पर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले वीरगन्जको घडीअर्वा पोखरी छठघाटमा हुने छठ पूजा र भक्तजनहरूको सुरक्षामा पूर्ण प्रतिबद्धता जनाएका छन् । यहाँ प्रत्येक वर्ष १ लाख ५० हजारभन्दा बढी भक्तजनहरू उपस्थित हुने गर्छन्, जसले गर्दा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक भएको छ।
मंगलबार घडिअर्वा छठ पूजा व्यवस्थापन समितिको आयोजना गरेको बैठकमा जिल्ला सुरक्षा समितिका प्रमुखहरूले छठघाटको सुरक्षा रणनीति तय गर्ने र त्यस अनुसार सुरक्षाकर्मीहरूको परिचालन गर्ने योजना बनाइएको जानकारी दिएका छन्। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भनेका छन्, 'भक्तजनहरूको आगमन हुँदा भीड व्यवस्थापन र सम्भावित दुर्घटनाको जोखीमलाई ध्यानमा राखेर गम्भीर रूपमा सुरक्षा उपायहरू लिनेछौं।'
नेपाल प्रहरीका पर्सा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले सुरक्षा व्यवस्थापनमा स्वंयसेवकसँग मिलेर काम गर्ने उल्लेख गर्दै, छठघाटमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने बताए। यस्तै, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले घडिअर्वा छठघाटको सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी बलका महिला सुरक्षाकर्मीहरू पनि खटाइने बताएका छन्।
बैठकमा मनोहर साहले छठघाट परिसर भित्र र बाहिर २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको जानकारी दिएका छन्। यसका साथै, घडिअर्वा स्पोट्र्स क्लबका ४० जना स्वंयसेवक पनि सुरक्षा व्यवस्थापनमा समावेश गरिनेछ।
संभावित दुर्घटनालाई मध्यनजर गर्दै छठघाट परिसर बाहिर एम्बुलेन्स, बारुण यन्त्र र प्राथमिक उपचार शिविर पनि राखिने कुरा बैठकमा उल्लेख भएको छ। सुरक्षा उपसमितिका संयोजक मनोहर साहले, 'विगतको तुलनामा यो वर्षको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रयास गरिरहेको छौं,' भनेका छन्।
बैठकमा वीरगन्जस्थित नेपाली सेनाको श्रीजंग गणका गणपति कर्णेल निराजन कटुवाल, राष्ट्रिय अनुसन्धानका अधिकृत ललितनारायण चौधरी, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, पूर्व वडाध्यक्ष रामनगीना साह कानु, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक निरोज चौलागाई , घडीअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानु, पूर्व अध्यक्षहरु प्रमानन्द साह कानु, मदन प्रसाद गुप्ता, बाल्मिकी साह , प्रेम साह कानु ,घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष सहा कानु,सचिव लखनलाल गुप्ता, प्रभाकर गुप्ता लगायतकोपनि उपस्थिती रहेको थियो।