पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ९ विश्रामपुर मौजेटोलमा रहेको श्री भंगी साह नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा गुरुवर्गको कमजोरीका कारण शैक्षिकस्तर खस्कँदो अवस्थामा छ । नर्सरी कक्षादेखि १२ कक्षासम्म अध्यापन हुने विद्यालयमा प्रधानाध्यापक तथा शिक्षकहरुको अस्तित्वको लडाइले पठनपाठनको उचित व्यवस्थापन हुन नसकेको हो । शिक्षकवर्गको आपसी समन्वयको अभावमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्य भने अन्यौलमा परेको छ ।
विद्यालयका प्रधानाध्यापक रविभूषण रामले आफ्नो एकल शासन चलाउन प्रयास गरेको केही शिक्षकहरुको आरोप छ । विद्यालयमा अध्यापन गराई रहेका शिक्षकहरुबीच पनि गुट उपगुटले चरम सीमा नाघेको स्थानीयको भनाइ छ । विद्यालयमा पढाउने कामभन्दा पनि समय विताउने कार्य मात्रै बढि हुने गरेको उनीहरुको दावी छ । शिक्षकहरु अध्यापन गराउने समयमा विद्यालयको कार्यालयमा बसी फ्रि वाईफाई उपभोग गर्छन् स्थानीयले भने । गफ गर्ने र एक आपसमा विवाद गरी समय विताउने अनि घर फर्कने क्रम त्यो विद्यालयका गुरुवर्गको नरोकिएको विद्यालयलाई सुरुदेखि नजिकबाट नियाली रहेका एक स्थानीयले भने ।
विद्यालयको समयमा कहिले पनि उपस्थित नहुने, विहान ६ः३० बजेदेखि संचालन हुने विद्यालयमा कहिले ८ बजे, कहिले ९ बजे उपस्थित हुने, विद्यालय आए पनि कक्षा कोठामा नजाने, गए पनि १५ मिनेट ढिलो जाने, १० मिनेट अघि नै कक्षा कोठाबाट बाहिरिने जस्ता कार्यले गर्दा विद्यार्थीहरुको पठन पाठनमा समस्या भई रहेको विद्यार्थीहरुको पनि गुनासो छ । त्यहाँ कार्यरत अधिकाँश शिक्षकहरुमा एक अर्काबीच अस्तित्वको लडाईंमा जकडिंदा विद्यार्थीको भविष्य भने अन्यौलमा रहेको उनीहरुको भनाइ छ । प्रधानाध्यापक पनि केही शिक्षकहरुलाई उपयोग गरी आफ्नो संरक्षण्मा रमाउने गरेको स्थानीयले आरोप लगाए ।
स्थलगत रिपोर्टिड्डको क्रममा संचारकर्मी विद्यालयमा पुग्दा कक्षा संचालन हुनुपर्ने समयमा शिक्षकहरु कक्षा कोठामा नहुँदा अधिकांश विद्यार्थी बाहिर देखिए । कक्षा कोठामा शिक्षक नभएको कारण आफूहरु बाहिर बसेर समय विताई रहेको विद्यार्थीहरुले पनि बताए । यो नयाँ कुरा होइन, सधैैं यहाँ यस्तै हुन्छ कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले नाम नलेखिदिनु भन्दै निशंकोच बताए । यस विद्यालयमा कुनै किसिमको अनुशासन छैन, चाहे विद्यार्थी, चाहे शिक्षक, जो कोहीलाई जुन बेला मन लाग्छ विद्यालय आउँछ, जान्छ । कसैको रोकटोक हुँदैन । त्यसैले कक्षा कोठामा शिक्षक नभएको कारण आफू पनि बाहिर बसेर समय विताई रहेको उनले दावी गरे ।
सो विद्यालयको नर्सरी कक्षादेखि ५ कक्षासम्म विद्यार्थीहरुको खासै उपस्थिति छैन । नर्सरी कक्षामा ३५ जना विद्यार्थी रहेकोमा १३ जना उपस्थिति भेटिए । कक्षा १ मा ४० जनामा १० जना, कक्षा २ मा ३६ जनामा ५ जना भेटिएका थिए । यसरी कक्षा ५ सम्म विद्यार्थीहरुको संख्यामा खासै उपस्थिति नदेखिए पनि कक्षा ६ देखि १२ सम्म क्रमशः ७० देखि १५० जना गरि लगभग १२ सय जना विद्यार्थीहरुको संख्या सो सामुदायिक विद्यालयमा भएको विद्यालयको रेकर्डमा उल्लेख गरिएको छ । सामुदायिक विद्यालय भएरै हुन सक्छ शिक्षकहरुले गरेको लापरवाहीले गर्दा त्यहाँ अध्ययनरत १२ सय विद्यार्थीहरुको भविष्य भने अन्यौलमा रहेको स्थलगत अवस्थाले प्रष्टिन्छ । १२ सय विद्यार्थी संख्यामध्ये अधिकांश छात्राहरुको सहभागिताले अझ बढि छात्राहरुको भविष्यको अन्यौलमा पर्ने स्थानीयले पनि दावी गरे ।
