनमा आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीयहरूलाई निःसङ्कोच प्रहरी सेवाहरूको उपयोग गर्न प्रेरित गर्दै, “हाम्रो प्राथमिकता भनेको सेवाग्राहीलाई सुलभ र सहज सेवा उपलब्ध गराउनु हो,” भने।
सिडिओ अर्यालले पत्रकारिता र प्रशासनको सहकार्यलाई अत्यन्त महत्वपूर्ण मान्दै, पर्सा जिल्लामा प्रशासनको कार्यक्षमता र सेवाको गुणस्तर सुधार गर्न सक्रिय भूमिका खेल्ने बताए । यस प्रकार, पत्रकारिता र प्रशासनबीचको सहयोगले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त उनले गरेका छन ।