वीरगंज । सफ्टवेयर विकासमा क्रियाशील नेपाली कम्पनी ‘डाइनामिक टेक्नोसफ्ट प्राइभेट लिमिटेड’ले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ । एसियन(आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो) द्वारा जापानको टोकियोमा नोभेम्बर ६–८ मा आयोजना गरिएको डिजिटल समिटमा डाइनामिक टेक्नोसफ्टले ‘असोसियो एडटेक अवार्ड २०२४’ प्राप्त गरेको हो ।
असोसियो एसियाका २४ देशका सूचना प्रविधि क्षेत्रका संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । यस संस्थाले प्रत्येक वर्ष उत्कृष्ट योगदान पुर्याउने संस्था, कम्पनी तथा व्यक्तिहरूलाई सम्मान दिँदै आएको छ ।
डाइनामिक टेक्नोसफ्टको स्थापनामा वीरगंजमा सन् २०१० मा भएको हो । मोफसलमा स्थापना भई देशका विभिन्न जिल्लामा आफ्नो बलियो बजार विस्तार गर्न सफल डाइनामिक टेक्नोसफ्ट अहिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश गरिसकेको छ ।
मोफसलमा खुलेका कम्पनीमध्ये प्रतिष्ठित असोसियो अवार्ड जित्ने पहिलो कम्पनी डाइनामिक टेक्नोसफ्ट बनेको छ । यस अवार्डले आईटी क्षेत्रमा डाइनामिक टेक्नोसफ्टको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक साहले बताए ।
“हामीले नेपाली आईटी क्षेत्रको क्षमता र सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्दै लगेका छौँ,” सीईओ साहले भने, “यसै क्रममा पाएको असोसियो अवार्डले हामीलाई अगाडि बढ्न थप प्रेरणा मिलेको छ ।”
कम्पनीले विशेषगरी विद्यालय र कार्यालय व्यवस्थापनका लागि डाइनामिक एकेडेमिक ईआरपी, डाइनामिक एकाउन्ट ईआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर विकास गरेको छ । कम्पनीबाट उत्पादित सफ्टवेयरहरू ठूला व्यावसायिक घराना, अस्पताल, उद्योग, व्यवसायिक संघसंस्थाहरू र करिब दुई हजारभन्दा बढी विद्यालयहरूले प्रयोग गरिरहेका छन् ।
डाइनामिक टेक्नोसफ्टले नेपालमा वीरगञ्ज, काठमाडौं, इटहरी, बुटवल, पोखरा र जनकपुरमा शाखा विस्तार गरिसकेको छ भने भारतमा समेत तीव्र रूपमा आफ्नो बजार बढाइरहेको छ । विद्यालयलाई डिजिटल बनाउने उद्देश्यले विकसित गरिएको डाइनामिक एकेडेमिक ईआरपी र यसको मोबाइल एप एक हजारभन्दा बढी विद्यालयहरूले प्रयोग गरिरहेका छन् ।
सीईओ साहका अनुसार कम्पनीले नेपाल र भारतमा मात्र सीमित नराखी आगामी समयमा भुटान, बंगलादेशजस्ता एसियाली मुलुकमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले व्यवसाय बढाई नेपालमा थप रोजगारी सिर्जना गर्ने र देशको प्रविधि क्षेत्रमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।