संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी यू–१९ महिला टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले कुवेतलाई १६५ रनको विशाल अन्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ। यस जितसँगै कप्तान पूजा महतोको नाम चर्चामा छ, जसको उत्कृष्ट प्रदर्शनले नेपाललाई शानदार जित दिलाएकोे हो ।
मंगलबार भएको खेलमा बल र ब्याट दुवैमा पूजाले आफ्नो कौशल देखाइन्। उनले १३० रनको शानदार शतक बनाएर कीर्तिमान राखिन्। यो महिला यू–१९ अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालकी कुनै पनि खेलाडीद्वारा बनाइएको पहिलो शतक हो भने समग्र अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो। पूजाको यो प्रदर्शनले कुवेतका बलरहरूलाई सम्हालिने मौका समेत दिएन।
पूजाको १३० रनका साथसाथै उनले पाँच विकेट पनि लिएर दुर्लभ उपलब्धि हासिल गरिन्। यसै खेलमा सोनी पाख्रिनसँग मिलेर ८४ बलमा १५७ रनको साझेदारी पनि पूजाले कायम गरिन्, जुन नेपालका लागि अर्को नयाँ कीर्तिमान हो।
पूजाको क्रिकेट यात्रा र प्रेरणा
महोत्तरीको गौशाला नगरपालिका–९ निवासी पूजा मधेसकी छोरी हुन्। उनका बुबा नयाँ दिल्लीमा मजदुरी गर्छन्। उनका बुबाको सपना क्रिकेटर बन्ने थियो, तर परिस्थिति नमिल्दा त्यो पूरा भएन। त्यसैले उनी छोरीलाई क्रिकेटर बनाउन प्रेरित गर्दै आए। पूजा बुवालाई आफ्नो पथप्रदर्शक मान्छिन्। भारतमा रहँदा पनि क्रिकेटमा प्रगति गरिरहेकी पूजालाई नेपाल क्रिकेट संघ (क्यान) ले विशेष रूपमा नेपाल झिकाएर राष्ट्रिय टोलीमा समावेश गर्यो।
नेपाली महिला टोलीको कप्तानको रूपमा पूजाले उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्। नेपालले खेलेका ५ खेलमध्ये चार खेलमा पूजाले उत्कृष्ट स्कोर बनाएकी छिन्।
आज यूएईविरुद्धको निर्णायक खेलमा नेपालले जित हात पार्न सके मात्र विश्वकपको ढोका खोल्न सक्छ, जसका लागि सबैभन्दा धेरै आशा पनि पूजामाथि नै रहेको छ।