वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशका युवा शक्ति विदेश पलायन हुनबाट रोक्न स्टार्टअप तथा नव उद्यमी अभियानको सुरुवात मधेशबाटै गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश स्टार्टअप समिति, मधेश सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा वीरगंजमा मधेश प्रदेशस्तरीय ‘स्टार्टअप तथा आन्ट्रपेनर्स सम्मेलन २०२४’ आयोजना भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशको स्टार्टअप समितिले मधेश प्रदेश सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा सम्मेलन आयोजना गरेको हो । सम्मलेनमा ५ सय जना उद्यमीको सहभागिता रहेको आयोजकले बताए । स्टार्टअप उद्घाटन सत्रमा सहभागी वक्ताहरूले मधेशको स्टार्टअप र समग्र आर्थिक गतिविधिमा महिलालाई अगाडी बढाउनु जोड दिएका छन् । मधेश प्रदेशमा मुख्यमन्त्री सतीशकुमार सिंहले उद्यममा असफल भए पनि हतोत्साहित हुन नहुने र असफलताबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
मधेशमा स्टार्टअप इकोसिस्टम प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै मुख्यमन्त्री सिंहले सरकारले उद्यमी महिलालाई प्रोत्साहित गर्ने नीति लिएको बताए । मधेशमा प्रत्येक निर्वाचन क्षेत्रमा रोजगार प्रवर्द्धन केन्द्र र व्यापारिक केन्द्र मानिएको वीरगंजमा आईटी पार्कको लागि काम भइरहेको पनि उनले बताए । वीरगंजको निजीक्षेत्रले प्रस्ताव गरेको इन्क्युबेटर सेन्टर बनाउन प्रदेश सरकार तत्पर रहेको बताएका छन् । वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले सो संरचनाका लागि वीरगंजमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रमुख वक्ता गुगलका स्टार्टअप प्रमुख अपूर्व चमरियाले नेपालका स्टार्टअपले बाह्य बजारलाई केन्द्रित गर्नुपर्ने बताए । जुन ठाउँमा समस्या हुन्छ, त्यहाँबाटै स्टार्टअपको अवसर शुरू हुन्छ । उनले सफलता होइन, असफलताबाट अघि बढ्न सुझाब दिएका छन् ।
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले उद्यमीले सरकारप्रति गुनासो मात्र नगरेर रचनात्मक तरीकाले काममा अघि बढ्न सुझाब दिएका छन् । उद्यम प्रवर्द्धनमा सहयोग गर्न महानगर सदैब तत्पर रहेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघ,मधेश प्रदेशका अध्यक्ष अशोक कुमार टेमानीले नव प्रवर्तनशील उद्यमीहरू, स्टार्टअपहरू र सम्भावित उद्यमशील व्यक्तिहरूले यो सम्मेलनबाट लाभ लिन सक्ने विश्वास व्यक्त गरे ।
स्टार्टअप सुन्नमा जति सहज भएपनि त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको सम्मेलनको संयोजक महासंघ स्टार्टअप समितिका अध्यक्ष अनुप अग्रवालले बताए । ती चुनौतीहरूको उचित तरीकाले सम्बोधन गर्न सक्नु नै स्टार्टअपको सफलता हुने दाबी अग्रवालको थियो । गुगलका स्टार्टअप प्रमुख अपूर्व चमरियाले नेपालका स्टार्टअपले बाह्य बजारलाई केन्द्रित गर्नुपर्ने बताए । जुन ठाउँमा समस्या हुन्छ, त्यहाँबाटै स्टार्टअपको अवसर शुरू हुने भन्दै उनले सफलता होइन, असफलताबाट अघि बढ्न सुझाब दिए । मधेशका युवाको विदेश पलायन रोक्न स्टार्टअप तथा नवउद्यमी अभियानको सुरुवात मधेश प्रदेशबाटै गर्नु आवश्यक छ । मधेशका युवा र महिला केन्द्रित गरी अभियान नचलाइ अर्थतन्त्र उभो नलाग्ने उनले बताए ।
उनले मधेशका ग्रामिण भेगका महिलाहरु हाल टिकटक र रिल्स जस्ता सामाजिक सञ्जालमा समय खर्च गरी रहेको छन् । मधेशका महिलालाई नवउद्यममा प्रेरित गरेर उनीहरुले उत्पादन गर्ने परम्परागत वस्तुहरुको बजारीकरण गर्न सकेमात्र मधेशका महिलाहरुको पनि उत्थान हुने बताए ।
मुख्यमन्त्री सिंहले युवा शक्तिलाई मेहनत, लगन र दृढ इच्छाशक्तिका साथ कर्मक्षेत्रमा लाग्न प्रेरित गर्दै पर्सा, बाराका उद्योगमा स्थानीय युवाहरुलाई प्राथमिकता दिन उद्योगी व्यवसायीलाई आग्रह गरका छन् । मधेशका युवालाई नयाँ विचारका साथ उद्यमशिलताको क्षेत्रमा आउन आह्वान गर्दै उनले बालबालिकालाई सानैदेखि प्राविधिक शिक्षा र नवउद्यमी अभियान बारे शिक्षा दिनुपर्ने कुरामा समेत जोड दिए ।
मधेश प्रदेश सरकारले प्रत्येक निर्वाचित क्षेत्रमा एउटा रोजगारी केन्द्र स्थापना गरी युवाहरुलाई रोजगारीमा सहजीकरण गर्ने निती अनुरुप यसवर्ष केही रकम विनियोजन गरेको उनले बताए ।