मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानको निरीक्षण गरेका छन्। बुधबार सम्पन्न निरीक्षणपछि उनले क्रिकेट मैदानको संरक्षण र प्रबर्द्धनका लागि प्रदेश सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको जानकारी दिए।
मुख्यमन्त्री सिंहले भने, "यो ऐतिहासिक खेल मैदान हो र यहाँबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पन्न भएका छन्। यसलाई संरक्षण गर्नु अपरिहार्य छ।" उनले यस क्रिकेट मैदानको मुआब्जाको विषयमा आफ्नो पालामा समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
सिंहले संघीय सरकारसँग समन्वय गर्दै खेलकुद मन्त्रालयसँग निरन्तर छलफल भइरहेकाले यस मैदानको भविष्यमा प्रगति हुने विश्वास व्यक्त गरे। उनले भने, “यस वर्षको बजेटमा भने हामीलाई कुनै सहयोग प्राप्त भएन। तर, दातृ निकाय र संघ संस्थासँग समन्वय गरेर आवश्यक सहयोग जुटाउन कोशिश गरिरहेका छौं।”
प्रदेश सरकारले क्रिकेट मैदानका लागि केही बजेट बिनियोजन गरेको र आगामी आर्थिक वर्षमा थप बजेटको व्यवस्था गर्ने योजना रहेको मुख्यमन्त्री सिंहले जानकारी दिए।
क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले पनि क्रिकेट मैदानको पिच निर्माणको काम सम्पन्न भएको जानकारी दिँदै मुआब्जाको विषयमा समाधान खोज्नका लागि मुख्यमन्त्रीसँग अनुरोध गरे।
यस अवसरमा क्रिकेट संघ पर्साका अन्य सदस्यहरू, नेशनल सेलेक्टर मुर्तुजा हवारी, क्यानका पूर्व सदस्य दाउद अन्सारी र अन्य क्रिकेटकर्मीहरू उपस्थित थिए।