नेपालमा छठ पर्वलाई मध्यनजर गर्दै भारतबाट ठूलो मात्रामा केरा आयात गरिएको छ। विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ मनाइने यस पर्वमा स्थानीय उत्पादनले माग धान्न नसक्दा जनकपुरधाममा मात्रै करिब पाँच करोड रुपैयाँभन्दा बढीको केरा आयात गरिएको जनाइएको छ।
जनकपुरधाम फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार, यस वर्ष ८५ ट्रक केरा भारतबाट आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो। “छठ पर्वमा ब्रतालुले सूर्य भगवानलाई अर्घ्य दिन सिंगै केराको घरी नै चढाउने परम्परा भएकाले केराको माग अत्यधिक हुन्छ,” यादवले बताए।
नेपालभित्रै उत्पादन हुने गोपाल र वंशीभोग जातका केरा सप्तरीको भारदह, भान्टाबारी तथा इनरुवाबाट ल्याइए पनि यी मात्राले माग धान्न नसक्ने भएपछि व्यवसायीहरूलाई भारततर्फ निर्भर रहनु परेको छ। भारतको गुहावटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मालभोग, मिरिचमान, र चिनी चम्पा जातका केरा नेपालमा आयात गर्ने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले बताए।
यसबाहेक, सीमावर्ती क्षेत्रमा भारतीय केराको मूल्य तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले पनि आयातमा वृद्धि भएको व्यवसायीहरूले जनाएका छन्। फलस्वरूप, यस वर्ष पनि केराको मूल्यमा २० प्रतिशतको वृद्धि भएको छ। स्थानीय उत्पादनले धान्न नसक्ने यो मागलाई पूरा गर्न भारतबाट आयात गर्नुपर्ने अवस्था हरेक वर्ष देखिने गरेको व्यवसायीहरूको भनाइ छ।