अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्कापक्की भएको छ। उनले फ्लोरिडामा आयोजित कार्यक्रममार्फत आफू दोस्रो कार्यकालका लागि निर्वाचित भएको घोषणा गरेका छन्।
बुधबार फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले यसपालि ठूलो सफलता हासिल गरेको घोषणा गर्दै भने, “यो अमेरिकाका नागरिकहरूको लागि भव्य जित हो, जसले अमेरिकालाई पुनः महान् बनाउनेछ।” उनले अमेरिकामा अब स्वर्ण युगको सुरुआत हुने दाबी पनि गरे।
ट्रम्पले नागरिक, परिवार, र भविष्यको लागि सङ्घर्ष गर्ने वाचा गर्दै भने, “म तपाईंहरूको लागि हरेक दिन लड्नेछु। अन्तिम साससम्म तपाईंहरूको लागि लड्नेछु। यो साँच्चै अमेरिकाको लागि स्वर्ण युग हुनेछ।”
राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्ट्रोरल कलेज भोट आवश्यक पर्दछ, जसमा ट्रम्पले २६७ भोट प्राप्त गरिसकेका छन्। उनले सात मुख्य प्रतिस्पर्धी राज्यमध्ये तीनमा विजय हासिल गरेका छन् भने बाँकी चार राज्यमा पनि अग्रता लिइरहेका छन्। प्रारम्भदेखि नै उनले डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै अघि बढेका थिए।
पपुलर मतमा पनि ट्रम्पले ६ करोड ८४ लाख भोट हासिल गरेका छन्, जबकि ह्यारिसले ६ करोड ३२ लाख भोट प्राप्त गरेकी छन्। यद्यपि, अमेरिकामा राष्ट्रपति चुनिन पपुलर मतभन्दा इलेक्ट्रोरल कलेज मतको आधारमा निर्णय गरिन्छ।