नेपाल, भारत र अन्यत्र रहेका तराई–मधेसका समुदायहरूमा छठ महापर्व विशेष आस्थाका साथ मनाइँदै छ। चार दिनसम्म निरन्तर चल्ने यो पर्व सूर्य उपासनाको अनुपम उदाहरण हो, जसमा प्रत्येक दिनका विधिहरू सांस्कृतिक, धार्मिक र प्राकृतिक सन्देश बोकेका छन्।
आज छठ महापर्वको दोस्रो दिन ‘रसियाव रोटी’ विधि, जसलाई ‘खरना’ पनि भनिन्छ, भक्तजनहरूले भक्तिपूर्वक मनाइरहेका छन्।
पहिलो दिन: ‘नहाय–खाय’ विधि
हिजो कात्तिक शुक्ल चतुर्थी तिथिमा व्रतालुहरूले ‘नहाय–खाय’ विधि सम्पन्न गरे। यस विधिमा नदी, पोखरी, वा अन्य पवित्र जलाशयमा स्नान गरेर पवित्रतासहित सादा भोजन ग्रहण गरिन्छ।
दोस्रो दिन: ‘रसियाव रोटी’ विधि
आज कात्तिक शुक्ल पञ्चमी तिथिमा व्रतालुहरूले दिनभर निराहार उपवास बसेर साँझमा ‘रसियाव रोटी’ वा ‘खरना’ प्रसाद तयार गर्छन्। बिहानै नदी, पोखरी वा अन्य पवित्र जलाशयमा स्नान गरेर आफ्नो शुद्धता सुनिश्चित गर्ने चलन छ। साँझपख चन्द्र दर्शन गरेपछि मात्र प्रसाद ग्रहण गरिन्छ। यस प्रसादमा मिठा, दूध र मङ्सिरमा पाक्ने स्थानीय धानको चामलबाट विशेष प्रकारको खिर तयार गरिन्छ, जुन माटोको नयाँ चुल्हो र भाँडामा पकाइन्छ। केराको पातमा राखेर यो प्रसाद छठी मातालाई चढाइन्छ र त्यसपछि व्रतालु तथा परिवारजनहरूले प्रसाद ग्रहण गर्छन्।
तेस्रो दिन: सूर्य उपासनाको विशेष दिन
भोलि कात्तिक शुक्ल षष्ठी तिथिमा, छठ महापर्वको तेस्रो दिनमा साँझपख व्रतालुहरू जलाशय किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई जलले अभिषेक गर्दै पहिलो अरघ अर्पण गर्छन्। यस विधिलाई भोजपुरी भाषामा ‘सझिया घाट’ भनिन्छ। यो अवसरमा घाटहरू विशेष रूपमा सजाइन्छ, सरसफाइ र पूजा सामग्रीको व्यवस्थापन गरिन्छ। सूर्य देवताको पूजा यस पर्वको मुख्य सार हो, जसले स्वास्थ्य, सुख, समृद्धि र आत्मिक उन्नतिको कामना प्रकट गर्छ।
चौथो दिन: उदाउँदो सूर्यलाई अरघ अर्पण
अन्तिम दिन कात्तिक शुक्ल सप्तमी तिथिमा व्रतालुहरूले बिहान उदाउँदो सूर्यलाई दोस्रो अरघ अर्पण गरेर पर्वको समापन गर्छन्। यसलाई भोजपुरी भाषामा ‘भोरिया घाट’ वा ‘परना’ भनिन्छ। बिहानको अरघमा जटासहितको नरिवल, मिष्टान्न परिकार, र केरासहितका फलफूल सूर्यदेवलाई अर्पण गरिन्छ। परम्परागत ढेकी–जाँतोमा तयार गरिएको पिठोबाट बनेको ठेकुवा, पुडुकीया जस्ता परिकारहरू सूर्यदेवलाई चढाइन्छ। व्रतालुहरू आफ्नो परिवार र आफन्तलाई बोलाएर यी मिष्टान्न परिकार बाँड्ने र प्रसादको रूपमा ग्रहण गर्ने परम्परा छ।
छठ पर्वको सामाजिक र सांस्कृतिक महत्त्व
छठ महापर्वले धार्मिक आस्थामात्र नभई प्रकृति र मानव जीवनको सह-अस्तित्वलाई पनि महत्त्व दिन्छ। जलाशयहरूको सरसफाइ, घाट निर्माण र पर्यावरणप्रतिको संवेदनशीलता यस पर्वको मुख्य विशेषता हो। यो पर्वले सामुदायिक एकता, सद्भाव र आपसी सहयोगलाई प्रोत्साहन गर्छ।
विशेष परिकारहरू जस्तै ठेकुवा, पुडुकीया, र अन्य मिष्टान्नहरू सामूहिक रूपमा घरमा तयार गरिन्छ र आफन्तजनलाई बाँडिन्छ। यी परिकार परम्परागत ग्रामीण जीवनशैलीसँग जोडिएका छन्। छठ पर्वमा धार्मिकता र प्राकृतिक संसाधनको महत्त्वलाई प्रकट गर्ने संस्कारहरूले मानव जीवनमा नैतिकता, स्वास्थ्य र सुख-समृद्धिको कामना प्रकट गर्छ।