सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ।
पहिलो दिन आज (मंगलबार) नहाय–खाय मनाइँदै छ। आजको दिन ब्रतालुले स्नान गरेर अरबा–अरबाइन भोजन ग्रहण गर्ने परम्परा छ।
पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधबार खरना परेको छ। बुधबार साँझ ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना विधि पूरा गर्नेछन्।
तेस्रो दिन बिहीबार छठको मुख्य दिन ‘सौझकारक’ रहेको छ। यो दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ दिने परम्परा छ।
अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन गरिनेछ। यस दिनलाई ‘पारण’ भन्ने गरिन्छ।
छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया कुरबार, हात्ती लगायतका सामग्रीहरू चढाइन्छ। प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी तथा विविध प्रकारका मिठाई र फलफूल सूर्यदेवलाई अर्घको रूपमा चढाइने चलन छ।
छठ पर्वमा विशेष गरी अर्घ दिने ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले यो पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने क्रममा चढाइएका सामग्रीहरू प्रसादको रूपमा ग्रहण तथा वितरण गरिन्छ। यसले समाजमा सद्भाव र एकताको सन्देश प्रवाह गर्दछ, त्यसैले छठ पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीक मानिन्छ।
तराई–मधेशमा छठ पर्वको तयारीले पूरै क्षेत्र उत्सवमय बनेको छ। पूजा सामग्री किन्न बजारमा भीड लागेको छ भने नदी, पोखरी र जलाशयका घाटहरू विशेष रूपमा सजाइँदै छन्।
जनकपुरको गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ ताललगायतका ऐतिहासिक जलाशय किनारहरूलाई नववधूझैं सजाउने काम जारी छ। मिथिलाञ्चलसहित तराई–मधेशमा अहिले छठका सुमधुर गीतहरू गुञ्जायमान छन्। पछिल्लो समय पहाडी क्षेत्रका बासिन्दाले पनि छठ पर्व मनाउन थालेका छन्।