नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको संयोजनमा कात्तिक २३ गतेदेखि मेची-महाकाली युवा सङ्कल्प यात्रा आयोजना हुने भएको छ। झापाको मेचीनगरबाट सुरु हुने यो यात्रा मंसिर ४ गते महेन्द्रनगरमा समापन हुनेछ। सोमबार आयोजित पत्रकार सम्मेलनमा शाहीले यात्रा सम्बन्धी जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनमा शाहीले रोजगारीको सुनिश्चितता, भ्रष्टाचार उन्मूलन, सुशासन, महँगी नियन्त्रण, उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन र कृषिमा लगानी जस्ता १० बुँदे एजेन्डाका साथ युवा सङ्कल्प यात्रा आयोजना गरिएको बताए। सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता, विभिन्न संस्था तथा सहकारी ठगीका दोषीमाथि कारबाहीलगायतका मुद्दाहरूलाई प्राथमिकतामा राखिएको उनले जनाए।
शाहीका अनुसार, स्वदेशमै शिक्षा र रोजगारीको सुनिश्चितताका लागि यस यात्राले आवश्यक पहल र दबाब सिर्जना गर्नेछ। भ्रष्टाचार उन्मूलन र सुशासनको स्थापनाका लागि तीनै तहका सरकारलाई सचेत गराउने र आवश्यक खबरदारी गर्ने लक्ष्य पनि रहेको छ।
शाहीले सहकारी ठगीका शिकार बनेका लाखौं नागरिकको अर्बौं रकम फिर्ता गराउन सङ्कल्प यात्राले जस्तोसुकै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, ठगीमा संलग्न व्यक्तिहरू जुनसुकै दलका भए पनि कारबाही गराउन दबाब सिर्जना गर्ने बताए।
यात्राले नागरिक जीवन सहज बनाउन र सरकारलाई नागरिकमैत्री बनाउन पहल गर्ने उल्लेख गर्दै शाहीले यात्राका क्रममा प्राप्त सल्लाह, सुझाव र अनुभवलाई दस्तावेजीकरण गरी युवा हितका क्षेत्रमा निरन्तर काम गरिने बताए।