सामुदायिक विद्यालय भए पनि जसरी छात्राहरुको उपस्थिति छ, त्यो सह्रानीय त छ नै । तर त्यहाँ प्रअ सहित शिक्षकहरुको अस्तित्वको लडाईले भने गाली गलौंज सम्मको अवस्था सृजना हुने गरेको छ । यस्तो अवस्थामा विद्यार्थीहरुले ति शिक्षकहरुसँग के अनुशासन सिक्ने स्थानीय अभिभावकले भने । यस बिषयमा अभिभावकहरु पनि चिन्तत छन् उनीहरुले तर्क गरे ।
आफ्नो छोरीको नाम भर्ना गराउन आएका एक अभिभावक पाँच दिनदेखि विद्यालय धाइरहँदा पनि छोरीको नाम दर्ता हुन नसकेको दावी गर्छन् । विद्यालयले कुन बेला विद्यार्थी भर्नाको सूचना जारी ग¥यो ? कुन बेला बन्द ग¥यो कसैलाई पत्तो समेत भएन उनले दुखेसो गरे ।
विद्यालयका शिक्षकहरुले पनि प्रअको कार्यप्रति सन्तुष्ट नभएको दावी गरे । विद्यालयका लेखापाल जयराम पंडितले त प्रअ रविभुषण रामले विद्यालयका शिक्षकहरुमाथि जबरजस्ती आफ्नो नियम कानून लाद्न खोजेको आरोप लगाए । उनले प्रअ रामले शिक्षकलाई मात्र नभई विद्यालयको आर्थिक कार्यमा पनि दखल पार्ने गरेको तर्क गरे । मनोमानी रुपमा पैसा निकासा गर्न दबाब दिने गरेको लेखापाल पंडितले बताए । एक पटक विना निर्णय जबरजस्ती १ लाख २० हजार पेस्की रकम पनि लिइसकेको बताए । आफू प्रअ हो, जे भन्छु त्यो गर भनेर धाक देखाउँदै बोर्ड बैठकको सहमति विना कुनै पनि कार्य गर्दा मौखिक रुपमा आर्थिक कार्य गर्न दबाब दिने गरेको उनको जिकिर छ ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक रामसँग बुझ्न खोज्दा उनले विद्यालयको बारेमा आफू केही नभन्ने बताए । विद्यालयको कार्य प्रति आफू सन्तुष्ट छु । जो सन्तुष्ट छैनन्, उसैसँग गएर कुरा गर्नुस्, म व्यस्त छु भनेर उनले गैर जिम्मेवारी पूर्ण तरिकाबाट प्रधानाध्यापकले जवाफ दिए । विद्यालयमा कागजी रुपमा जनशक्तिको पनि अभाव छैन । कार्यालय सहायकदेखि प्रधानाध्यापकसम्म गरि विद्यालयमा २२ जना कार्यरत छन् । तर विद्यालयमा भने ७ देखि १० जना शिक्षकहरु मात्रै उपस्थित हुने गरेका छन् । उपस्थित भए पनि विद्यार्थीहरुलाई अध्यापन गराउनुको सट्टा समय विताउने कार्यमा मात्रै व्यस्त हुने गरेको उनको तर्क छ ।
मा.वि. को स्थायी तर्फ राविभूषण राम, राहत तर्फ संजय कुमार गुप्ता तथा सन्तोष प्रसाद यादव छन् भने नि.मा.वि.को स्थायीतर्फ उदयप्रकाश नेपाली, राहत तर्फ रामनारायण प्रसाद यादव तथा रुपेश कुमार यादव कार्यरत छन् । यसैगरी प्रा.वि. को स्थायी तर्फ चन्द्रिका सहनी, रामनारायण पंडित, रामदेव राम, धु्रपलाल प्रसाद कानु, भुलन प्रसाद यादव कार्यरत छन् भने राहत तर्फ कादिर हुसेन, उषादेवी तथा बालविकास तर्फ गुड्डी देवी कार्यरत छन् । यसरी नै उच्च मा.वि.को लागि निजी श्रोतको तर्फबाट हरेन्द्र पटेल, बासुदेव रिमाल, अच्छेलाल प्रसाद कुर्मी कार्यरत छन् भने लेखापाल जयराम पंडित, गौरीशंकर महतो तथा कार्यालय सहायक मन्दिप राउत कुर्मी कार्यरत छन् । प्रअ रामले कार्यालय सहायक कुर्मीले पाउँदै आएको ९ हजार रुपैयाबाट पनि २ हजार रुपैया कटौती गरी तलब दिने गरेको कर्यालय सहायक कुर्मीले बताए ।